हिमपातका कारण मङ्गलबार साँझदेखि अवरूद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
मङ्गलबार साँझदेखि लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरूद्ध हुँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौं यात्रु अलपत्रमा परेका थिए।
नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएको छ।
हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकीे नेतृत्वको टोलीले राजमार्गअन्तर्गत देहिमाडौं, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो।
मङ्गलबार साँझदेखि परेको बाक्लो हिमपातले राजमार्ग अवरूद्ध र जनजीवन प्रभावित हुन थालेकाले सडकको हिउँ हटाइएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए। यसका साथै कठपतेमा रहेको टेलिकमको टावर आसपास क्षेत्रको हिउँ पनि हटाइएको जनाइएको छ।
उनले भने, ‘सवारी दुर्घटना हुनसक्ने, विद्युत सेवा, इन्टरनेट, सञ्चार सेवा तत्काल सुचारू गर्न हिउँ हटाएका हौं।’
आपतविपतमा नेपाली सेना सधैं साथमा रहेको सन्देश दिन हामीले पछिल्लो समय सामाजिक कार्य र विपतमा परेकाको उद्धारलगायतका काम गरिरहेका उनको भनाइ छ।
यस्तै भारी हिमपातका कारण अवरूद्ध बनेको दशरथचन्द र जयपृथ्वी राजमार्ग सुचारू भएको छ।
खोडपे, अनारखोली, ढोल्यामोड लगायतका क्षेत्रमा जमेको हिउँका कारण बुधबार बिहानैदेखि अवरूद्ध बनेका राजमार्ग दिउँसोपछि सुचारू भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्का बताए।
यसैबीच वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन्। यो वर्ष समयमै हिउँ परेकाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन्। रासस