जुँगे शिक्षक


(कथा)

जुँगे शिक्षक
– गिरी प्रसाद बुढा
बाँसवारी र चिहानघारी त्यो भेगका सबैभन्दा आकर्षक र रमाइला ठाउँहरु हुन् । अहिले पनि चिहानघारीको पाखाभरि राताराता गुराँसका फूलहरु ढकमक्क फुलेका छन् । नजिकै कलकल र छङछङ गर्दै खस्ने झरनाको पवित्र पानी प्रत्येक रुखका पातहरु हल्लाउँदै झरिरहेकाे छ । सिरिसिरी चलिरहेको चिसो बतास, चराचुरुङ्गीहरुको चिर्बिर चिर्बिर र फ¥याकफुरुक अनि त्यहाँको मनोरम दुबेचौर, जहाँ आज स्कुलका गुरु, गुरुआमा र नानीबाबुहरु सबै मिलेर वनभोज मनाइरहेका छन् ।
“हर्रे हो … हुर्रे हो…. ।” एक–दुई मिनेटको फरकमा नजिकैको झाडीबाट एउटा अधबैँसे गोठालोको धोद्रे आवाज आइरहेको छ ।
“हेर त रमा त्यो जुँगेले त गाईवस्तु पो चराउन थालेछ… ।” त्यो जुँगा पालेको अधबैँसे गोठालोको उपहासमा ती नानीबाबुहरु हाहा र हिँहीँ को हाँसो हाँसिरहेका छन् । जे होस्, बाँसबारी र चिहानघारीको वनमा आज झन्ै रमाइलो छाएको छ ।
यिनै बाँसबारी र चिहानघारीका यथार्थ दृश्यहरु रमेशको आँखामा जन्मैदेखि प्रतिबिम्बित थिए । किनकि ऊ दुई÷तीन वर्षको हुँदासम्म त उसको बुबाले उसलाई पिठ्युमै बोकेर कहिले चिहानघारीको सुख्खा पाखामा त कहिले बाँसवारीको हरियाली घाँसमा गाईवस्तुहरु चराएको थियो । कहिले ऊ आफ्नो बाबुले टिपिदिएको लालीगुराँस पाएर रुँदारुँदै पनि हाँसेको थियो भने कहिले ऊ कालो बादलको झरी–असिनाले कुटिएर हाँस्दाहाँस्दै पनि रोएको थियो । यति मात्र होइन, गोठमा उसले प्रायःजसो गाईबाख्राको ताजा र बासनादार दूध पिएर साँझ–बिहान आफ्नो बाबुसँग सन्तोषको डकार छोड्दथ्यो । अनि सेती र पाङ्ग्रीहरुसँग गोठ घुमाएर उफ्रँदै आफ्नो बाबुको अनुकरणमा भन्ने गर्दथ्यो– “हुल्ले हो”, “हुल्ले हो ।”
जब ऊ पाँच वर्षको पुग्दै थियो, तब उसले गाउँबाट ऊसँगैका केटाकेटीहरु झोला बोकेर स्कुल गएको देख्न थाल्यो । गाउँले केटाकेटीहरुले नयाँ खेल खेलेको, नयाँ किताब फेरेको, नयाँ कुरा गरेको यी सबथोक क्रमशः उसले देख्दै गयो र उसलाई पनि यस्तै गर्न पाए हुन्थ्यो भन्ने चाहना जागेर आयो ।
“आमा ! म पनि स्कुल जाने… ।” उसको यही शब्दले उसका आमाबाबुलाई दिनदिनै पिरोल्न थाल्यो ।
“गोठ जाने बेलामा केको स्कुल… ।” पुरानो सोचाइको झर्कोलाग्दो जवाफ ओकल्थे उसका बाबुआमाले ।
“नाइँ… म स्कुल जाने !” ऊ ¥याल र सिँगान चुहाउँदै र भुइँमा खुट्टा उधिन्दै रुन्थ्यो ।
“सर ! यसको नाम लेख्नु प¥यो ।” उसको ढिपीबाट पराजित भएर एकदिन उसको बाबुले उसलाई स्कुल भर्ना ग¥यो ।
