काठमाडौं ४ असोज। नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा ओमानमाथि ७ विकेटको जित हासिल गरेको छ ।
घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।
१६ रन जोड्दा कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालका लागि कप्तान ज्ञानेन्द्र र आशिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझदोरी गरे । शेख व्यक्तिगत ४० रनमा आउट भए ।
रोहितकुमार पौडेल मात्र ६ रनमा आउट भए । ज्ञानेन्द्र ५२ र शरद भेषावकर १ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि ओमानका ब्याट्सम्यानहरुले ठूलो साझेदारी गर्न सकेनन् ।