काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सार्वजनिक सवारीमा चढ्न रोक लगाउने निर्णय गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएको छ कोभिड–१९ संक्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिक सवारी अनिवार्य रुपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ ।
चाडपर्वको बेला सवारी साधनको छतमा यात्रा गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ । होटल, रेष्टुरेण्ट र सिनेमा हलमा सामाजिक दुरी कामय गर्नुपर्ने आदेश जारी गरिएको छ । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रशासनले भिडभाड र जुलुस तथा भोज गर्न रोक लगाउने पुरानो निर्णयलाई निरन्तरता दिएको छ। दशैं, तिहार र छठ पर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर न्युनतम सहभागितामा चाडपर्व मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
घरभित्र परिवारको सदस्यहरु मात्रै सहभागी भएर पर्व मनाउन आग्रह गर्दै जिल्ला प्रशासनले भनेको छ– ‘यात्रा गर्नुअघि अधिकारिक टिकट काउण्टरबाट टिकट काटेर मात्र यात्रा गर्नुहोला ।’निषेधाज्ञालाई निरन्तरता दिँदै स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने निर्णय गरिएको छ । सार्वजनिक र निजी निर्माण कार्यको लागि आवश्यक निर्माण सामग्री बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न पाइने निर्णय गरिएको छ ।