भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आज आइतबार ‘मल्टी अर्गान फेलर’का कारण मंगेसकरकाे निधन भएकाे भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।
। यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो ।
केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आएपछि हिजो भेन्टिलेरमा राखेर उहाँको उपचार थालिएको थियो ।
लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिनु भएको छ । उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिनु भएको छ ।
उहाँ फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियो ।