दार्चुला घटना- भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ। भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एन्ड गर्ग’ ले गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ।

शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा सडक निर्माणका क्रममा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुंगाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो।

महरा महाकाली किनारमा नेपाली क्षेत्रमा रहेका बेला उक्त घटना भएको थियो।’भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गरेको छ,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले भने। उक्त घटनाबारे नेपाली पक्षले भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल गरेको थियो।

महाकाली किनारमा भारतले सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो। भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोट गराउँदा महराको मृत्यु भएको  हाे। उक्त विषयमा दुवै पक्षबीच छलफल हुँदा भारतीय पक्षले सो घटनाको आफू जिम्मेवार रहेको स्वीकार गरेको शाहीले बताए।

IME Remittance