सन् २०२३ मा विश्व र नेपालमा के हुनेछ, यी हुन् ५ प्रक्षेपण : डा. जीवन क्षेत्री

म भविष्यवाणी गर्ने क्षमता राख्दिनँ।विश्वभरमा आउँदो वर्ष यसै होला भन्ने मेरा मौलिक प्रक्षेपणहरू पनि कमै छन्। तर यो महत्वपूर्ण वर्षका लागि विभिन्न विज्ञहरूले गरेका प्रक्षेपणहरूमा मेरो निकै रूचि छ।त्यसैले यो टिप्पणीमा मैले विभिन्न क्षेत्रका विज्ञहरूले आउँदो वर्षमा चार फरक क्षेत्रहरूमा विश्वभर विकसित हुन सक्ने घटनाक्रमहरूबारे गरेका विश्लेषणलाई संक्षेपमा राखेको छु।अन्तमा ती सबैका आधारमा नेपालका लागि आउँदो वर्ष कस्तो रहनेछ भनेर प्रक्षेपण गर्ने प्रयास गरेको छु।

 १. जलवायु संकटबारे बिल म्याकगायर: पृथ्वीकाे पर्यावरण ढिकबाट खस्ने वर्ष 

यही डिसेम्बर २४ का दिन प्रविधिको विकाससम्बन्धी अग्रणी पत्रिका ‘वायर्ड’ मा बेलायती वैज्ञानिक तथा युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक म्याकगायरले एउटा छोटो टिप्पणी लेखे।शीर्षक थियो- एल निनो इज कमिङ एन्ड द वर्ल्ड इज नट प्रिपेयर्ड।

उनी भन्छन्- चीनको महाखडेरी, पाकिस्तानको महाबाढी र युरोपको लामो तापलहर भोगेको वर्ष सन् २०२२ ‘एल निनो’ भनिने सामुद्रिक जलवायु चक्रको चिसो हुनुपर्ने (ला निना) चरणमा हुन पुगे। त्यो चरण सकिएर २०२३ मा एल निनोको तातो र तुफानी चरण सुरू हुँदैछ।प्रशान्त महासागरको पानी सन् २०२३ मा सुरू हुने नयाँ चक्रमा अनिवार्य रूपमा तात्नेछ। त्यसले विश्वभरको औसत तापक्रम पनि अनिवार्य रूपमा बढाउनेछ।

सन् २०२२ को आँकडाअनुसार औद्योगिक युगभन्दा पहिलेको तुलनामा विश्वको औसत तापक्रम १.२ डिग्री सेल्सियसले बढिसकेको छ। त्यो आँकडाले १.५ काट्यो भने प्रलयसरहका विपत्तिहरू आउने छन् र जलवायु प्रणालीमा घातक स्वचालित दुष्चक्रहरू सुरू हुने छन् भन्नेमा वैज्ञानिकहरूको एकमत जस्तै छ। केही महिनाअगाडि कोप‍-२७ सम्मेलन चलिरहँदा अहिलेकै दरमा कार्बन उत्सर्जन हुने हो भने ५–७ वर्षमा वा सन् २०२९ सम्ममा पृथ्वीले त्यो खतरनाक सीमा पार गर्ने सम्भावना छ भन्दै थिए वैज्ञानिकहरू।

तर म्याकगायरका अनुसार पछिल्ले ला निना सुरू हुनुअगाडि सन् २०१९ मै औसत तापक्रम वृद्धि १.३६ डिग्री पुगिसकेको थियो। ला निनाका कारण घटेकाले मात्रै सन् २०२२ मा १.२ डिग्री पुगेको थियो। त्यसैले एल निनोको प्रभावका कारण यसै वर्ष पृथ्वीको औसत तापक्रमले १.५ को सीमा तोड्ने र पृथ्वीको धेरथोर स्थिर रहँदै आएको जलवायु फेरि स्थिर हुनै नसक्ने गरी खल्बलिने सम्भावना छ।

