अछाममा ठाउँ ठाउँमा पहिरो: मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ। अछाममा शुक्रबार राति पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको छ। पहिरोमा दुईजना बेपत्ता भएका छन्।

अछामको कमलबजार नगरपालिका–६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घर पहिरोले पुर्दा एकै परिवारका सातजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मृत्यु हुनेमा ३० वर्षीया अमृता कामी, १७ वर्षीया सरिता कामी, २१ वर्षीया अर्चना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया सिरु कामी छन्। घाइते हुनेमा इन्द्रसिंह कामी, भक्त कामी, कल्पना कामी, सुशीला कामी, सफलता कामी, डिक्रा कामी र ममता कामी छन्।

यसैगरी अछामकै कमलबजार–८ डुङ्लाका खिउरे दमाईको घरमा पहिरो खस्दा परिवारका पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा २६ वर्षीया गम्भी दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीया डिक्रा दमाई, तीन वर्षीया कलु दमाई र चार वर्षीया कल्पना दमाई छन्। परिवारका मूली खिउरे घाइते भएका छन्।

त्यस्तै अछामको तुर्माखाँदा गाउँपालिका–५ नाडाका नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर पहिरोले बगाउँदा आठजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था अज्ञात छ। मृत्यु हुनेमा घरमुली ४५ वर्षीय नेत्रबहादुर शाही, पत्नी ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया छोरी विमला शाही र भतिजी १७ वर्षीया जानकी शाही छन्। पहिरोमा परेर २१ वर्षीया भावना शाही, १७ वर्षीया कल्पना शाही, एक वर्षीया मेलिना शाही र अढाइ वर्षीया करिस्मा शाहीको पनि मृत्यु भएको छ। पहिरोमा १३ वर्षीय सुन्दर शाही बेपत्ता भएका छन्। बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले बताए।

अछामकै ढकारी गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा दुई वर्षीय नवीन बुढाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर शनिबार दिउँसो अछामका घटनास्थलमा पुगेको छ। गम्भीर घाइते भएका तीनजनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ भने तीनजनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ। ढकारीमा पहिरोमा परी मोतीराम जैशी बेपत्ता भएका छन्।पहिरोले आंशिक रूपमा क्षति पुर्याएका र उच्च जोखिममा भएका स्थानीयहरू सुरक्षित ठाउँमा जान चाहन्छन्। तर, सुरक्षित ठाउँ कसरी जाने भन्ने विकल्प उनीहरूसँग छैन।

 

IME Remittance