बागमतीका मुख्यमन्त्री पाण्डेले आज लिँदै विश्वासको मत

बाग्मती, २२ कात्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासका् मत लिँदै हुनुहुन्छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

प्रस्ताव पेश भएसँगै मतदान पनि आजै हुनसक्ने जनाइएको छ ।

नेपालको संविधानको धारा १६८ बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अबस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।

यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा एकीकृत समाजवादी बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन्।

यसअघि बहुमत प्राप्त दलको हैसियतमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

एमाले विभाजित भएसँगै अल्पमतमा परेकी शाक्यले कात्तिक १० विश्वासको मतको प्रस्तावका लागि हुने मतदानमा प्रक्रियामा सहभागी नभइ राजीनामा दिएकी थिइन्।

IME Remittance