यसअगाडि सन् १९९७–९८ मा विकसित एल निनोका बेला इन्डोनेसिया, मलेसिया र फिलिपिन्समा भयानक खडेरी परेको थियो भने पेरुमा अतिवृष्टि भएर ठुलो बाढी आएको थियो। अमेरिकाको क्यालिफोर्नियामा अतिवृष्टि भएको थियो भने मध्यपश्चिममा वर्षभर रेकर्ड गर्मी भएर हिउँदै नआएसरह भएको थियो।एल निनोको समयमा भारत र दक्षिण पूर्वी एसियामा मनसुन कमजोर भएर खाद्यान्न उत्पादन घट्ने गर्छ भने बेमौसमी वर्षाका कारण बालीसमेत नष्ट हुने गर्छ।

अबको वर्षका लागि म्याकगायरको प्रक्षेपण- विश्वव्यापी उच्च तापक्रम (५४.४ डिग्री सेल्सियस, अमेरिकाको डेथ भ्याली) को सर्वकालिक रेकर्ड तोडिन सक्नेछ। खास गरी मध्यपूर्व र दक्षिण एसियामा जहाँ तापक्रमले ५५ डिग्री छुन सक्नेछ। बेलायतमा ४० डिग्री पुग्न सक्ने तापक्रम युरोपका केही भागमा ५० डिग्रीसम्म पुग्न सक्नेछ।

खाद्यान्नको अभाव र भोकमरी, ऊर्जाको महँगी, गरिबी र मानिसहरूको विस्थापन, सबै बढ्ने छ। २२ वर्षे खडेरीका कारण सुक्ने सँघारमा रहेका अमेरिकाका हुभर ड्याम र लेक पावेल ठप्प हुन सक्ने छन्।अनि एल निनोको बेलामा अनिवार्य रूपमा आउने ठूला आँधी र चक्रवातले तटीय सहरलाई सीधा निशाना बनाए भने सिंगै सहरहरू उजाडिन सक्ने छन् जसरी सन् १९९२ मा एन्ड्रु नामक चक्रवातले अमेरिकाको मायामीमा ६० हजार घर ध्वस्त पार्‍यो, थप १ लाख २५ हजार घरमा क्षति पुर्‍यायो।

२) सुचना – प्रविधिबारे साम अल्टम्यान-मेसिनले मानिसलाई उछिन्ने वर्ष

हाल निकै चर्चामा रहेका आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) प्लेटफर्महरू  च्याट- जिपिटी डिएएलएल–इ बनाउने ओपन एआइका कार्यकारी प्रमुख अल्टम्यानले यसै वर्ष मार्चमा आफ्नो वेबसाइटमा चर्चित लेख लेखे- मुर्स ल फर एभ्रिथिङ।

अर्थात् अहिलेसम्म हरेक दुई वर्षमा उही मूल्यमा दोब्बर शक्तिशाली कम्प्युटर चिपहरू बन्थे भने अब आफैंले सिक्ने र सुध्रिँदै जाने एआइ आएसँगै सबैतिर त्यो नियम लागू हुन सक्नेछ। उनी भन्छन्- अहिलेसम्म मोबाइल, टेलिभिजन र मनोरञ्जनका साधन निरन्तर सस्तिँदै गए तर शिक्षा, स्वास्थ्य र आवासको मूल्य बढ्दै गयो। तर अब जटिल काम सिक्न र गर्न सक्ने ‘जेनरल पर्पस एआइ’ को विकाससँगै शिक्षा, स्वास्थ्य, आवास लगायत मानिसलाई आवश्यक पर्ने सबै सेवा र वस्तुको मूल्य घट्दै जान सम्भव हुनेछ। तर बदलामा अर्बौं रोजगारीहरू अलप हुनेछन्, पुँजीसामू श्रमको मूल्य खस्कनेछ।

