पोखरा रक्तिम साँस्कृतिक अभियानकाे विविध जनसाँस्कृतिक कार्यक्रम जनसाँस्कृतिक कार्यक्रम हुने भएको छ ।१५ औं गणतन्त्र दिवसका अवसरमा आज २०७९ जेठ १५ गते रक्तिम साँस्कृतिक अभियान केन्द्रीय समितिले पोखरामा जनसाँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रम पोखराको बुद्धचोकस्थित “यु एण्ड मि रेस्टुरेन्ट”को सभाहलमा दिनको १ बजेदेखि सुरु हुने कार्यक्रममा जनगायक जीवन शर्माको विशेष प्रस्तुतिसहित पोखरामा रक्तिमको जनसाँस्कृतिक कार्यक्रम हुने बताइएको छ । देशमा भएका हरेक राजनीतिक आन्दोलन र परिवर्तनहरुमा रक्तिमले गीत, सङ्गीत र साहित्यको माध्यमबाट महत्वपूर्ण योगदान पुराउँदै आएको छ ।
“जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रको आकाशमाथि कालो बादल मडारिन थालेको छ । गणतान्त्रिक आन्दोलनको नेतृत्व गरेका दलहरु नै सत्तासीन भएपछि जे जस्तो व्यवहार प्रदर्शन गरिरहेका छन् । त्यसबाट गणतान्त्रिक ब्यवस्थाप्रति नै जनताको बितृष्णा बढ्दै गएको छ” रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले भने, “रक्तिमको यो विविध जनसाँस्कृतिक कार्यक्रम बाटो बिराउँदै गएको राजनीतिक नेतृत्वलाई खबरदारी गर्नका लागि हो ।”
“राष्ट्रिय स्वाधीनता रक्षाको आन्दोलनमा उर्जा भर्नका लागि हो”, कार्यक्रममा रक्तिमको केन्द्रीय टोलीले जनताका आँसु, रगत र पसिनाले लेखिएका गीत, नाच र अभिनयहरु प्रस्तुत गरिने अध्यक्ष शर्माले बताउनुभयो । शर्माका अनुसार कार्यक्रममा विभिन्न प्रगतिशील साहित्यिक र साँस्कृतिक सङ्गठनहरुबाट समेत आतिथ्यता रहने छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै अध्यक्ष शर्माले कार्यक्रममा उपस्थितिका लागि जनसङ्गीतप्रेमी सम्पूर्ण पोखरा निवासी महानुभावमा हार्दिक अपिल गरेका छन् ।