भारी बोक्नेको वास्तविक पीडा बोल्ने जीवन शर्माको त्यो गीत

गणेश दुलाल

२०४१ सालतिर स्थापना भएको रक्तिम सांस्कृतिक परिवारका गीतहरू मध्येको एक लोकप्रिय गीत हो ‘सुकेर जाँदैन, रोकेर रोकिँदैन’ । जुन गीत जनवादी गायक जीवन शर्माले गाए । आफ्नै नेतृत्वमा गरिबका गीत गाउन भन्दै उनले रक्तिम सांस्कृतिक अभियान सुरु गरेका थिए ।शर्माको सोही गीतलाई विद्रोहका पर्यायको रुपमा पनि लिइन्छ । जुन गीतले नेपाली समाजको वास्तविकतालाई बोलेको छ, बोकेको छ ।

सुकेर जाँदैन, रोकेर रोकिँदैन
सुकेर जाँदैन, रोकेर रोकिँदैन
झरनाको चिसो पानी
भारी खेप्ने खेतलाको यही जिन्दगानी
झरनाको चिसो पानी
सुकेर जाँदैन, रोकेर रोकिँदैन
सुकेर जाँदैन, रोकेर रोकिँदै
भारी खेप्ने खेतलाको यही जिन्दगानी
झरनाको चिसो पानी  छेकेर छेकिन्न रोकेर रोकिँदैन ।
वारि छन् माइला दाइ पुछ्दै पसिना
पारि माइली छन् माइली भाउजु हेर्दै असिना
सानो छ पुण्टे तर पिठ्युँमाथि भारी
डरैडरै तपतपैले  हिँड्छ कठैबरै
झरना चिसो पानी
सुकेर जाँदैन रोकेर रोकिँदैन्
भारी बोक्ने खेतालाको यही हो जिन्दगानी

 

भनिन्छ–नेपालमा कम्युनिष्ट विचारधारा बढाउनुमा जनवादी गीत ठूलो योगदान छ । नेपालका करिव ५० प्रतिशत मानिसहरू गीत सुनेर र साहित्य पढेर कम्युनिष्ट भएका थिए ।

पञ्चायतकालमा यही गीत लिएर कम्युनिष्टहरू गाउँगाउँ पुग्थे । लुकीछिपी हुने साँस्कृतिक कार्यक्रममा गुञ्जने गीतहरूले गरिव, महिला तथा दलितहरूको पीडा बोलेको हुन्थ्यो । गीतले मानिसको मुट छुँदा त्यसको फाइदा पार्टीलाई हुन्थ्यो । यस्ता गीतहरू सुन्दा आङ सिरिङ्ग हुन्थ्यो । गीत गाउने कलाकारहरू जनताका प्रिय थिए ।

यसरी बन्यो गीत

२०४६ सालमा निर्माण गरिएकोे हो यो गीत । जीवन शर्मा काठमाडौंबाट पहाड घर जाँदै थिए । साथमा गितार पनि थियो । शर्मालाई पर्वत हुँदै बाग्लुङ घर जानुपर्ने थियो । सो यात्राको बीचमा कार्कीनेटा पुग्ने ठाडो उकालो थियो । शर्माले उकालोमा एक जना वृद्ध भरिया भेटे । उनीसँगै श्रीमती र उनका एक छोरा पनि थिए ।

पहाड जाँदै गर्दा करिब ८ वर्षका ती बालकले विद्यालय नगई भारी बोकेका थिए । सकी नसकी ती बालक आमाबुबासँगै भारी बोक्दै थिए ।

वृद्ध वारी डाँडामा थिए भने उनकी श्रीमती र छोरा भने पल्लोपट्टी डाँडामा नै थिए । साँझ पर्नै लागेको थियो । बाटोको बिचमा एउटा झरना पनि थियो । साँझ पर्नु अघि नै उनीहरूलाई त्यो झरना काट्नु पर्ने थियो । वारी रहेका वृद्ध भारी बिसाएर बसेका थिए भने पारीपट्टी उनको परिवार बच्चाको पिँडुलामा पिट्दै छिट्टो हिँड्न कराउँदै थिइन् ।

चौतारीमा भारी बिसाएर विश्राम गरिरहेका वृद्धसँग शर्माले गफ गर्न थाले । ती वृद्ध खोटाङतिरका हुनुपर्छ, राई रहेछन् । पसलको भारी बोकेर नाक ठोक्किने उकालो चढेरहेका थिए ती वृद्ध र उनका परिवार । उनीहरूको जीवन जीवन कष्टपूर्ण रहेको शर्माको स्मरण छ ।

उनी भन्छन्, ‘खप्लक्क गालाभित्र पसेको । आँखा मुनिका डाँडी अस्वाभाविक उठेका । थाप्लोमाथि नाम्लोले बसालेको गहिरो खाडल । विरूप थियो उनको हविगत’, उनले सम्झिए । शर्मालाई देख्नेबित्तिकै टोपीले मुख छोप्दै आँसु झार्दै, उनले दुःखेसो गरे । वृद्धको गरिवी त्यो पर्वतको पहाड कार्कीनेटाको उकालोभन्दा चर्को रहेको आफूले पाएको शर्मा बताउँछन् ।

दुःखले दैनिकी चलाउन पनि नसक्ने ती वृद्धको विरह सुन्दा शर्मा मौन भए । वृद्धको पीडाले शर्माको मनमा चिसो पस्यो । शर्मा चुपचाप त्यहाँबाट निस्किए र फटाफट उकालो चढे । तर, उनको दिमाग शान्त थिएन । कार्कीनेटाको झरना नजिक एउटा ठुलो ढुङ्गामा बसे । त्यहाँ पुग्दासम्म उनको मस्तिष्कमा गीत तयार भइसकेको थियो ।

उनी भन्छन्, ‘जनवादी गीत रचना गर्न र गाउन कठिन छ । त्यसका लागि जनताको पीडा र दुःखलाई नजिकबाट महशुस गर्न सक्नुपर्छ । उनीहरूको पीडा बुझ्न नसक्दा न गीत बन्छ, न गाउन नै सकिन्छ ।’

उनले त्यही ढुङ्गामा बसेर गीत र संगीतको धुन पनि तयार पारे अनि थाले गुन्गुनाउन । शर्माले त्यो गीतलाई रचना गरेको धेरैपछि मात्र रेकर्डिङ गरे । त्यस समयमा जनवादी गीत रेकर्ड गर्न निकै मुस्किल थियो ।

त्यो गीत रेकर्ड गरेर बजारमा आएपछि नेपाली राजनीति र सत्ताधारी व्यक्तिहरूमा भुइँचालो नै आयो । शर्माकै भनाइमा गरिबको पसिना चुसेर राज्यसत्ताको ‘तर’ मार्न पल्किएकाहरूको निधारमा चिटचिट पसिना आयो । उनी स्मरण गर्छन्, ‘त्यो गीत गाएका कारण मलाई गीत गाउनबाट प्रतिबन्धित समेत गरियो । तर, बन्दुकले कहाँ टालिन्छन् विचार !’

राताेपाटी बाट साभार

 

IME Remittance