‘लाटी’ दिदीबहिनीकाे कथा

सानी लाटी’ जसलाई दिन र रातको कुनै अर्थ छैन । सधैँ त्यही एउटा गुन्द्री र भन्भनी घुमिरहेका झिँगाले मात्र उनलाई साथ दिइरहेका छन् । गरिब दुःखी र असहायलाई यिनै झिँगा भुसुनाले मात्र मन पराउँछन् ।

कुरा हो, स्याङ्जा, कालीगण्डकी गाउँपालिका–५ का २ दिदीबहिनीको ।  परिवारमा उनीहरुको केही छैनन् । दुवै जना बोल्न सक्दैनन् । दिदी ‘ठुली लाटी’ बोल्न सक्दिनन् तर गाउँ, टोल, छिमेकमा हिँड्डुल गर्न  सक्छिन् । ‘ठुली लाटी’ अरूका घरमा परिवारमा एकअर्कालाई माया गरेको देख्छिन् । मीठो मसिनो खाएको देख्छिन् । तर लाटी दिदीबहिनीको गाउँभरि कोही छैनन् । त्यहाँ न उनीहरुलाई माया गर्ने, बुझिदिने कोही छैनन् । सानी जन्मिँदै अपाङ्ग थिइन् । नियतिले बोली मात्रै नदिएको होइन, हिँडडुल गर्न नसक्ने ‘कुँजो’ बनाइदियो । ढाडको समस्याले गर्दा उनी धेरै समय एकै ठाउँ बस्न पनि सक्दिनन् । टाउको र शरीर एकै ठाउँ पारेर पल्टिन्छिन् । उनको दैनिकी यही हो । एक ठाउँ बसेपछि अरूको सहाराबिना कतै हिँडडुल गर्न सक्दिनन् उनी । उनको दिसापिसाब मात्रै होइन पाएसम्म केही खाने ठाउँसमेत त्यहीँ हुन्छ ।

उनीहरुको त्यही झुपडी अगाडि मोटरेबल कच्ची सडक छ । त्यहाँ दिनहुँ सयौँ मान्छे हिँड्छन् । केही गाडीसमेत गुडछन् । तर न मानिसलाई उनीहरुको केही मतलब छैन ।

दुई जना दिदीबहिनी एउटा सानो झुपडीमा बस्छन् । दुवैलाई आफ्नो नामसमेत थाहा छैन । स्थानीय गाउँलेलाई त नाम थाहा होला । तर गाउँले पनि दिदीलाई ‘सानी लाटी’ र बहिनीलाई चाहिँ ‘ठुली लाटी’ भन्छन् । बहिनीलाई ‘ठुली लाटी’ भन्नुको कारण बहिनी दिदीभन्दा अलि बढी लाटी छिन् । हिँडडुल समेत गर्न सक्दिनन् । उमेरले दुई बीस काटिसक्दा पनि उनीहरुलाई साना बालबच्चादेखि सबैले बोलाउने नाम नै हो ‘ठुली लाटी’, ‘सानी लाटी’ ।

‘ठुली लाटी’ हिँड्डुल गर्न सक्ने भएकाले कहिलेकाहीँ यिनी गाउँलेहरुको काम पनि गर्छिन् । तर लाटीलाई काम दिन पनि को तयार छ र ? यिनीहरुको झुपडीमा अन्न वा खानेकुरा केही छैन । ठुली लाटीले जसोतसो आफ्नो पेट पालेकी छन् । पूजाआजा, बिहे, व्रतबन्ध जस्ता कार्यमा गएर मागेर खाने गर्छिन् । अरूबेला पनि मन लागेको ठाउँमा जान्छिन् र मागेर खान्छिन् । तर समस्या यहाँ सानी लाटीको हो । जो न बोल्न सक्छिन् न त हिँड्डुल नै गर्न  सक्छिन् । भोक, तिर्खा त पक्कै लाग्दो हो तर भन्न सक्दिनन् । न त कसैले यसलाई भोक या तिर्खा लागेको छ भनेर खान नै दिने गर्छन् । आक्कल झुक्कल कसैले खान दिएको भरमा पनि मान्छे ४०, ४२ वर्षसम्म बाच्न कसरी सक्दो रहेछ । यिनी शारीरिक रूपमा अपाङ्ग अशक्त भए पनि मानसिक रूपमा त्यस्तो लाग्दैन । किनकि केही खानेकुरा दियो भने खुसी हुँदै खान्छिन् ।

विडम्बना के छ भने उनकै बहिनी ‘ठुली लाटी’ले दिदीलाई सकभर खानेकुरा दिन नपरे हुन्थ्यो जस्तो गर्छिन् । खाने कुरा केही पनि दियो भने उनलाई दिसापिसाब लाग्नु स्वाभाविक कुरा हो । त्यही कुराको डरले अथवा उनलाई सफा गर्न गाह्रो लाग्ने भएको कारणले गर्दा उनले खान दिँदिनन् । ओल्लो गाउँ पल्लो गाउँ जाँदा दिदीलाई पनि लगिदे यो खानेकुरा भनेर दिँदा ऊ लैजान मान्दिनँ । बरु आफै खान्छिन् र बढी भएमा बरु फालिदिन्छिन् ।

