काठमाडौँ — मादी नगरपालिका-१ उम्लिङखोला गाउँका तेजबहादुर कार्कीसहित ६ जनाको हत्या आरोपमा प्रहरीले उनका भतिजा लोकबहादुरलाई पक्राउ गरेको छ। २५ वर्षीय लोकबहादुरले चिर्पट प्रहार गरेर ६ जनाको हत्या गरेको प्रहरीमा अनुसन्धानमा देखिएको छ । कार्कीले प्रतिशोध साँध्नका लागि हत्या गरेको घटनाको प्रकृति र घटनास्थलको अवस्थाबारे प्रहरीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ।
उक्त रिपोर्ट अनुसार अभियुक्त कार्की घटनाको अघिल्लो रातभर नसुति विक्षिप्त मानसिक अवस्थामा रहेको खुलेको छ।प्रदेश १ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले आइतबार पत्रकार सम्मेलनमा अभियुक्त सार्वजनिक गर्दै ‘व्यक्तिगत रिसइवी’का कारण हत्या भएको बताएका छन् ।
अभियुक्त कार्कीका बुवाको आर्थिक अवस्था कमजोर रहेकाले मर्ने बेलामा तेजबहादुरलाई छोराको रेखदेख गरिदिन भनेका थिए। त्यसैले तेजबहादुर अभियुक्तको घरमा बेला बेलामा जाने गर्थे। त्यही क्रममा सम्झाउने, काम अराउने मात्रै नभइ हप्काउने समेत गर्थे। यो कुरा लोकबहादुरलाई मन पर्दैनथ्यो। उनले यो कुरालाई गम्भीर रुपमा लिँदै आएको प्रहरीसमक्ष बताएका थिए ।
उनी बेलाबेलामा आक्रोशित हुने, नजिकमा रहेकाहरुलाई जे पायो त्यहीले आक्रमण गर्न खोज्ने,राति नसुत्ने र एक्लै हिँड्ने र घरका सदस्यसँग झैझगडा गर्ने स्वभावको रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
उनी पटकपटक विदेश गएका थिए। विदेश जाँदा लिएको ऋण, आमाको उपचार र किरिया खर्चको जोहो गर्न नसक्दा जग्गा समेत बेचेका थिए। जुन कुराले उनलाई हिनताबोध गराइरहेको हुन्थ्यो। यी विभिन्न कारणले उनी यतिठूलो अपराधिक घटना घटाउन पुगे
प्रहरीलाई दिएको बयानअनुसार सबैभन्दा पहिले उनले तेजबहादुरलाई नै चिरपटले हानेका थिए। पछाडिबाट टाउकोमा पटक-पटक प्रहार गर्दा तेजबहादुर अनियन्त्रित भई भीरालो जमिनबाट लडेका थिए। ‘लोकेले मलाई मार्यो’ भन्दै उठ्न खोज्दा पुन: टाउकोमा प्रहार गरी घोप्टो पारी लडाएका थिए। हारगुहार गरेको आवाज सुनेपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रन्जना समेत घटनास्तथतर्फ आए।
उनीहरुमाथि पनि लगातार चिरपट प्रहार गरे। त्यसपछि घर नजिकै बाटोको डिलमा आएका दुईजना नाबालक दिपेन र गोमालाई पनि लखेटी लखेटी मारे । त्यसपछि घरको पछाडि खोले पकाउँदै गरेकी पार्वता कार्कीको टाउको भित्तामा ठोक्याई हत्या गरी घर फर्केका थिए। सबैको हत्यापछि लोकबहादुरले घटनामा प्रयोग गरेको चिरपट आफ्नै घरको अगेनामा हाली नष्ट गरे।
घटनास्थलमा शवहरु ४ वटा फरकफरक स्थानमा भेटिएका थिए। सबैभन्दा पहिले शारीरिक रुपमा बलिया तेजबहादुरलाई पछाडिबाट आक्रमण गरी हत्या गरेका थिए। त्यसपछि महिलाहरु, नाबालकहरु र वृद्धमाथि एउटै चिरपटले हानेर हत्या गरेको पाइएको प्रहरी अनुसन्धानले देखाउँछ।
मादी नगरपालिका–१ उमलिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो । हत्यामा संलग्न आरोपमा प्रहरीले शनिबार बिहान अभियुक्त कार्कीलाई पक्राउ गरेको थियो । अभियुक्त कार्कीले ६ जनालाई आफूले नै हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।
मादी–१ उम्लिङको खोला गाउँमा एकै परिवारका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो। उनी मृतकका परिवारका नाती पर्छन्।