नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई हराउँदै ओली अध्यक्ष निर्वाचित भएका हुन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा खसेको २ हजार ९६ मतमध्ये भीम रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खसेकाे र रावलकाे पक्षमा २२३ मत खसेकाे थियाे । साथै नाे भाेटमा ३३ मत खसेकाे छ ।
यसैगरी दोस्रो बरीयताको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भएका छन् ।त्यस्तै महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।६ उपाध्यक्षका लागि भएको निर्वाचनमा विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् ।
उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ सचिवका लागि ९ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा योेगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन् ।