अब म कोठा सर्नुपर्छ !

नाकारा


पश्चिम फर्केको तीनतले घरको बीचकोठामा
म बुनिरहेकोछु जीवनका सुईटरहरु
म तुनिरहेकोछु भविष्यका सपनाहरु
तर, ती सबै सिद्धिन पाएनन् ,
हुर्किन पाएनन्
अब मलाई त्यहाँ बस्नु छैन
र सुत्नु छैन दक्षिण फर्किएको खाटमाथि

अप्ठ्यारो गरि ढोकाबाट छिर्नुपर्ने त्यो कोठामा
न त कहिल्यै घाम लाग्छ
न त कहिल्यै जुन झुल्किन्छ
कृतिम प्रकाशको उज्यालो मुनि बसेर
दीर्घकालिन अन्धकार बाँचिरहेकोछ मेरो आँखाले
चिसो घुम्टो ओढेका भित्ताहरुले डामेर
अङ्ग प्रत्यङ्ग सबै डल्लिने सेपिलो सर्दि पिरिहेकोछ मेरो शरीरले,

र, सिनो झैँ डुङ्डुङ्ती गनाईरहने
अहम्ता बाँचेका भुईँ र भित्ताहरु
मुर्दाघरको शँख फुकिरहने
पात्ले काठका सिलिङ्गहरु
र नलिखुट्टा बजाउँदै टिनका छानामा दौडिने
ओसिला मसानहरु
र तिनीहरुलाई सहयोग गर्न तल्लिन पल्लो कोठामा बस्ने
इर्ष्या पालेका जुरेचिलहरु
जो आफैले टिपिरहेकाछन टपकटपक
आफ्नै सन्तानका स्थायी टुसाहरु
ती सबलाई छामिरहेकाछन मेरा हातहरुले
स्पर्श गरिरहेकाछन मेरा सुईटरहरुले
प्रष्ट देखिरहेकाछन मेरा सपनाहरुले !

मलाई सकस छ त्यहाँ बस्न । हो खुब सकस भैरहेकोछ मलाइ त्यहाँ !

त्यहि घरको तल्लो कोठामा
हरक्षण, पुर्खाको विरासत खाईरहेकोछ तप्केनीको सेपले
र पिताको आशिर्वाद काप्चिरहेकोछ पीडाले,
कोरैकोरको भयाभह छ त्यहाँ
मानवता खरानि भएको छ त्यहाँ
लहलह छ स्वार्थ त्यहाँ
डाह उम्रिएर आँगनभरि
अपराधका लेऊ हुर्किएर सिकुवाभरि
शान्ति र न्याय भाग्दैछ जस्केलाबाट त्यहाँ
समृद्दि तड्पिदै छ खोपिमा त्यहाँ
र त, मलाई खुब सकस छ बस्न त्यहाँ !

मैले त्यो कोठामा ,
लेनिनका खेतहरु सिँचाई गर्न सकिनँ
र सकिनँ मलजल गर्न
चे र काका हो का बारिहरु,
म प्रत्येकक् पटक ब्युझिँदा देख्न थालेँ
चेचेन आतँकले खाएको यल्तसिनको त्रसित अनुहार
र आफनै सन्तानका जिउँदा लास
होनहार पाखुराहरुका भयभित कंकाल,
र बन्दै गैरहेका आफनै शरीरका कँगाल रुप
र च्यातिन थालेका मेरा सूईटर र सपनाहरु ।

अब, म बस्नु छैन त्यो घरको कोठामा
मलाई खुब सकस छ बस्न त्यहाँ ।

म आतुर छु ,
अब, आफनो बुताले भ्याएसम्म पखेटा फट्याएर
माथिमाथि उड्न
आँखाले देखेसम्म टाढाटाढा शान्त र सुन्दर क्षितिजको
आनन्द हेर्न
जिवनलाई प्रष्ट साँध लगाएर
चाहेजति सहज सास फेर्न
हो म आतुर छु ,
शाङ्कुमर्‍याङको शिखरमा विजयको नयाँ लाल झण्डा गाड्न
बोलिभियाको रुखको टुप्पोमा बसेर
वाशिङ्गटनको शिकार गर्न
साँच्चै आतुर छ ईच्छाशक्तिको मेरो ताप
माओ र क्रुप्सकायहरु जन्माउन
त्यसैले त अब म, कोठा सर्नु पर्छ ;
त्यो घर ध्वस्त हुनु अगावै
मेरा सुईटर र सपनाहरु पुरिन अगावै ।

IME Remittance