काठमाडौं २७ जेठ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले ४ जना एमिकस क्युरी (अदालतको सहयोगी) मगाएको छ ।
जसमा नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना माग गरिएको छ । एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्ने छन् । को को जाने छन् भनेर निक्यौल भने भइसकेको छैन ।
एमिकस क्युरीलाई असार १० गतेसम्म बहस नोट दिन संवैधानिक इजलासले आदेश दिइसकेको छ ।
यसअघि गत पुसमा भएको संसद विघटनसम्बन्धी रिटमा पनि सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च बारबाट एमिकस क्युरी माग गरेको थियो ।
यसैविच इजलासको बुधबारको बैठकले बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय निर्धारण गरेको छ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलासले प्रतिनिधिसभा विघटनको मुद्दामा बहसको समय तोकेको हो ।