‘बर्खा सुरू भएपछि हाम्रा पीडाका दिनहरू सुरू हुन्छन्’

गत जेठको अन्तिम साताबाटै यस वर्षको मनसुन सुरूआत भइसकेको छ। नेपालमा मनसुन भित्रिएसँगै मनसुनजन्य प्रकोपको जोखिमका कारण नदी किनारमा बसोबास गर्ने मानिस त्रासमा बाँच्न बाध्य छन्। मनसुनजन्य प्रकोपका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) उच्च जोखिममा छ।मनसुनमा बाढी, नदी कटान, डुबान र पहिराका कारण यहाँको जनजीवन प्रभावित हुने गरेको छ। बर्खा सुरू भएसँगै नदी किनारमा बसोबास गर्ने मानिसलाई सबभन्दा बढी पिरोल्ने गरेको छ।

मध्यबिन्दु–३ नन्दपुरका जितबहादुर महतोले बर्खा लागेसँगै रातिमा निद्रा हराउने गरेको गुनासो गरे।‘हिउँदभरी त हामीलाई खासै दुःख हुँदैन’, उनले भने, ‘बर्खा सुरू हुन्छ अनि हाम्रो पीडाका दिनहरू सुरू हुन्छन्।’बर्खा सुरू भएसँगै कति बेला नारायणी बढेर आउँछ र आफूहरूको उठिबास लाग्ने हो भन्ने चिन्ताले सताउने गरेको स्थानीयवासी महतोले बताए।

सबै राजनीतिक दलका नेताले चुनावको बेलामा नदी नियन्त्रणको आश्वासन दिएर भोट माग्ने गरेको उल्लेख गर्दै महतोले चुनाव सकिएपछि आफूहरूलाई बेवास्ता गर्ने गरेको गुनासो गरे।नवलपुर हुँदै बग्ने गरेको नारायणी नदी तथा यहाँ खहरे खोलाबाट बर्सेनि स्थानीय पीडित हुने गरेका छन्।

हरेक वर्ष बाढी र पहिराका कारण यहाँका नदी तथा खोलाले वितण्डा नै मच्चाउने गर्छन्।मनसुन सुरू भएदेखि मनसुन नसकिने बेलासम्म आफूहरू ढुक्कसँग निदाउनसमेत नसक्ने गरेको गैंडाकोट–२ का जीवन बोटे बताउँछन्।

‘बेलुका सुत्दा त ठिकै सुतेका हुन्छौं तर, रातिमा नदी बढेर घरभित्रै आयो कि भन्ने पीडाले निन्द्रा नै लाग्दैन’, बोटले भने, ‘राति उठ्दा खाटमुनि पानी पसेको पो छ कि, कतै घर पो डुब्यो कि भन्ने पीडाले सताउने गरेको छ।’नवलपुर तथा चितवनमा पानी पर्दाभन्दा पनि पहाडतिर पानी परेको सुन्दा र आकाशमा कालो बादल मडारिँदा आफूहरूको मनमासमेत पीडाका भावहरू मडारिने गरेको बोटे बताउँछन्।

नारायणी नदीको दीर्घकालीन व्यवस्थापन गर्नका लागि राज्यका तीनवटै तहका सरकारले काम गर्नुपर्ने बाटेको भनाइ छ। मनसुनका कारण नवलपुरमा सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यबिन्दु, गैंडाकोट, देवचुली र कावासोती नगरपालिका हुन्।

त्यस्तै, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढी र पहिराको उच्च जोखिममा छन्। बाढी र पहिराका कारण यहाँ बर्सेनि ठूलो धनजनतको क्षति हुने गरेको छ।  जिल्लामा मनसुनजन्य प्रकोपबाट करिब ८० हजार परिवार प्रभावित हुने प्रक्षेपण गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।

स्थानीय प्रशासनले विपद्जन्य जोखिम न्यूनीकरण तथा राहत र उद्धारका लागि पूर्वतयारीका सबै काम गरेको घिमिरेको भनाइ छ।पहिरा, बाढी, डुबान तथा कटानमा परेका नागरिकको उद्धार र राहतको लागि पूर्वतयारीका काम गरेको उनको भनाइ छ।

बाढी पहिरा प्रभावित घरपरिवारको विवरण संकलन गर्ने तथा उनीहरूको व्यवस्थापनमा के कस्ता काम गर्नुपर्छ भन्नेबारेमा पूर्वतयारीका सबै काम गरिएको प्रजिअ घिमिरेले बताए।‘नदीलाई मूल प्रवाहमा बगाउने, खोलानाला थुनिएको ठाउँमा सफा गर्ने, कटानको जोखिम भएको ठाउँमा तारजाली लगाउने कामहरू गरेका छौं’, प्रजिअ घिमिरेले भने, ‘विपद् व्यवस्थापनका लागि सबै पालिकासँग समन्वय गरिएको छ, पूर्वसूचना प्रवाह प्रणालीसमेत सञ्चालनमा ल्याएका छौं।’

विपद् व्यवस्थापनका लागि जिल्लाका तीन वटै सुरक्षा निकाय, रेडक्रस तथा विषयगत संघसंस्थालाई तालिमसहित तयारी अवस्थामा राखिएको घिमिरेले बताए।‘सकेसम्म विपद् हुनै नदिने र भइहालेको अवस्थामा विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका सुरक्षाकर्मी र अन्य संघसंस्थाका प्रतिनिधिलाई परिचालन गर्नेगरी तयारी थालिएको छ’, घिमिरेले भने, ‘जिल्लामा इमिडियट रेस्पोन्स टिम निर्माण गरेर विपद् व्यवस्थापनका लागि पूर्वयोजना तर्जुमा लगायतका काम गरेका छौं।’

नदी तथा खोला पसेर गाउँ नै सखाप पार्ने अवस्था देखिएकाले तत्काल रोकथामका लागि अपनाउनुपर्ने कामहरू भइरहेको घिमिरेको भनाइ छ।नदी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा दीर्घकालीन काम भने भएको छैन।गाउँ डुबानमा परेपछि उद्धारका लागि सुरक्षाकर्मी पठाउनुभन्दा नदी नियन्त्रणका लागि ठोस काम गर्नुपर्ने जिल्लावासीको माग छ। रासस

IME Remittance