२५ साउन, काठमाडौं । लण्डनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको छैठौं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ । ६ बुँदे घोषणापत्र जारी गर्दै अमेरिकामा २९ वर्षअघि स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको छैटाैँ अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । नेपालबाट सम्मेलनमा निम्त्याइएका साहित्यकारलाई बेलायत सरकारले भिसा नदिएको उपस्थिति खल्लाे भएकाे अायाेजकहरूले बताएका छन ।
दुई दिन चलेको सम्मेलनमा नेपाल, भारत, अस्ट्रेलिया, जापान, कोरियालगायतका देशबाट ६७ जना साहित्यकार उपस्थित थिए । कार्यक्रममा कविता वाचन, नेपाली साहित्यका विषयमा चर्चा, पुस्तक प्रदर्शनीलगायतका कार्यक्रम भएका थिए । सम्मेलनलाई बेलायतस्थित नेपाली राजदुत तथा साहित्यकार दुबसु क्षेत्री र प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एक दशकयता गरेको साहित्यिक गतिविधिलाई नजिकबाट नियालिरहेको र प्रवासमा रहेका नेपालीलाई साहित्यको माध्यमबाट जोड्ने काम गरेकोमा क्षेत्रीले खुसी व्यक्त गरे । त्यसै गरी उपकुलपति गुरुङले मानिसको मन जोड्न साहित्यले खेल्ने भूमिका बताउँदै विदेशमा रहेर मातृभूमि जोड्न साहित्य महत्वपूर्ण साथी भएकै कारणले संस्थाले लामो इतिहास बनाउन सकेको बताए ।
कार्यक्रममा नेपाली भाषा तथा साहित्यमा विद्यावारिधि गरेका बेलायती नागरिक माइकल हटले ०७२ सालको भूकम्पपछि नेपाली साहित्य लेखनले फरक धार समातेको बताए । भूकम्पपछिको नेपाली साहित्य विषयमा कार्यपत्र प्रस्तुत गर्दै माइकल हटले भने, ‘भूकम्पपछि नेपाली साहित्यमा मृत्युको त्रास देखिँदैन, बरु देश बनाउन एकजुट हुनुपर्ने सन्देश जताततै पाइन्छ’ ।
कार्यपत्रका अर्का प्रस्तोता प्राध्यापक डा. खगेन्द्र लुइँटेलले डायोस्परिक साहित्यको रुपरेखा र मूलधारको साहित्यबीचको सीमारेखा प्रस्तुत गरे । ‘विदेशमा बसेर लेख्ने वित्तिकै त्यो लेखन डायस्परिक हुँदैन । न त नेपालबाट घुम्न आएका लेखकले विदेशका नेपालीका बारेमा कुनै कृति लेख्दा त्यो डायस्परिक हुन्छ । डायस्परिक हुनका लागि त्यसले डायोस्परिक चरित्र बोकेको हुनपर्छ ।’
कार्यक्रममा नेपालका प्रारम्भिक २० आख्यानकार र उनीहरुका चर्चित कथाहरुको अङ्ग्रेजी अनुवाद कृति ‘टाइमलेस स्टोरीज फ्रम नेपाल’ विमोचन गरिएको थियो । विमोचित अन्य पुस्तकहरुमा सुमलकुमार गुरुङ्को ‘यात्रा स्पर्शका अनुभूति, लालगोपाल सुवेदीको ‘रोटीको दन्त्य कथा, मोहन सिटौलाको ‘जीवन बाँसुरी, रामप्रसाद घिमिरेको ‘खप्परेको कथाहरु र शशी थापा सुब्बाको ‘साँझकी शशी’ थिए ।
भिसाका कारण दर्जनौं लेखक पुगेनन्
‘हामीले युवा पुस्ताका लेखक, अध्येता एवं प्राध्यापकहरुलाई कार्यक्रममा निम्ता दिएका थियौं । तर, दूतावासले भिसा नदिँदा उहाँहरु उपस्थित हुन सक्नुभएन ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव गणेश घिमिरेले अनलाइनखबरसँग भने, ‘त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत तथा चर्चित लेखकहरुलाई बेलायतले भिसा नदिनुले हाम्रो स्टाटस बताउँछ । यो हामी सबैका लागि दुःखदायी अवस्था हो ।’
के-के निर्णय गर्यो युके सम्मेलनले ?
सम्मेलनले नेपाली साहित्यकारका चर्चित कृतिलाई संसारका धेरै जनसंख्याले बोल्ने भाषामा अनुवाद गर्ने कामलाई तीब्रता दिने निर्णय गरेको छ ।
सम्मेलनले डायस्पोरिक साहित्यको इतिहास तयार गर्न विज्ञ टोली गठन गर्ने, विदेशमा रहेका नेपालीभाषी परिवारका सन्तानहरुले नेपाली भाषामा पनि पठन-पाठन गर्न तयार भएका पाठ्यसामग्रीहरुलाई सामयिक बनाउने एवं त्यस्ता बालबालिकालाई नेपाली भाषामा चासो जगाउन प्रविधि मैत्री बनाउने निर्यण पनि गरेको छ ।
संसारभर छरिएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्यहरुको सदस्यतालाई अद्यावधिक गर्ने र नेपालका विश्वविद्यालय एवं संघसंस्थाहरुसँग सम्पर्क गरी साहित्य अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय पनि सम्मलेनले गरेको छ ।
-अनलाइन खबरबाट ।
‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ नेपालीभाषीहरुको बसोबास रहेका सबैजसो देशमा फैलिएको छ । यस संस्थामा साहित्य लेखन तथा साहित्यिक सेवामा संलग्न एक हजारभन्दा बढी आजीवन सदस्य रहेको दाबी गरिएको छ । संस्थाले वार्षिक १० लाख रुपैयाँ बराबरको पुरस्कार तथा सम्मानसमेत वितरण गर्दै आएको छ ।