एसइई परीक्षा सुरू,करिब ५ लाख १५ हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थी सहभागी हुँदै छन्। वैशाख ९ देखि देशभर सञ्चालन हुने परीक्षाका लागि २ हजार ७ परीक्षा केन्द्र  तोकिएका छन्।राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । एसईई परीक्षामा देशभरका ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थी सहभागी हुँदैछन्।

विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो।

बोर्डले उत्तरपुस्तिका र प्रश्नपत्र ७७ वटै जिल्लामा पुर्‍याइसकेको, केन्द्राध्यक्ष नियुक्त गरेर प्रशिक्षणको काम भइरहेको जनाएको छ।  साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए।उनले भने, ‘नयाँ शैक्षिक सत्र समयमै सुरु गर्नेगरी असारमै नतिजा प्रकाशन हुन्छ। उत्तरपुस्तिका समयमै परीक्षण भएका प्रदेशको नतिजा प्रदेशअनुसार फरकफरक समयमा पनि प्रकाशन गर्न सकिन्छ।’

एसईईमा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने पनिकाले जनाएको छ। प्राविधिक धारमा अध्ययनरत २ सय ९९ वटा विद्यालयका १४ हजार ५ सय ६४ विद्यार्थी पनि एसईई परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ।

IME Remittance