“यसको नाम के हो ?” स्कुलको हेडमास्टर रामलालले सोध्यो ।
“रमेश !” भर्ना शुल्कको लागि गोजीबाट पैसा निकाल्दै उसको बाबुले छोराको नाम बतायो ।
टेबुलमाथिको ग्लोब, किताब, कलमदानी, टेबुल घडी, भित्तामा झुण्ड्याइएका विभिन्न वस्तु तथा नक्सा, विभिन्न समयमा देखा परेका राष्ट्रिय विभूतिका रङ्गिन फोटा, दराज, दराजमाथि राखिएका बल, चक, डस्टर आदि विद्यालय सामग्री देखेर रमेश मख्ख परेको थियो ।
“तपाईले छोरालाई पढाउने राम्रो विचार गर्नु भएछ । अब यसलाई स्कुल कहिल्यै नछुटाउनु होला ।” हेडमास्टर रामलालले रमेशको बाबुलाई सम्झाउँदै थियो ।
“यसले पनि स्कुल पढ्ने रे !” बिरालोको जस्तै आँखा देखाउँदै एउटा गहुँगोरो खालको जुँगे शिक्षक अफिसमा प्रवेश गर्दै भन्यो ।
“यो फुच्चेलाई त बरु चिहानघारी र बाँसबारीहरुमा नै गोठालो बस्न सुहाउँथ्यो ।” त्यो जुँगे शिक्षकले जुँगा हल्लाउँदै कुरा थपेर हाँस्यो ।
“स्कुल जान्छु भर्ना गरिदेऊ भनेर कर ग¥यो, अनि भर्ना गर्न ल्याएँ !” रमेशका बाबुले गम्भीर मुद्रामा जवाफ दियो ।
“कति वर्षको भइस् ए फुच्चे ?” रमेशको चिउँडोलाई दुई औँलाले आकाशतिर धकेल्दै त्यो जुँगे शिक्षकले उपहासपूर्वक सोध्यो । रमेशले जुँगे शिक्षकहरुलाई त्रसित आँखाले हेर्दै “थाहा छैन”को टाउको हल्लायो । एकछिनसम्म त्यो जुँगे शिक्षक र रमेशका आँखा एकतमासले जुधिरहे, जुन जुधाइमा दुई परस्पर विरोधी चिजहरुको अन्तर्विरोध प्रष्ट प्रतिविम्बित थियो । यसरी यस दिनदेखि रमेशको स्कुले जीवनले सङ्घर्षको खुड्किलो पार गर्दै अगाडि बढ्यो ।
“ल भन त, तीनमा पाँच जोड्दा कति हुन्छ ?” त्यही जुँगे शिक्षक कालोपाटीको छेउँमा उभिएर पाठशालामा शिक्षा लिन गएका साना साना नानीबाबुहरुलाई पालैपालो उठाउँदै प्रश्न गर्दथ्यो ।
“आठ, छ, सात, नौ…. ।” त्यो ती साना साना नानीबाबुहरुले आफ्ना कलिला औँलाहरु भाँच्दै पालैपालो आफ्ना दूधे ओँठहरु चलाउँदै जान्थे ।
“आठ, सात ल खा नौ… ।” त्यो जुँगे शिक्षकले गुलाफका फूल जस्ता कमला ती गालाहरुमा क्रमशः विषालु हत्केला बजार्दै जान्थ्यो । ती साना नानीबाबुहरु हत्केलाको कठोर चोटले रन्थनिँदै र आँसु चुहाउँदै बेञ्चमा बस्दथे ।
त्यो जुँगे शिक्षक अत्यन्तै बद्मास र मुर्ख थियो । ऊ त्यस गाउँको नामी फटाहा र सामन्तको छोरा थियो । त्यसैले त्यो जुँगे शिक्षकको रवाफले सारा गाउँ थर्कमान थियो । साथै उसको बाबुको पहुँच जिल्लाका सबै सबै अड्डा अदालत र ठुलाठालुसम्म पनि पुगेको हुन्थ्यो । परिणामस्वरूप त्यो जुँगे शिक्षकले गाउँका कुनै पनि अभिभावकलाई टेर्दैनथ्यो । उल्टै कसैले केही भन्यो भने उक्त व्यक्तिलाई बाघले पाठो झम्टे झैँ सिधै झम्टन पुग्थ्यो । त्यसैले “मुर्ख देखी दैव डराउँछ” भने झैँ उसलाई कसैले पनि केही भन्ने आँट गर्न सक्दैनथे ।
