प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससबीच भेटघाट भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको जानकारी गराएका थिए ।
प्रधानन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा भेटमा राखेका थिए । भेटमा महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका थिए।
प्रधानमन्त्री देउवासँग भएको शिष्टाचार भेटका क्रममा कोभिड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको डा टेड्रोसले बताए।त्यस अवसरमा डा टेड्रोसले नेपालले दक्षिण एशियामै टाइफाइडविरुद्ध बालबालिकालाई खोप सुरु गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेका थिए। नेपालले छोटो समयमै बाल तथा मातृमृत्यु कम गरेको लगायतका विभिन्न स्वास्थ्य सूचकहरुमा गरेको प्रगतिको पनि उनले प्रशंसा गरे।
डाक्टर टेड्रोसले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका थिए।