काठमाडौँ, ३० भदौँ । नेपालले पहिलो पटक बजेट होलिडेको सामना गर्न लागेको छ । आजसम्म बजेट पास नभएमा बजेट निष्क्रिय हुन्छ ।
कानुन त अध्यादेश आएको ६० दिनभित्रमा बजेट पास गर्नुपर्ने हुन्छ । त्यो समयावधि आजबाट सकिँदै छ । अब आज संसद नरहेकाले बजेट पास गर्ने सम्भभावना छैन । त्यसैले आज राती १२ बजेबाट बजेट निस्क्रिय हुन्छ र बजेट होलिडेको सामना गर्नुपर्छ । यसरी होलिडे हुँदा सरकारी खर्च रोकिन्छ । अत्यावश्यक काम मात्रै हुन्छ ।
सरकारलाई एकदमै समस्या परी खर्च गर्नुपर्ने अवस्था आएमा सरकारी कार्यालयहरूले सापटी र धरौटीमार्फत आकस्मिक खर्च गर्न सक्छन् । तर, अहिलेको बेला जस्तो नियमित खर्च गर्न पाइने छैन ।
संवैधानिक नियमअनुसार आइलागेको यस्तो संकटको अवस्थामा तत्काल खर्च गर्न नपाउने व्यवस्थाकै कारण अब सरकारलाई कोभिड–१९ महामारी उपचारमा भइरहेका प्रयासमा केही दिन खर्च गर्ने काममा बाधा पर्न सक्नेछ ।
प्रतिनिधिसभा विघटन भएको अवस्थामा गत १५ जेठमा संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश विद्येयकमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएका थिए ।
त्यसपछि गत २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पुनः वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २५ भदौमा १६ खर्ब ३२ अर्बको संशोधित नयाँ बजेट ल्याएका थिए ।
त्यसअघि गत ३ साउनमा अध्यादेश बजेट प्रतिनिधिसभामा टेबल भएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले केही दिन बजेट रोकिनसक्ने बताइसकेका छन् । तर उनले नियमित प्रक्रियाबाटै बजेट पास गर्ने दावी गरेका छन् । प्रतिपक्षि दल नेकपा एमालेले संसद अवरोध गरेकाले बजेट पास हुन नसकेको हो । अबरोधका बीच केही दिन अघि बजेटसम्बन्धी प्रतिस्थापन विधेयक संसदमा पेश भएको थियो । मंगलबार मात्रै उक्त विनियोजन विधेयक संसदको बहुमतले स्वीकृत भएर संसद स्थगित भई असोज ४ गतेका लागि बोलाइएको छ ।