सडकको कथा, कविता : निलिमा पुन

निलिमा पुन

यो सडकमा दिनहुँ कति
सपनाहरु दौडिन्छन् होला
कति आशाहरु पलाउछन् होला
कति कल्पनाहरु कल्पिन्छन् होला
कति इच्छाहरु फुर्छन् होला
पाइला पाइलामा मनका तरंगले
कति तागत भर्छ होला
कोही खुशी हुदै दगुर्छन् होला
कोही दुखी हुदै तडपिडछन् होला
कहिलेकाँही भावना शून्य भएर
पैतालाहरु लत्रिन्छन् पनि होला
लामो सुस्केरा हाल्दै मान्छेहरु
लक्ष्यतिरै लम्किरहन्छन् होला

यही सडक कहिले राता झण्डाले छोपिन्छ
कहिले टायर बलेर मैलिन्छ
कहिले अश्रु ग्यासले भरिन्छ
कहिले लाठीचार्जले रक्ताम्य बन्छ
कहिले एम्बुलेन्सले बाटो कब्जा गर्दै दगुर्छ
कहिले बिजयको नारा घन्किन्छ
कहिले सुनसान खाली हुन्छ
यस्तै माहोलमा पनि मान्छेहरु
सपना बोकेरै हिडिरहन्छन्

यही सडक कहिले सजिलो देखिन्छ
कहिले कहालीलाग्दो बन्छ
कहिले सहजै तरिन्छ
कहिले अलमल हुन्छ
यही सडक कहिले उज्यालो देखिन्छ
कहिले अँन्धकार लाग्छ
यस्तै परिवेशमा पनि मान्छेहरु
सम्भावना खोज्दै हिडिरहन्छन्

यही सडकमा धेरै खुट्किलाहरु पार गर्नुपर्छ
कहिले वेगिदै,कहिले सुस्तरी
यात्राको गति तय गर्नुपर्छ
कहिले आँधीहुरीभित्र,
कहिले खडेरीको चर्को घाम खप्नुपर्छ
यस्तै अवस्थामा पनि मान्छेहरु
गन्तव्य तर्फ अघि बढिरहन्छन्

यही सडकले मान्छेको जिन्दगी फेरिदिन्छ
पदचापहरुलाई उथलपुथल बनाइदिन्छ
सडकबाट झुपडी सम्म
झुपडीबाट महल सम्म
विमानबाट गाडी सम्म
गाडीबाट पैदलयात्रीसम्म
सायद यही सडक नहुदो हो त
व्यवस्था फेरिने थिएन
मान्छेको अवस्था बद्लिने थिएन होला
यस्तै छ सडकको कथा।

IME Remittance