किसानले मल बोकेको ट्रक रोकेर मल खोसे

रासायनिक मल बोकेर काठमाडौं आउदै गरेको ट्रकलाई धादिङको धार्केमा किसानले रोकेर मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्ग छेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् ।अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्यले सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल खोसेको सूचना पाएको बताए ।
‘सशस्त्र प्रहरीको सुरक्षाबाट कसरी मल खोसियो, हामी अनुसन्धान गर्दैछौं’ उनले भने ।शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ आउदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४\५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि कुटपिट गरेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एक महिलामाथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिन्छ ।किसानले धेरैजसो मल लगिसकेपछि प्रहरी घटना स्थलमा आएको थियो । त्यसपछि उसले मललाई नियन्त्रणमा लिएको छ ।

प्रवक्ता आचार्यका अनुसार ती ट्रकमा एउटा सामान भनेर अर्कै सामान ल्याइएको थियो ।‘एउटामा गहुँ भनेर र अर्कोमा सिमेन्ट भनेर रासायनिक मल ल्याइएको रहेछ, हिजो चेकजाँच गर्दा मल ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बलको सुरक्षामा राखिएको थियो’ उनले भने ।

सुनाैलाे नेपाल बाट

 

IME Remittance