मिन्स्क — बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८०.२३ प्रतिशत मत ल्याएर विजयी भएका छन् । ६५ वर्षीय लुकासेन्को सन् १९९४ देखि सत्तामा छन् । उनी छैटौंपटक बेलारुसको राष्ट्रपति पदमा विजयी भएका हुन् । सन् २०१५ मा भएको चुनावमा लुकासेन्कोले ८३.५ प्रतिशत मत ल्याएका थिए ।
लुकासेन्कोकी प्रमुख प्रतिद्वन्द्वी सेभ्लाना तिखानोभ्स्कायाले ९.९ प्रतिशत मात्र मत पाएकी निर्वाचन आयोगले जनाएको छ । चुनावी अभियानका क्रममा लुकासेन्कोले तिखानोभ्स्काया ‘निकै कमजोर प्रतिद्वन्द्वी’ भएको प्रतिक्रिया दिएका थिए । ३७ वर्षीया पूर्वशिक्षिका तिखानोभ्स्काया विदेशीहरूको इसारामा चुनावी मैदानमा आएकी उनको दाबी छ ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार अन्य तीन जना उम्मेदवारले २ प्रतिशतभन्दा कम मत ल्याएका छन् । यसअघि सार्वजनिक चुनावी मतसर्वेक्षणमा लुकासेन्कोले भारी मतका साथ विजयी हुने विवरणहरू सार्वजनिक भएसँगै राजधानी मिन्स्कलगायत केही स्थानमा लुकासेन्कोविरुद्ध प्रदर्शन सुरु भएका थिए । तर आयोगले सोमबार अन्तिम नतिजा सार्वजनिक गरेलगत्तै विपक्षीहरूले विरोध प्रदर्शनलाई देशव्यापी बनाएका हुन् । चुनावमा व्यापक धाँधली भएको उनीहरूको दाबी छ ।
तिखानोभ्स्कायाले चुनावमा आफू विजयी भएको दाबी गर्दै शान्तिपूर्ण रुपमा कसरी सत्ता हस्तान्तरणका गर्ने भन्नेबारे अधिकारीहरूले सोच्नुपर्ने बताएकी छन् । ‘अधिकारीहरूले शक्तिको गत प्रयोग गर्दै सत्तामा रहिरहन प्रयास गरिरहेका हामीले देखेका छौं,’ उनले भनिन् ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाउन बल प्रयोग गर्नुपरेको जनाएको छ । प्रहरी कारबाहीमा क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि ग्रिनेड, रबरका गोली र अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
झडपका क्रममा ५० भन्दा बढी प्रदर्शनकारी र ३० प्रहरी अधिकारीहरू घाइते भएको बताइएको छ । कम्तीमा १० जना प्रदर्शनकारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ । तर प्रहरी कारबाहीमा कुनै प्रदर्शनकारीको मृत्यु नभएको गृह मन्त्रालयका प्रवक्ताको दाबी छ ।
मानव अधिकारकर्मीहरूले प्रदर्शनकारीमाथि प्रहरीले ज्यादती गरेको दाबी गरेका छन् । भियास्ना मानव अधिकार केन्द्रका प्रतिनिधि सर्गेई सिसले प्रदर्शनमा सहभागी करिब ३ हजार जना पक्राउ परेका जनाएका छन् । तीमध्ये करिब एक हजार जना राजधानी मिन्स्कमा पक्राउ परेका हुन् ।
निर्वाचनपछि भएका प्रदर्शनपछि अनधिकृत जमघटमा सहभागी भएका कारण बेलारुस प्रहरीले ३ हजार जनालाई पक्राउ गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालका अनुसार पक्राउ परेकामध्ये केहीले प्रहरीलाई आक्रमणको प्रयास गरेका थिए । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ परेकामध्ये १ हजार जना राजधानी मिन्स्क र बाँकी देशका अन्य भागमा रहेका छन् ।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चुनावी नतिजाप्रति रुष्ट विपक्षीहरूले मिन्स्कका सार्वजनिक सम्पत्तिमा आगजनी गर्दै सडकहरूमा अवरोध खडा गरेका थिए । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको मन्त्रालयको दाबी छ ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसको राष्ट्रपतिमा निर्वाचित लुकासेन्कोलाई सफल कार्यकालका लागि शुभकामना दिएका छन् । त्यस्तै, चीन, काजखस्तान, उज्बेकिस्तान, माल्दोभा र अजरबैजानले लुकासेन्सकोलाई समर्थन जनाएका बीबीसीले उल्लेख गरेको छ ।
जर्मनीले चुनावी नतिजाप्रति ‘गम्भीर आशंका’ रहेको जनाएको छ । त्यस्तै पोल्यान्डले बेलारुसको पछिल्लो अवस्था एवं विवादास्पद राष्ट्रपतीय निर्वाचनबारे छलफल गर्न युरोपेली युनियनको आपत्कालीन बैठक डाक्न आग्रह गरेको छ ।
पोल्यान्डका प्रधानमन्त्री मेटिउज मिराविकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेलारुसका जनताको स्वतन्त्रताप्रतिको चाहनालाई सम्मान गर्न युरोपेली युनियन तत्पर हुनुपर्छ । (साभार कान्तिपुर पत्रिका)