त्यो जुँगे शिक्षकले पढाउने बेला नानीबाबुहरु ज्ञानको होइन, यातनाको कोठरीमा फसकेको अनुभूति गर्दथे । त्यो जुँगे शिक्षक कक्षाकोठामा प्रवेश गर्दा ऊ शिक्षक होइन, एउटा निष्ठुरी दुष्ट प्रवेश गरेको जस्तो नानीबाबुहरुलाई लाग्दथ्यो । त्यसैले त्यो शिक्षकले पढाएको नानीबाबुहरुले केही पनि बुझ्दैनथे र उनीहरु झन् झन् निराश र कमजोर हुँदै जान्थे ।
एकदिन ती साना नानीबाबुहरुमध्ये रमेश भन्ने सानो बाबुले दुईको दुनोट सरसर्ती भन्न नसकेकोमा त्यो जुँगे शिक्षकको नराम्रो कुटाइ खानु प¥यो ।
“यो जुँगे हाम्रो स्कुलमा पढाउन नआए हुन्थ्यो… । अरू सरहरु कति राम्रा छन् । त्यसमा पनि रामलाल सर त झन् असाध्यै राम्रो हुनु हुन्छ तर यो जुँगे …? कुटाइले घायल भएको रमेशले मध्यान्हमा उसका केही साथीहरुसँग मनका कुरा ग¥यो ।
“बुबा ! तपाईलाई रमेशले जुँगे, नराम्रो, हाम्रो स्कुलमा नआए हुन्थ्यो भन्यो ….।” रमेशको कुरा सुटुक्क चोरेर कालीले आफ्नो बुबासँग चुक्ली लाएको रमेशलाई थाहा नै भएन ।
“ल खा ! गु पुछ्न नजान्ने नाथेले पो मलाई स्कुल नआए हुन्थ्यो भन्ने ! ल खा, ल खा … ।” जुँगे शिक्षकले कानबाट तानेर रमेशलाई एकोहोरो कुटिरह्यो, कुटिरह्यो । रमेश ऐया बाबा भन्दै कर्कश स्वरले रोयो, करायो ।
“नगर्नुस् सर यस्ता बच्चालाई कुटेर तपाईं के पाउनु हुन्छ … ?” रामलाल लगायत अरू शिक्षकले रमेशलाई जुँगेको पञ्जाबाट छुटाए ।
“भैगो अब रुन छोडी दे ।” हेडमास्टर रामलाले रमेशलाई सम्झाएर घर पठायो ।
“अब म स्कुल जान्न… ।” भोलिपल्ट स्कुल जाने समयमा रमेशले आफ्ना आमाबाबुहरुसँग निन्याउरो मुख लगाएर भन्यो ।
“किन ?” उसका आमाबाबुले उसलाई कारण सोधे ।
“स्कुलमा पढ्ने त राम्रो हुँदैन । कुटाइ खानु पर्छ । !! त्यस्तो स्कुलमा को जान्छ ?” रमेशले कारण बतायो । उसको मानसपटलमा उही जुँगे शिक्षकको क्रोधित अनुहार घुमिरहेको थियो ।
“के त्यही जुँगेले कुट्यो ?” उसको बाबुले त्यो जुँगे शिक्षकप्रति घृणा व्यक्त गर्दै छोरालाई सोध्यो ।
“हजुर, त्यै चोरले कुट्यो !” रमेशले जवाफ दिँदै टाउको हल्लायो ।
“त्यो जुँगेले कुट्दैमा के भो त ? रामलाल सरले स्कुल नछोडाउनु भन्नु भएको छ । त्यसैले तँ स्कुल जानु पर्छ ।” उसको बाबुले रमेशलाई झिनोखाले मनोभावमा सम्झायो ।