मार्च महिनामा अल्टम्यानले त्यो लेख प्रकाशित गर्दा धेरैले त्यसमा उनले निकालेका निष्कर्षप्रति सन्देह राखेका थिए। तर हालै च्याट-जिपिटी सबैका लागि अभ्यास गर्न उपलब्ध भएपछि त्यस्तो सन्देह निकै पातलिएको छ।सन् २०२३ त्यसैले यस्तो वर्ष हुनेछ जब २०२२ का अन्तिम महिनाहरूसम्म विज्ञहरूको कल्पनामा सीमित रहेको जटिल काम गर्ने एआइले हठात् मानिसहरूलाई बेरोजगार बनाउन थाल्नेछ।

अल्टम्यान भन्छन्- आउँदो पाँच वर्षमा सोच्न सक्ने अल्गोरिदमहरूले कानुनी कागजात पढ्न र डाक्टरी सल्लाह दिन सक्ने छन्। दस वर्षभित्र उद्योगका श्रमिकसरह जटिल ‘असेम्ब्ली लाइन’ मा काम गर्न र मानिसका साथी बन्न सक्ने छन्। त्यसपछिका दशकमा तिनले जे पनि गर्न सक्ने छन्। जस्तो- नयाँ वैज्ञानिक आविष्कारहरू गर्ने।

३. अर्थ–राजनीतिबारे पल क्रुगम्यान, रूचिर शर्मा, जोन बर्न–मर्डक र विलियम ओभरहोल्ट- विकासको चीनियाँ मोडलले सीमा छुने वर्ष।

यो वर्ष अक्टोबर २४ मा वित्तीय मामिलाको प्रतिष्ठित पत्रिका फाइनान्सियल टाइम्समा विश्लेषक रूचिर शर्माले लेखे- चाइनाज इकोनोमी विल नट ओभरटेक द युएस अन्टिल ट्वेन्टी सिक्सटी, इफ एभर।अर्थात्, कुनै बेला यही दशकको बीचतिरै अमेरिकालाई उछिनेर विश्वकै पहिलो आर्थिक शक्ति बन्ने मानिएको चीनले अमेरिकालाई उछिनी हाले पनि सन् २०६० यता उछिन्ने छैन।त्यही पत्रिकामा डाटा–विज्ञानका हस्ती बर्न–मर्डकले लेखे- चीनले आँकडा लुकाउँदैमा उसले भोगेको आर्थिक अस्तव्यस्तता लुक्न सक्दैन।त्यसअगाडि नै ओभरहोल्टले ‘द इन्टरनेसनल इकोनोमी’ मा ‘थिंकिङ थ्रु द चाइना हाइप’ शीर्षकमा उस्तै विश्लेषण गरेका थिए।

नोबेल विजेता अर्थशास्त्री क्रुगम्यानले हालै न्युयोर्क टाइम्समा पनि चीनको आर्थिक वृद्धिको प्रक्षेपण घटाउने अरू केही संस्थाहरूलाई उद्धृत गरेका छन्- हालै चीनसम्बन्धी राम्रो विज्ञता राख्ने अमेरिकी लगानी बैंक गोल्डम्यान स्याक्सले चीन विश्वको पहिलो अर्थतन्त्र हुने मितिलाई २०२५ बाट २०३५ मा सार्‍यो भने जापान सेन्टर फर इकोनोमिक रिसर्चले त्यो मिति २०२८ बाट २०३३ हुँदै हाल ‘धेरै दशकपछि’ लाई सारेको छ।

