काठमाडौँ, १९ जेठ । विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ। डब्ल्यूएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो।
अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने ढोका खुलेको छ।
बीबीसीका अनुसार उक्त खोप अठार वर्ष माथिकालाई दिन मिल्ने छ । यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ। आपत्कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनुका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्ल्यूएचओले जनाएको छ।
अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने पाइएको उसले जनाएको छ।