– कृष्ण सेन ‘इच्छुक’
अलिकति सफा र ताजा हिमाली सौन्दर्यको मिठो हाँसो र,
अलिकति गरिब माइतीको पुरानो दाइजोले मानौँ,
प्रकृतिको सुन्दर पसल हो, नेपाल
सजाएर चियाको किटली जस्तै भक्भकी उम्ली रहेको दुःखी मन
अनि रक्सीका बोतलहरुसित रित्ती रहेको बैँशालु यौवनलाई
विवशताका भोका थाली
र कचौराहरुमा पस्केर
सन्तप्त मुस्कानहरुले उदासी बाँडी रहिछ कान्छी
भट्टी थापी रहिछ ।
यात्रीहरु आई रहेछन् र गई रहेछन्
परदेशीहरु गई रहेछन् र आई रहेछन्
कोही उसको रुपको नशा पिई रहेछन्
कोही उसको जीवनको दुर्दशा पिई रहेछन्
विदीर्ण मन, अनि जीर्ण तनलाई जोरेर छट्पटीको तातो भुङ्ग्रोभित्र
खिन्न सुस्केराहरुमा पीडाका धुँवाहरु फाल्दै
दिनरात क्लेश काटी रहिछ कान्छी
भट्टी थापी रहिछ ।
भट्टीमा भात पाकी रहेछ भात सँगसँगै कान्छीको लाज पाकी रहेछ
भट्टीमा मासु पाकी रहेछ मासु सँगसँगै कान्छीको आँसु पाकी रहेछ
भट्टीमा रक्सी बिकी रहेछ रक्सी सँगसँगै कान्छीको श्री बिकी रहेछ
नेपाली छोरी ऊ हिमालकी गोरी ऊ विदेशका कोठीमा बेचिएकी अबोध चेली झैँ
गहबाट बहका नदीहरु झारी रहिछ, कान्छी
भट्टी थापी रहिछ ।
उसका आँसुहरु मानौँ, खुसी खोसिएका कोशीका अशान्त छालहरु हुन्
उसका रहरहरु मानौँ, बन्धकी परेका गण्डकीका बेचैन लहरहरु हुन्
र ऊ, मानौँ गरिब घरकी सुन्दर कन्या जस्तै
घरिघरि ठालुका कामुक आँखाले डामिएकी कर्णाली हो जो,
आफूदेखि धेरै टाढा सुदूर छाउनी र पराइका मोर्चाहरुमा
बेखबर प्रिय पति र मायालु बन्धुहरुलाई सम्झेर स्नेहपूर्ण भाकामा डाकी रहिछ
कान्छी भट्टी थापी रहिछ ।