सबैको निचोड- सर्वेसर्वा नेता सी चिनफिङको अर्थतन्त्रमाथिको तेहेरो आक्रमणले चीनको दशकौं लामो निरन्तर आर्थिक वृद्धिको सिलसिला अवरूद्ध हुने सँघारमा छ।एक त उनले जिरो-कोभिड रणनीतिको सफलतालाई आफ्नो र चिनियाँ व्यवस्थाको सफलतासित जोडे। वर्षौंसम्म कायम राख्दा त्यो रणनीतिले ल्याएको आर्थिक कठिनाइले यस वर्ष चिनियाँहरूले अभूतपूर्व सडक प्रदर्शनहरू गरे। त्यसलाई थेग्न नसकेर बिनातयारी उक्त रणनीति त्याग्दा अहिले चीनको स्वास्थ्य प्रणाली अस्तव्यस्त बनेको छ। यसैबीच सीकै नाजायज ‘भ्याक्सिन राष्ट्रवाद’ का कारण बीसौं करोड चिनियाँहरू प्रभावकारी विदेशी खोप लगाएर सुरक्षित रूपमा काममा फर्कनबाट बञ्चित भएका छन्।

दुई, ठूला निजी प्रविधि कम्पनीमाथि सीले लगाएको अंकुशका कारण प्राविधिक विकास र रोजगारी सिर्जनाको काममा ब्रेक लागेको छ, युवाहरूमा बेरोजगारी दर अकासिएको छ र धेरै युवाहरू ‘चिनियाँ सपना’ बाट दिग्भ्रमित बनेका छन्।

तीन, थेगिनै नसक्ने गरी बढेको चीनको घरजग्गाको बजारलाई कुनै बिन्दुमा गएर नियन्त्रण गर्नै पर्ने बाध्यता चीनसामु थियो। तर माथिका दुवै झड्का लागिरहेका बेला यो काम पनि सँगै भयो र यसले पनि मानिसहरूलाई एकसाथ तेहेरो मार पर्‍यो।

२०२३ मा जाँदै गर्दा सी चिनफिङ तेस्रो कार्यकालका लागि वफादारहरूको यस्तो टोलीले घेरिएर बसेका छन् कि त्यस्ता जटिल संरचनात्मक समस्याहरूबाट निस्किन उनको टिमले कस्तो रणनीति अपनाउला भनेर अनुमान गर्न विश्लेषकहरूलाई हम्मे परेको छ।

जेसुकै भए पनि २०२२ साल सुरू गर्दा पश्चिमको सापेक्षमा चीनसित रहेको प्रतिस्पर्धात्मक लाभको ठूलो हिस्सा उसले यो वर्ष गुमाएको छ। त्यसैले चीनलाई अहिलेको आर्थिक कठिनाइबाट बौराउने काम कष्टसाध्य हुन सक्नेछ। त्यस क्रममा नागरिकहरूमाथिको दमन चुलिन र सेन्सरसीप संयन्त्र झनै संगठित बन्न सक्नेछ।

४. गहिरिँदो विश्वव्यापी संकटबारे आडम टुजः ‘पोलिक्राइसिस’ ले जकड्ने वर्ष

२०२२ को सुरूमा विश्व कोभिड संकटबाट बाहिर आउन संघर्षरत थियो। चीन लगायत धेरै देशका अर्थतन्त्रहरूले राम्रै सुधारका लक्षणहरू देखाइरहेका थिए। तर फेब्रुअरीमा रूसी तानाशाह भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण सुरू गरे। सुरूमा ऊर्जा र खाद्यान्नको महँगी चुलियो। विस्तारै सबै वस्तु र सेवाहरूको महँगीले संसारका धेरै जसो देशलाई तहसनहस पार्‍यो।

यसैबीच जलवायु परिवर्तनका कारण सिर्जित प्राकृतिक विपत्तिहरूले आगोमा घ्यु थपे। पाकिस्तानको बाढी र चीनको खडेरीदेखि युरोपको ताप लहरले ऊर्जा र खाद्यान्न दुवैको शिथिल आपूर्तिलाई झनै भताभुंग पारे। महँगी झन् अकासियो।यही समयमा चीन र अमेरिकाबीचको खस्किँदो सम्बन्धले थप अस्थिरता र असुरक्षाको अवस्था सिर्जना गर्‍यो।