यो दैनिकी सुरु भएको १५ वर्ष भयो । आमा जिउँदो छउञ्जेल उनीहरुलाई अलि सहज थियो । तर १५ वर्षअघि आमाको मृत्यु भएपछि उनीहरुको जीवनको ज्योति निभ्यो । आमा हुँदासम्म उनीहरुले त्यति धेरै दुःख भोग्नुपरेन । आमाले दुःख गरेर जसोतसो पालनपोषण गरिन् । उनीहरुका श्रीमान, श्रीमती, एक छोरा, दुई छोरी, पाँच जनाको परिवार थियो । छोरीहरुको आजन्म बोल्न नसक्ने, एक जना हिँडडुल गर्नै नसक्ने तर छोरा भने सपाङ्ग नै थिए । ती आमाबाबुको सपना तीनै छोरा थिए, भविष्यमा आफूलाई मात्रै होइन, दिदीबहिनीको समेत स्याहार सुसार सोही छोराले गर्ने आशामा थिए ।

श्रीमान गुमाएपछि सन्तानको मुख हेरेरै भए पनि सङ्घर्ष छाडिनन् आमाले । तर पति गुमाएको दुई वर्ष पुग नपुग हुँदै कलकलाउँदो छोरोसमेत गुमाइन् । चरम गरिबी त छँदै थियो, भविष्यको सपनाको सानो त्यान्द्रो समेत गुमाइन् उनले । आमाको मन न हो, आफ्ना सन्तान जस्ता भए पनि मायामा कमी हुने कुरै भएन । छोरीहरुलाई हेर्दै सबै पीडा भुल्ने कोसिस गर्थिन् । तर उनलाई एउटै विषयले सधैँ सताउँथ्यो । आफूले भेट्ने जति सबैलाई भन्थिन्, “मभन्दा अगाडि यी दुई छोरी मरे त यिनीहरुलाई सजिलो हुन्थ्यो तर पहिले म मरेँ भने यिनीहरुको के हुन्छ होला” । वास्तवमा प्रकृति यति धेरै पनि निर्दयी हुँदोरहेछ ।  उनीहरुले जिन्दगीको एक मात्र सहारा आमा गुमाए । उनीहरुको विचल्ली सुरु भयो । तर त्यो सानो झुपडीमा झिँगाबाहेक अरू कोही आउने जाने गर्दैनन् ।

गाउँमा सबैलाई चाडपर्व आउँछ । तीजमा चेलीहरु रातो सारी लगाएर त्यही बाटो हिँडछन् । दसँैमा नयाँ लत्ताकपडा लगाएर खुसी बाँड्न त्यही बाटो हिँड्छन् । तिहारले भने उनीहरुलाई विशेष छुन्छ । यो चाड हिन्दु दिदीबहिनीका लागि विशेष महत्त्व राख्छ र उनीहरु यसलाई वर्षभरि कुरिराखेका हुन्छन् । आफ्नो दाइ भाइको लामो उमेर, दीर्घ जीवनका लागि प्रार्थना गरेका हुन्छन् । मीठा मीठा भोजन तयार गरेका हुन्छन्, रमाइलो गरेका हुन्छन् । लाटी दिदीबहिनीको तीजसँगको सम्बन्ध त उनीहरुलाई थाहा छैन तर तिहारमा भने आफ्नो भाइ सम्झन्छन् । सम्झनुबाहेक उनीहरुसँग उपाय पनि त छैन ।


त्यही झुपडी छेउबाट गाडीमा जन्ती लिएर नव दुलाहा दुलही लिन आउँदा उनीहरुको मनमा लाग्दो होला । तर हाम्रो समाज उनीहरुको अनुहार, शरीर र आर्थिक अवस्था नहेरी विवाह हुँदैन । उनीहरुलाई जवानी पनि आयो, रहर पनि लाग्यो तर आफ्नो भाग्यलाई सम्झन्छन् ।

देशमा ठुलाठुला राजनीतिक परिवर्तन भए । जनताको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका ठुलाठुला आन्दोलन भए । सिंहदरबार गाउँमै पुगे । जनता सार्वभौम सम्पन्न भए । तर सार्वभौमसत्ताका मालिक ती दिदीबहिनीको जीवनी ढुङ्गेयुगझैँ भएको छ ।

