एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो। कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्काे स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे। जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो।
बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ। गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन्। गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रूपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन्।अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरिरहेका छन्। गाउँलेहरूबाट आफूले यो जिम्मेवारी पाएको पाँच वर्ष भएको रूपलालको भनाइ छ।
चार वर्षमा कटुवाल फेर्ने गाउँलेको नीति भए पनि रूपलाल फेरि दोहोरिएका हुन्। उनको काम चर्को स्वरमा कुर्लिएर (हाँको हाल्ने) सूचना प्रवाह गर्ने हो। रूपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरू हुँदा गाउँलेलाई सूचना पुर्याउने काम गर्दै आएको बताए।
गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमहरूको सूचना दिन अग्लो स्थानमा गएर हाँको हालेपछि गाउँलेहरू सोही सूचनाको आधारमा कार्यक्रम, बैठक, सभाहरूमा सहभागी हुने गरेको उनको भनाइ छ।
‘यो चलन त परम्परादेखि चल्दै आएको हो। गाउँलेले हटाउन सकेका छैनन्। मेरो काम गाउँमा केही कार्यक्रम भयो भने सूचना दिने हो,’ रूपलालले भने।उनले तमान गाउँमा तीन सय ७४ घरधुरीका नागरिकलाई सूचना दिँदै आएको बताए। सबै घरका नागरिकलाई एकै ठाउँबाट हाँको हालेर सूचना पुर्याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिले लगायतका ठाउँमा पुगेर सूचना दिने गरेको उनी बताउँछन्।
तमान गाउँमा कटुवाल मात्रै होइन, मुखिया प्रथा पनि कायमै छ। अहिले गाउँमा एक जना मुखिया छन्। गाउँलेले स्थानीय ललित घर्ती मगरलाई मुखिया बनाएका छन्। मुखियाले दिएको आदेशअनुसार रूपलालले गाउँलेलाई सूचना दिने काम गर्छन्। मुखिया मातहत नै कटुवालले काम गर्नुपर्ने स्थानीयको नियम छ।
कटुवालले वर्षभरि सूचना प्रवाह गरेबापत एक घरबाट दुई सय रूपैयाँ पाउँछन्। तीन सय ७४ घरधुरी रहेको तमान गाउँबाट रूपलालले हरेक वर्ष ७४ हजार आठ सय रूपैयाँ कमाउने गरेको बताए। दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरू कामसमेत गर्न सकिने उनको भनाइ छ।
‘कटुवाल काम गर्न धेरै कठिन छैन। यो काम सधैं पनि हुँदैन। बेला मौकामा मात्रै हो। अरू समयमा घरबारीको काम पनि गर्छु। जनताको सेवाका रूपमा लिएको छु मैले यो कामलाई,’ उनले भने, ‘गाउँमा हाँको हाल्ने काम त बाजे बराजुदेखि नै हुँदै आएको हो। मैले सुरू गरेको होइन।’
स्थानीय कृष्ण बुढाथोकी परम्परादेखि चल्दै आएका चलनलाई निरन्तरता दिनुपर्ने बताउँछन्। यस्ता परम्परा मौलिक संस्कृतिसँग जोडिएको भन्दै आधुनिकताले निकै ठूलो प्रभाव पारेको उनले बताए।
(रासस)


