नयाँदिल्ली — नेपाल–भारतबीचको सीमा सुरक्षामा खटिने नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी)का उच्च सुरक्षा अधिकारीहरुबीच मंगलबार नयाँ दिल्लीमा बैठक हुँदैछ ।
नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न विवादले दुई देशबीचको बैठक रोकिएको थियो ।
बैठकमा सीमा सुरक्षा र गस्ती, दुई देशबीच जोडिएका नाकाको प्रयोग, अन्तरदेशीय अपराध नियन्त्रण तथा रोकथामलगायतका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । तर, बैठकमा कालापानी र सुस्ताका विषयमा भने छलफल नहुने भएको छ ।
बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल नेतृत्वको टोली हिजो भारतको नयाँदिल्ली पुगेको छ । बैठकमा भारतको तर्फबाट भारतीय सशस्त्र सीमा बलका प्रमुख कुमार राजेश चन्द्रले नेतृत्व गर्नेछन् ।