जुम्लामा एमबीबीएस कक्षा सुरु : आगामी आइतबार राष्ट्रपति भण्डारीबाट उद्घाटन

जुम्ला – जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह एमबीबीएसको कक्षा सुरु भएको छ । एमबीबीएसको  कक्षा सुरु भएसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्ने भएको छ । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले २०६८ सालमा जुम्ला सदरमुकाममा रहेकाे खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो ।

चिकित्सा शिक्षा आयोगको गएको जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबीबीएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो  । आयोगले पहिलो पटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये हिजो १५ जना भर्ना भएका छन् । प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुआत भइसकेको छ ।प्रतिष्ठानमा  यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी) र नर्सिङको अध्यापन पनि सुरु गरेको छ । ती दुवै विषयमा  २०/२० विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै प्रतिष्ठानमा बीएनएस मिडवाइफ्री र बीपीएच पनि अध्यापन सुरु भइसकेको छ । प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन  गर्ने जनाएको छ । प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह  अध्यापनका लागि  ३ सय शय्याको अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबीबीएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुलेको बताउनुभयो ।  कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमा नै उत्कृष्ट सेवा पुर्याउँदै आएको छ । प्रतिष्ठानले कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा स्वास्थ्यकर्मीको व्यवस्था समेत गर्दै आएको छ । विगतमा सिटामोलको चक्की नपाउने कर्णाली अहिले विशेषज्ञ डाक्टरसहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण भएको छ । कर्णालीले अब जडीबुटी मात्र होइन, देशलाई आवश्यक पर्ने दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने छ ।

उद्घाटन गर्न आगामी आइतबार जुम्ला जादै राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला जाने  भएकी छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेको एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला आउन लागेकी हुन् ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ । एमबीबीएस  र  प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेको उनले बताए ।प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुनेछ ।

 

IME Remittance