“हो त नि लाटा । तँ स्कुल नगएर के गर्छस् त ?” उसको टाउको मुसारिदिँदै उसकी आमाले पनि केही शब्द बोली ।
“नाइँ, म स्कुल जाँदै जान्न, बरु, बुबासँग चिहानघारी र बाँसबारीका वनहरुमा गाईबाख्रा चराउँछु… गोठ जान्छु… ।” रमेशले रुँदै भन्न थाल्यो । त्यो जुँगे शिक्षकले रमेशको बुबालाई पनि एकचोटी नराम्ररी कुटेको थियो । त्यसैले पनि आफ्नो छोरालाई त्यो स्कुलमा पठाएर जुँगेको हात कुटाइ खुवाउनुभन्दा त गाईगोठालो नै बनाउन बेस ठान्यो ।
“भैगो नरो अब । भोलिदेखि तँलाई गोठ नै लैजाउँला !” रमेशको बुबाले आफ्नो अचेतस्तरको सोचाइमा रमेशलाई खुशी पा¥यो ।
“गोठमा दूध खाने, पाङ्ग्री र सेतीसँग खेल्ने, त्यहाँ त पिटाइ पनि खानु पर्दैन । आहा ! क्या मज्जा… ।” रमेश चाहिँ आँसु पुछ्दै मुस्कुरायो ।
“हुर्रे हो… हुर्रे हो … ।” वनकी चरी वनमै रमाउँछ भने झैँ रमेशले पुनः आफ्नै बुबासँग बाँसबारी र चिहानघारीका वनहरुमा गाईवस्तुहरु चराउन थाल्यो ।
पढ्ने लेख्ने बेला आफ्नो बुबासँग गोठालो बन्न लागेको रमेशको स्थिति देखेर रामलाललाई कत्ति पनि चित्त बुझेन । त्यसैले रामलाल आफै रमेश भएको ठाउँतिर हिड्यो ।
“नमस्कार सर !” गाईवस्तु चराउने वनमा आफ्नो मन पर्ने शिक्षकलाई एक्कासी देखेर रमेशले दुई हात जोड्यो ।
“तिमी स्कुल नगा’को रमेश ?” नमस्कार फर्काउँदै रामलालले सोध्यो ।
“त्यसै सर !” रमेशले निराशपूर्वक जवाफ दियो ।
“हुर्रे हो, हुर्रे हो ।” अलि पर रमेशको बुबाले गाईवस्तुलाई हकार्दै थियो ।
“ओ हो दाइ ! रमेशलाई स्कुल छोडाउने विचार गर्नु भो कि क्या हो ?” गाईवस्तु हकार्दै गरेको रमेशको बाबुलाई रामलालले वरैबाट बोलायो ।
“ओ हो रामलाल सर तपाई ! हुर्रे हो हुर्रे हो ।” गाईवस्तु फर्काउँदै बोल्यो ।
“यसलाई स्कुल छोडाउन त मन थिएन तर उसले केही गरी यो स्कुल जान्न भन्छ… ।” गाईवस्तु फर्काएर रमेशको बुबाले सबै कुरा बतायो ।
“ठिकै त छ नि । यो स्कुलमा जान्न नै भन्छ भने पनि उसलाई अर्को स्कुलमा भए पनि पढाउनु पर्छ र ठुलो मान्छे बनाउनु पर्छ … ।” रामलालले रमेशको बाबुलाई सक्दो सम्झायो । साथै रमेशलाई पनि पढ्नु पर्छ भनेर मायापूर्वक प्रेरणा दियो ।
यसरी हेडमास्टर रामलालको सल्लाह र सहयोग अनुसार रमेशले पुनः अर्को स्कुलमा पढ्न थाल्यो ।
“यो बद्मास रमेशे, त्यो स्कुलमा गएर पढ्न सके त मेरो कानै काटिदिउँला… ।” रमेश अर्को स्कुलमा पढ्न गएको थाहा पाएपछि त्यो जुँगे शिक्षकले यही शब्द भन्यो, जुन शब्द जस्ताको तस्तै कसैले रमेशलाई सुनाई दियो । त्यो जुँगे शिक्षकले आफूमाथि बोलेको यस्तो शब्दको खबरले रमेशको मनमा केही गरेर देखाउने इख जाग्यो ।
