युरोपमा फेरि बढ्न थाल्यो कोभिड सङ्क्रमण

एजेन्सी । युरोपका केही देशहरूमा कोरोनाभाइरस सङ्क्रमणका घटनाहरूमा वृद्धि भएपछि कोभिडको नयाँ लहरका बारेमा चिन्ता व्यक्त गरिएका छन्।

जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र यूकेमा कोभिड सङ्क्रमण दर उकालो लाग्न थालेपछि त्यहाँ विभिन्न प्रतिबन्धात्मक उपायहरू अपनाउनुका साथै खोप अभियानलाई तीव्र बनाउन थालिएको छ।

अस्ट्रियामा पूर्ण लकडाउन
अस्ट्रियाले सोमवारदेखि राष्ट्रभरि पूर्ण लकडाउनको घोषणा गरेको छ। यो लकडाउन २० दिनसम्म रहन सक्ने बताइएको छ।

अस्ट्रियामा सन् २०२२ फेब्रुअरी १ देखि कोभिड खोप लगाउनै पर्ने कानूनी बाध्यता बनाइएको छ। अस्ट्रियामा पश्चिम युरोपकै सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ। त्यहाँ कमैले मात्रै खोप लगाएका छन्।

“हामी पाँचौँ लहर चाहँदैनौँ,” चान्सलर एलेक्सजान्डर स्यालेन्बर्गले नौ प्रान्तका गभर्नरहरूसँगको छलफलपछि भने।

अस्ट्रियामा अहिले प्रति एक लाख जनसङ्ख्यामा १,०५० जनाको दरले सङ्क्रमण भएको तथ्याङ्कले देखाउँछ।

कुल ९० लाख जनसङ्ख्या भएको अस्ट्रियामा शुक्रवार थप १५,८०९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

लकडाउनमा अस्ट्रियाली नागरिकहरूलाई घरबाट काम गर्न भनिएको छ भने अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गरिने छन्। अस्ट्रियाका स्वास्थ्यमन्त्रीले लकडाउनलाई अन्तिम अस्त्र भनेका छन्। बीबीसी

IME Remittance