साफमा नेपाल लगातार विजयी, श्रीलंका ३-२ ले पराजित

साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गर्‍यो।

खेलको ३१औं मिनेटमा गोल गर्दै सुमन लामाले नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१ औं मिनेटमा अन्जन विष्टले गोल गर्दैं नेपाललाई दुई गोलको अग्रता दिलाए । तर, खेलको ५७ औं मिनेटमा श्रीलंकाका माभिन हमिल्टनले गोल गर्दा खेल २–१ को अवस्थामा पुगेको थियो ।

खेलको ४६ औं मिनेटमा मैदान प्रवेश गरेका आयुष घलानले ८५ औं मिनेटमा विजयी गोल गर्दै नेपाललाई जित दिलाए ।  खेलको अतिरिक्त समयमा श्रीलंकका डिलन डि सिल्भाले पेनाल्टी मार्फत गोल गदैं खेललाई ३–२ को अवस्थामा पुर्याएपनि श्रीलंकाको हार टार्न सकेनन् ।

नेपालले १९८४ देखि अहिलेसम्म भएका १७ खेलमा श्रीलंकालाई तीन पटक मात्र हराएको थियो, यो जित श्रीलंका माथिको चौथो जित हो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपालले यस जित सँगै २ खेलमा ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । श्रीलंकाको यो दोस्रो हार हो । पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको ।

IME Remittance