“त्यो जुँगेले यस्तै भन्छ भने त्योसँग बदला लिन मैले मिहिनेत गर्नै पर्छ… ।” मनमा यही सोचेर रमेश कठोर परिश्रममा लाग्यो । केही समयपछि गाउँको स्कुलमा एक योग्य शिक्षकको रूपमा रमेश देखा प¥यो । ऊ आशालाग्दो, योग्य युवक भइसकेको थियो तर त्यो जुँगे शिक्षक भने उही पुरानै बानीव्यहोरासँग बाँचेको थियो । साना नानीबाबुहरुलाई कुट्ने, पिट्ने र गाउँले अभिभावकहरुलाई दुःख दिने, महिलाहरुप्रति कूदृष्टि राख्ने जस्ता गलत प्रकृतिको त्यो जुँगे शिक्षक अझै पनि त्यो स्कुलमा काँडा जस्तै गडेको थियो । विद्यालय आए पनि, नआए पनि आफ्नो शिक्षक, स्टाफ र सञ्चालक समिति सबैलाई थर्काएर हाजिरी गरिहाल्थ्यो र अरू शिक्षक सरह गाउँले अभिभावक, विद्यार्थी नानीबाबुहरु सबैको पहिलेदेखि नै एउटै चाहना थियो, त्यो जुँगे शिक्षकलाई स्कुलबाट हटाउने । तर पनि त्यो जुँगे शिक्षक बुबाको पहुँच गाउँदेखि जिल्लासम्म व्याप्त थियो । त्यसैले उसलाई हटाउने हिम्मत कसैमा थिए । जब रमेश त्यो विद्यालयमा शिक्षक भयो, तब उसको योजना अनुसार त्यहाँ छुट्टै वातावरणको सिर्जना हुँदै गयो ।
“यी केटाकेटीहरु मेरो कक्षा किन छोड्छन्…. ?” आफ्नो पढाउने घण्टीमा सबै नानीबाबुहरुले कक्षाकोठा खाली पार्न थालेपछि जुँगे शिक्षक सशङ्कित हुन थाल्यो ।
“सरले पढाएको बुझ्दैनौँ, उहाँको ठाउँमा कि रमेश सर कि हेडसरले पढाउनु पर्छ ।” साना नानीबाबुहरुले निर्भिकतापूर्वक भन्न थाले । रिसले आगो भएको जुँगे शिक्षकले नानीबाबुहरुलाई झन् झन् पिट्न थाल्यो ।
“यसरी विद्यार्थी पिट्नु हुँदैन सर । यसले झन् विद्यार्थीमा नकारात्मक असर पर्न जान्छ ।” विद्यार्थीहरुसँग गरेको गलत व्यवहारबारे सम्झाउँदै जुँगे शिक्षकलाई रमेशले भन्यो ।
“तँ बढी जान्ने न हो रमेशे । तँ भन्दा म धेरै अनुभवी शिक्षक हुँ बुझिस् ?” जुँगे शिक्षकले रमेशसँग पनि जोरी खोज्यो ।
“यस्ता निच खाले अनुभवी शिक्षकको यो स्कुलमा आवश्यकता छैन ।” भनाभनको क्रम चल्दै जाँदा रमेशले पनि जुँगेलाई असह्य खाले शब्दवाण प्रहार ग¥यो । अब जुँगे शिक्षकलाई आफ्नो रिस थामिनसक्नु भो । ऊ रमेशलाई झम्टन उठ्यो । वरिपरि नानीबाबुहरु विभिन्न मुद्रामा उभिएका थिए । जुँगे शिक्षकले आफ्नो सरलाई झम्टन लागेको देखेर कमिलाहरु शिकारमा जाइलागे जस्तै सबै नानीबाबुहरु जुँगे शिक्षकको शरीरभरि झुण्डिए । कसैले धुलो छर्दै थिए, कसैले उसको टाउकोमा लाठी र ढुङ्गा बजार्दै थिए । रामलाल र रमेशले जुँगे शिक्षकलाई नानीबाबुहरुबाट छुटाउने प्रयास गरे तर नानीबाबुहरुले जुँगे शिक्षकलाई एकोहोरो प्रहार गरिरहे । अब त्यो जुँगे शिक्षकले माफी माग्नु वाहेक अर्को उपाय थिएन ।
