नारायण ढुंगाना,
उदयपुर, २० भदौँ । पहाड र हिमाली क्षेत्रमा पहिरोले ठूलो जोखिम छ । हेलम्बु, मेलम्चीलगात धेरै पहाडी र हिमाली क्षेत्र माथिबाट आएको पहिरो र त्यसपछिको बाढीले तहसनहस बनाइरहेका बेला तराईमा डुबानका साथै ठूला नदीले धार परिवर्तन गर्न खोज्नु अर्को चुनौतीको विषय बनेको छ ।
यसपालि पनि सुनसरीको चतराघाटको सिमानामा पर्ने उदयपुरको बेलका नगरपालिका–८, डुम्रीबोटमा झन्डै डेढ किलोमिटर क्षेत्र सप्तकोसीले कटान गरिसकेको छ । “केहीअघिको बाढीले त्यस क्षेत्रमा १०० मिटरभित्र पसिसकेको छ भने अब २० मिटर मात्रै काट्न पाएको भए नदीको धार नै परिवर्तन हुन्थ्यो,” स्थानीय राजकुमार चौधरीले भने ।
त्यस क्षेत्रबाट वि।सं। २०३४ अघि सप्तकोसी बगेको थियो । पछि धार परिवर्तन भएर सप्तकोसी मोडियो । सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादव भन्छन्, “अहिले नदीले त्यही पुरानो बाटो खोज्दै छ, बेलैमा ध्यान पुगेन भने यहाँबाट नदी छिर्दा त्यसभन्दा तल्लो तहका धेरै बस्ती बग्नेछ ।”
उक्त क्षेत्रमा आज स्थलगत अवलोकन गरेपछि गृहमन्त्री खाँणले जलवायु परिवर्तनका कारण नदीले धार परिवर्तन गरिरहेको उल्लेख गर्दै पहिले कोसीले पूर्व क्षेत्रमा कटान गरेकामा पछिल्लो समयमा पश्चिम क्षेत्रमा धार परिवर्तन गर्न खोजिरहरको बताए । उनले कोसी बाढी, डुबानबाट जनतालाई कसरी सुरक्षित बनाउने भन्नेमै सरकारको ध्यान रहेको बताए । त्यहाँ कटान भएमा तल्लो तहका बस्तीका ३०० बढी घरपरिवार प्रभावित हुनेछन् ।
यता, कमला नदीले पनि धनुषा र सिरहाको धेरै क्षेत्रमा असर गरिरहेको छ । कटान गरेर ठाउँठाउँमा धार परिवर्तन गर्न खोजिरहरको छ । धनुषाको सबैला नगरपालिका–१३, किरतपुरमा मात्रै एक हजार १०० मिटर बाढीले कटान गरेको छ ।
सप्तरी क्षेत्रमा चारवटा र धनुषापट्टि तीनवटा एक्जाभेटर प्रयोग गरेर नदी खोल्ने र खोला फर्काउने काम गरिएको थियो । त्यही बेला सुरक्षाकर्मी र स्थानीयवासी मिलेर हजारौँ बोरामा बालुवा भरी नदी कटान नियन्त्रण गरेका थिए । त्यसकारण साउनको पहिलो हप्ता आएको बाढी बस्तीमा पस्न नपाएको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराई बताउँछन् ।
त्यहाँबाट नदी पसेमा भने सबैला नगरपालिकाको तीन र मदन नगरपालिकाको पाँचवटा वडा, सहिदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिकाका विभिन्न वडा तथा भारतको जयनगरसमेतलाई असर गर्ने पनि उनले सुनाए । त्यसले कम्तीमा २७ हजार घरधुरीका एक लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ ।
अहिले अस्थायी तटबन्धका लागि करिब साढे दुई करोड रुपैयाँ खर्च भएको छ । यहाँ स्थायी तटबन्धका लागि भने ४० करोड रुपैयाँ माथि लाग्ने अनुमान गरिएको छ । उक्त क्षेत्रमा पनि गृहमन्त्री खाँणले स्थलगत निरीक्षण तथा अनुगमन गरी जानकारी लिएका थिए ।
“साझा प्रयत्नले ठूलो दुर्घटना हुनबाट जोगिएछ, अब यसलाई स्थायी तटबन्ध बनाउनुपर्छ, त्यसप्रति सरकार गम्भीर छ,” स्थानीयवासीको मागप्रति मन्त्री खाँणले आश्वासन दिँदै भने । सानोतिनो प्रयासले नहुने भन्दै गम्भीरतावूर्पक कदम चाल्नुपर्ने देखिएको पनि उनले बताए ।
उनीसँगै आज हवाई तथा स्थलगत निरीक्षणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेल, हेलम्बु गाउँपालिकका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रतिनिधिसभाका सदस्य शेरबहादुर तामाङ, प्रदेश सांसद युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत सहभागी थिए । रासस