पछिल्लो सात दशकमा मुलुकले सातवटा संविधान पायो तर यस्ता दिदीबहिनीले के पाए ? हाम्रो राजनीतिक सामाजिक उद्देश्य यही हो ? अझै पनि अपाङ्गता भएका नागरिकमाथि राज्य र समाजले ठूलो विभेद गरिरहेको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकारका विषयमा विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता भएका छन् । नेपालको संविधानले पनि शारीरिक अस्वास्थाता, अपाङ्गता लगायतका कुनै पनि आधारमा भेदभाव गर्न नपाइने भनेको छ । सामाजिक सांस्कृतिक दृष्टिले पछि परेका अपाङ्ग लगायतका व्यक्तिलाई निःशुल्क उच्च शिक्षालगायतको विशेष व्यवस्था गरेको छ । अपाङ्गता भएका नागरिकलाई राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको सुरक्षा गरेको छ ।

नेपालको वर्तमान संविधानले सबै वर्गका राजनीतिक प्रतिनिधित्व सुरक्षित गरेको भए पनि राजनीतिक दलहरुका कुटिल चालमा अपाङ्गता भएका नागरिकहरु परेका हुन् । राष्ट्रिय जनगणना २०६८, अनुसार नेपालमा  कुल जनसङ्ख्याको झन्डै २ प्रतिशत अर्थात् साढे पाँच लाख अपाङ्गता भएका व्यक्ति छन् । सँधैभरि अरूकै सहारामा जीवनयापन गुर्नुपर्ने अपाङ्गता भएका नागरिकले पाउनुपर्ने पूर्ण र अतिशक्त अपाङ्गता (रातो र निलो कार्ड) को परिचयपत्र नै अहिलेसम्म पाउन सकेका छैनन् । सरकारले पूर्ण अपाङ्गता भएका नागरिकहरु (रातो कार्डधारक) लाई मासिक २ हजार र अतिअशक्त अपाङ्गता भएका नागरिकहरु (नीलो कार्ड धारक) लाई मासिक ३ सय रूपैयाँको भत्ता प्रदान गर्ने गरेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको विवरणलाई आधार मान्ने हो भने करिब ४० हजार रातोकार्ड धारक पूर्ण अपाङ्गता भएका व्यक्तिले अहिले सामाजिक सुरक्षा भत्ता पाइरहेका छन् । यस्तै नीलो कार्ड लिने करिब ७५ हजारमध्ये एक चौथाइले मात्र  सरकारले दिएको भत्ता बुभछन् ।

प्रश्न यहाँ उनीहरुलाई राज्यले उपलब्ध गराएको सुविधा पनि कत्तिको सहज रूपमा उपलब्ध गराएको छ भन्ने हो । सारथि लिएर सेवा प्रदायकसम्म पुग्न सक्नेका लागि त त्यही न्यूनतम सुविधा पाउन सक्लान् तर लाटी दिदीबहिनी जस्ता सारथिविनाका अपाङ्गलाई के कसरी सुविधा दिने हो, राज्यले सोचोस् । अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक लगायतका अधिकार त परको कुरा, उनीहरुले बाँच्न पाउने अधिकार समेत पाएका छैनन् । यसरी हेर्दा यस्ता पीडितले राज्यबाट पाउने सेवासुविधा सहज रूपमा पाउनेमा शङ्का गर्न सकिन्छ । अपाङ्गता जस्ता समस्या गरिब र पिछडिएका वर्ग समुदायलाई मात्रै पर्ने होइन तर पहुँचमा हुनेहरुले उपयुक्त उपचार तथा उचित स्याहार पाएका छन् । सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी छोरी अपाङ्ग छिन् । तर ती छोरी एक हदसम्म भाग्यमानी रहिछन्, जसले सक्षम बाबुआमा पाइन् ।

त्यस्तै बीबीसीका पूर्व प्रस्तोता सुमन खरेलले आफ्नो अपाङ्ग छोरीका लागि नेपालमा उपयुक्त वातावरणसमेत नभएको भन्दै बेलायतमा नै राखेका छन् । विकसित देशमा  सपाङ्ग व्यक्तिलाई भन्दा धेरै सेवा सुविधा आपाङ्गहरुको लागि दिइने रहेछ । यता साहित्यकार झमककुमारी घिमिरे जसलाई राज्यले दिँदै आएको जीवनवृत्तिलाई बढाएर मासिक २५ हजार रूपैयाँ पुर्याएको छ । यसलाई सबैले सकारात्मक रूपमा लिइएका छन् । तर एक जनालाई उल्लेख्य अनुपातमा जीवन निर्वाह भत्ता दिँदैमा देशका सबै अपाङ्गता भएका व्यक्तिको समस्या सम्बोधन हुन्छ भनेर सोच्नु मूर्खता हो । अहिलेको महँगीको अनुपात हेर्दा पूर्ण र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई २ हजारले कति छाक खान पुग्छ ? यो सोचनीय विषय हो ।

याे वास्तविक कथा राताेपाटीबाट साभार गरिएकाे हाे ।

IME Remittance