यी समस्याहरूमध्ये हरेकको प्रभाव गहिरो छ। तर कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा विश्लेषक आडम टुज भन्छन्- तिनले समग्रमा सिर्जने समस्याको गम्भीरता तिनीहरूको प्रभावलाई अलगअलग हिसाब गरेर जोड्दा आउने योगफलभन्दा पनि बढी छ।उनी भन्छन्- २०२३ युरोपमा ऊर्जा संकट उत्कर्षमा पुग्ने वर्ष हो तर त्यसको प्रभाव विश्वव्यापी हुनेछ।

कारण- रूसबाट पाइप हुँदै सिधै युरोप पुग्ने सस्तो ग्यास अब ठप्प भइसक्यो। त्यस्तो सस्तो ग्यासले भरेका भूमिगत भण्डारहरूका कारण युरोपले यो हिउँदमा ग्यास निकै महँगिए पनि कठ्यांग्रिइहाल्न वा अन्धकारमा बस्नु परेन। तर त्यसको विकल्पमा एलएनजी टर्मिनलहरू बनाउन एकाध वर्ष लाग्छ जुन २०२३ भित्रै सम्भव छैन।

एक त अहिलेको बहुसंकटको एउटा प्रमुख कारण रूस–युक्रेन युद्ध अझै टुंगिएको छैन। त्यो कसरी टुंगिन्छ भन्ने पनि यकिन छैन। जलवायु संकटले ल्याउने विपत्तिहरूबारे त माथि चर्चा भई नै सक्यो।पुनर्बीमा कम्पनी स्वीस रेका अनुसार २०२२ मा प्राकृतिक र मानव–सिर्जित विपत्तिका कारण मात्रै २६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भयो। इयान नामक एउटै चक्रवातले अमेरिकामा ५०–६५ अर्ब डलर अर्थात् नेपालको अर्थतन्त्रको आकारभन्दा झन्डै डेढ गुणा बढी बीमित आर्थिक क्षति गर्‍यो।

दुई प्रमुख विश्व–शक्तिहरू अमेरिका र चीनबीचको दुरी झनै बढ्दो छ। कोभिड अझै निमिट्यान्न भइसकेको छैन। त्यसैले २०२३ मा अहिलेको बहुसंकटको अवस्था झन् बिग्रने कल्पना गर्न सजिलो छ तर यसबाट बाहिर आउने उपायहरू अहिलेसम्म देखिएका छैनन्।

५. यी सबै घटनाक्रममा कहाँ हुनेछ नेपाल?

माथि उल्लिखित चारै क्षेत्रका घटनाक्रमले नेपाललाई सघन रूपमा प्रभाव पार्ने छन्।सन् २०२२ मा चीन र पाकिस्तानमा आएका जस्ता प्राकृतिक विपत्तिहरू भारत र नेपालमा आउन सक्ने छन्। यसै पनि औसत चार वर्षसम्म रहने एल निनोले अबका केही वर्ष त्यस्ता विपत्तिको जोखिम बढाउनेछ।

तिनले कृषि उत्पादनमा ह्रास ल्याएर खाद्य सुरक्षालाई थप जोखिममा पार्न सक्ने छन्। हिमालय क्षेत्रमा तापक्रम बढेसँगै खल्बलिएको सन्तुलनका थप परिणामहरू अबका वर्षमा देखिँदै जाने छन्। हिमाली क्षेत्रको बढ्दो भूक्षयसँगै नेपालको जलविद्युत क्षेत्रले थप चुनौतीहरू सामना गर्नेछ। हिउँदभर रहने वायु प्रदूषणले गराउने क्यान्सर लगायतका स्वास्थ्य समस्याहरू चुलिएर जाने छन्।

शिक्षकदेखि वकिलका सहयोगीहरूबाट मेसिनले रोजगार खोस्ने क्रम यसै वर्ष सुरू हुनेछ र त्यसपछिका वर्षहरूमा तीव्र हुनेछ।विज्ञहरू भन्छन्- जुनसुकै क्षेत्रका पनि धेरै दोहोरिइरहने श्रम लाग्ने कामहरू सुरूमा हराउँदै जाने छन् भने गहिरो सोचविचार गर्नुपर्ने, गम्भीर निर्णय लिनुपर्ने र रचनात्मक रूपमा समस्या समाधान गर्नुपर्ने रोजगारहरू पछिसम्म टिकिरहनेछन्।

