विरोधकै बीच संसदमा टेबल भयो एमसिसी

सरकारले  एमसीसी सम्झौतालाई प्रतिनिधिसभामा टेबल गरेको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध र सत्तारुढ दलहरुकै विरोधका बीच टेबल गरेकाे हाे ।आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन्।सञ्चारमन्त्री कार्कीले एमसीसी टेबल गर्दै गर्दा प्रमुख प्रतिपक्षी एमालेले  नाराबाजी गरेको थियाे। सत्तारुढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदहरु विरोधमा उत्रिएका थिए ।

एमसिसी अनुमोदनका लागि टेबल गर्नुअघि बोल्दै मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण लाइन र विभिन्न सडक खण्डको स्तरोन्नतिका लागि अमेरिकाले दिने सहयोग भएको  बताएका थिए।  यसअघि आज बिहान बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसिसी संसदमा टेबल गर्ने सहमति गरेको थियो।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकाले सिङ्गो नेपाली जनतालाई विभाजित गरेको बताए । यता राष्ट्रिय जनमोर्चा जनमोर्चाकी सांसद दुर्गा पौडेलले श्रीलङ्काबाट झैँ नेपालबाट पनि एमसीसीलाई फिर्ता पठाउनुपर्ने बताइन् । उता एमालेका अन्य सांसदहरू सभामुख र पार्टीले कारबाही गरेका १२ सांसद विरुद्ध नाराबाजी गरिरहेका बेला एमाले सांसद भीम रावलले एमसीसी परियोजना संसद्‍बाट अघि बढाएकोमा आपत्ति जनाए ।

विभिन्न राजनीतिक दल र भ्रातृ संगठनहरुले एमसीसीको विरोधमा विरोध प्रदर्शनलाई जारी राखेका छन् । काठमाडौंको माइतीघर, बबरमहल, नयाँ बानेश्वर, मीनभवन लगायतका स्थानमा एमसीसीको विरोधमा नाराबाजी र प्रदर्शन भएका हुन् । प्रदर्शनका क्रममा झडप भएको छ । प्रदशर्नकारी घाइते समेत भएका छन।

IME Remittance