थप उपचारकालागि काङ्ग्रेस नेता भण्डारीलाई लगियो भारतको मुम्बई तर्फ

फागुन ४, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित घरमा आगलागी हुँदा जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि बिहीवार दिउँसो भारतको मुम्बइ तर्फ लगिएको छ ।

एयर एम्बुलेन्सको रुपमा श्री एयरलाइन्सको विमान घाइते नेता भण्डारीलाई लिएर बिहिबार दिउँसो भारतको मुम्बईका लागि उडेको छ । मुम्बईको सुविधा सम्पन्न नेशनल बर्नस् सेन्टरमा उनको थप उपचार गरिनेछ ।

अस्पतालका अनुसार भण्डारीको अवस्था गम्भीर छ । श्वासप्रश्वासको नली सुन्निन थालेको कारण जटिलता थपिँदै गएको छ । चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ । हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गम्भीर घाइते भण्डारीलाई लिएर उडेको उक्त एयर एम्बुलेन्समा घाइते नेता भण्डारीका साथमा ६ जना चिकित्सकहरुको टिम पनि रहेको छ । चिकित्सकहरुको टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर) र डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि उपचार टोलीमा रहेका छन् । मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गरेको हो ।

IME Remittance