चीन र भारत–अमेरिकाबीचको रस्साकस्सीले नेपाललाई जटिल भूराजनीतिक भूमरीमा पार्न सक्नेछ। ऊर्जा र खाद्य पदार्थको महँगीको समस्या यथावत रहन वा झन् बिग्रन सक्नेछ।तर मैले देखेसम्म स्थानीय निकायदेखि संघीय सरकारमा हुनेहरूले यी मूल विषयहरूलाई बुझ्ने कोशिससम्म गर्ने छैनन्। यिनलाई बुझ्नु न नीति निर्माताको प्राथमिकता हुनेछ, न कुनै मसिहा आएर रातारात उद्धार गरिदेला भनेर पर्खिरहेका नागरिकहरूको।

सञ्चार माध्यमले पनि प्राथमिकताका साथ यिनमा विमर्श गर्ने छैनन्।धैर्यपूर्वक संस्था निर्माण गरेर दिगो सुशासन दिने कष्टसाध्य कामभन्दा राजनीतिज्ञहरू सामाजिक सञ्जालमा तत्काल लोकप्रियता दिने ‘डाङडुङे’ विकासको पछि लाग्ने छन्। पहाड भत्काउनदेखि निजी सम्पत्ति ध्वस्त पार्न डोजरहरू थप सक्रिय हुने छन्।

राजनीतिमा पात्रहरू फेरिए पनि राजनीति र दोहन पर्यायवाची हुने अवस्था फेरिने लक्षणहरू पछिल्लो चुनावपछि पनि मैले देखेको छैन। त्यसैले सत्तारूढ राजनीतिज्ञहरूका वरिपरि हुने सीमित घरानाको कार्टेलको चंगुलबाट नीति निर्माण फुत्कने, स्वार्थको द्वन्द्व निरूत्साहित हुने कुनै बाटो पनि अहिलेसम्म देखिएको छैन।

रोजगारी बचाउने वा सिर्जना गर्ने काम कसैको प्राथमिकतामा नपर्नाले गरिबीको रेखामुनि धकेलिने परिवारहरूको संख्या ठूलो हुन सक्नेछ। कुनै चमत्कार नभएमा शिक्षा र स्वास्थ्य क्षेत्र सम्भवतः थप धराशायी हुने छन्। उच्च शिक्षाका लागि देशबाट बाहिरिने भारी रकम अझै बढ्न सक्नेछ तर एआइ शिक्षकहरूको प्रयोगमार्फत कम खर्चिलो तर गुणस्तरीय शिक्षाको बाटो भने खुल्नेछ।

रूस–युक्रेन युद्ध तुलनात्मक रूपमा चाँडो टुंगिने, चीन कोभिडको संकटबाट छिट्टै बाहिरिने र मूल्य वृद्धिमा ब्रेक लागेर विश्वव्यापी अर्थतन्त्रले लय समात्ने हो भने वैदेशिक रोजगारमा भने सुधार हुन सक्नेछ। बहुसंकटमा अरू अनपेक्षित संकटहरू थपिएनन् भने पर्यटनले लय समातेर अर्थतन्त्रलाई भरथेग गर्न सक्नेछ।

त्यस्तै वित्तीय क्षेत्रले थप धक्का नबेहोर्ने र पुँजी बजार बौरिने हो भने निजी क्षेत्रले गर्ने सम्पत्ति सिर्जनाले पनि गति लिन सक्नेछ। एआइतिर संक्रमणको लहरलाई नेपालको सूचना–प्रविधि क्षेत्रले समात्न सक्यो भने त्यसले आर्थिक गतिविधि बढाउन र रोजगारीहरू थप्न सक्नेछ।