“अब म यस्तो कहिल्यै गर्ने छैन ।” जुँगे शिक्षकले प्रायश्चित्त गर्दै थियो ।
“तँलाई अझै कारवाही गर्न बाँकी छ ।” नानीबाबुहरु आक्रोशित भएर कराउँदै थिए ।
“भो अब छोडिदेऊ । सरले माफी मागिसक्नु भो नि !” रामलाल र रमेशले नानीबाबुहरुलाई सम्झाउँदै थिए ।
“नाइँ हामी यसलाई छोड्दैनौँ ।” नानीबाबुहरुले जुँगे शिक्षकलाई कालोमोसो र जुत्ताको माला पहिराएर स्कुल वरिपरि घुमाउँदै थिए ।
स्कुलमा यस्तो घटना घटेको दिनदेखि जुँगे शिक्षक स्कुलमा फेरि कहिल्यै देखा परेन । उसले त्यो स्कुल छाडेको दिनदेखि त्यो स्कुलमा पिलोको पिप गए जस्तै सबैलाई सञ्चो महशुस भइरहेको थियो, तैपनि गाउँदेखि जिल्लासम्म फैलिएको उसको बुबाको रवाफले गर्दा जुँगेले केही गर्छ कि भनी सबै सशङ्कित थिए ।
एक दिन शनिवारको दिन । त्यो विद्यालयबाट वनभोज खाने योजना अनुसार रमेश र रामलालले सबै नानीबाबुहरुलाई चिहानघारी र बाँसबारीको वनमा लगेर रमाइलो गर्दै थिए । जहाँ दुई÷तीन वर्षको हुञ्जेलसम्म रमेशले आफ्नो बाबुसँग वस्तुभाउ चराएको थियो र लालीगुराँस खेलेर हाँसेको थियो । साउनेझरीमा भिजेर रोएको थियो । अहिले पनि चिहानघारीको पाखामा गुराँस फुलेको थियो । बाँसबारीको चौर हरियो र मनोरम देखिन्थ्यो । जहाँ एउटा अधबैँसे जुँगे गोठालो हुर्रे हो, हुर्रे हो… गर्दै गाईवस्तुको चरनबाट वनभोजमा गएका स्कुलका गुरु, गुरुआमा र नानीबाबुहरुको हल्लीखल्लीलाई सङ्कोचले हेरिरहेको छ ।
“तपाई अचेल गोठालो… ?” रमेशले अचम्भित मुद्रामा जुँगे गोठालोलाई सोध्यो ।
“हो त नि । समय सधैँ एकनाशको नहुँदो रहेछ । यो त हर सेकेन्ड परिवर्तन भइरहने रहेछ । हुर्रे हो, हुर्रे हो …।” माटोको डल्लाले नजिकैका गाईवस्तु घुमाउँदै गोठालोले भन्यो ।
“मलाई त्यसबेला गोठालो बन्न सुहाउने भनेर जुन कुरा भनेको थिइस् तर त्यो ठाउँमा त तँ आफै पो सुहाउने भएछस् !” रमेशले मनमनै भन्यो । यसबेला रमेशको मनले जुँगे शिक्षकसँग बदलाको स्वाद चाखिरहेको थियो भने जुँगे शिक्षकको मनमा उसको कालो कर्तुतले लज्जित भइरहेको थियो । साथै ऊ त्यो ठाउँमा नानीबाबुहरुको उपहासको पात्र बन्दै थियो । किनकि त्यहाँको दुबेचौरबाट सिर्सिर चल्ने बतासले यही आवाजलाई यता र उति पार्दै थियो, “ऊ हेर त रमा त्यो जुँगे…. । हा हा हा, हि हि हि ….।”™

IME Remittance