मालीमा सैनिक विद्रोह, राष्ट्रपति–प्रधानमन्त्री गिरफ्तार, हिरासतबाटै राष्ट्रपतिले दिए राजिनामा

माली । अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह भएको छ । विद्रोही सैनिकहरुले मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटा र प्रधानमन्त्री बोबू सिसलाई गिरफ्तार गरेका छन् ।

सिएनएनका अनुसार, सेनाको यो विद्रोहको शुरुआत मंगलबारका दिन मालीको राजधानी बामाको नजिक रहेको एउटा सैनिक क्याम्पबाट भएको थियो ।

असन्तुष्ट सैनिकहरुले फाइरिङ गर्दै कमाण्डरहरुलाई बन्दी बनेका थिए । त्यसपछि युवा सैनिकहरुले क्याम्प कब्जामा लिएका थिए ।

लगत्तै असन्तुष्ट सैनिकहरुले शहरमा रहेका सरकारी भवनहरुमा आगजनी गरेका छन् ।

यसअघि नै मालीका राष्ट्रपतिको राजिनामा माग गर्दै विरोध प्रदर्शन हुँदै आएको थियो ।

विद्रोहीहरुले कानुन मन्त्रीको स्वामित्वमा रहेको भवनमा समेत लुटपाट र आगजनी गरेका छन् ।

यसैबीच पछिल्लो समाचार अनुसार, गिरफ्तार भएका राष्ट्रपतिले पदबाट राजिनामा दिएका छन् ।

अमेरिकी र यूरोपियन युनियनले भने यो घटनालाई कु को संज्ञा दिँदै आफ्ना नागरिकलाई सुरक्षित रहन अपील गरेका छन् ।

 

 

 

IME Remittance