तर त्यस्ता सकारात्मक विकास क्रमले २०१९ मा सुरू भएको कोभिड संकटयता गरिबीको रेखामा धकेलिइसकेका र अबका दिनमा त्यता धकेलिन सक्ने लाखौं मानिसलाई कति राहत दिन सक्लान् भनेर अहिले भन्न कठिन छ।

व्यक्तिगत रूपमा अबका वर्षहरूका लागि मेरो मुख्य चिन्ता चाहिँ के छ भने, कुनै पनि ठूलो प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गर्नुका साथै नेपालको जनसंख्याको थप ठूलो हिस्सालाई गरिबीतिर धकेल्न सक्नेछ। २०२२ मा पाकिस्तानमा आएको बाढीले त्यहाँ ३० अर्ब डलर अर्थात् देशको अर्थतन्त्रको ८ प्रतिशत बराबरको आर्थिक क्षति पुर्‍याएको थियो। विश्व बैंकका अनुसार बाढीकै कारण पाकिस्तानमा गरिबीको आँकडा २.५–४ प्रतिशतले बढ्ने अवस्था छ।त्यसैले वर्ष २०२३ नेपालका लागि निकै चुनौतीपूर्ण हुनेछ।

आशाका किरणहरू

विज्ञहरू भन्छन्- सफा ऊर्जातिरको संक्रमणमा वर्ष २०२२ एउटा महत्वपूर्ण मोड थियो।सुरूमा युक्रेनमाथिको रूसी आक्रमणले युरोपेलीहरूलाई हरित ऊर्जा विकासका क्षेत्रमा ‘गर वा मर’ को अवस्थामा पुर्‍याइदियो। यो वर्ष युरोपमा खनिज ऊर्जाको खपत गत पाँच वर्षको औसतभन्दा एक चौथाइले घटेको एउटा अध्ययनले देखाएको छ। यो युद्धलगत्तै पश्चिमा देशहरूले रूसमाथि लगाएको नाकाबन्दीका कारण रूसी भूभाग र उसको छेउको समुद्रमा रहेको खनिज ऊर्जाको ठूलो मात्रा सदाका लागि त्यहीँ रहने सम्भावना बढेको छ।

लगत्तै अमेरिकी संसदले पारित गरेको ‘इन्फ्लेसन रिडक्सन एक्ट’ ले त्यहाँ हरित ऊर्जातिरको संक्रमणलाई अभूतपूर्व गति दिएको छ।यसै वर्ष अस्ट्रेलिया र ब्राजिलमा भएका चुनावहरूले त्यहाँका खनिज ऊर्जा पक्षधर लम्पट राजनीतिज्ञहरू र तिनका पार्टीलाई सत्ताबाट पाखा लगाइदिएका छन्। हालै ब्राजिलका नयाँ राष्ट्रपति लुलाले वातावरणको रक्षा र आदिवासी अधिकारका लागि दशकौं लडेका महिलाहरूलाई त्यहाँको वातावरण मन्त्रालय र नयाँ बन्न लागेको आदिवासी मामिलासम्बन्धी मन्त्रालयको जिम्मा दिएका छन्।

यसै वर्षका चुनावमा फ्रान्स र जर्मनीका मतदाताहरूले पनि उग्र दक्षिणपन्थी, नश्लभेदी र आप्रवासन–विरोधी शक्तिहरूलाई सत्तामा आउनबाट रोकेका छन्। छिमेकमै पनि सफा हाइड्रोजन लगायतका नवीन हरित ऊर्जाको विकासमा भारतले ठूलो लगानी गरिरहेको छ।नेपालमा चाहिँ सरकारले गतिलो काम केही नगरे पनि सहरी मध्यम वर्गका धेरै नागरिकहरू डोजरले घर भत्काउनु नै देशको सर्वांगीण विकास हो भनेर सन्तुष्ट बनेर बसेका छन्!

शुभ नयाँ वर्ष २०२३।

IME Remittance