(कविता ) ।
देबेन्द्र बस्याल
म जेलमा छु
मेरो मुखमा चुक्कुल ठोकिएको छ
हामतमा हत्कडी लगाइएको छ
म अन्धकारमय कोठामा ढलेकोछु
म बोल्न खोज्छु तर सक्दिन
हात चलाउन खोज्छु, सक्दिन
सुदुर पूर्वको उषा हेर्न खोज्छु, सक्दिन
म व्यर्थै मूडो जस्तै लडेको छु,
म दुष्टको फन्दामा होइन
भिषण लडाईको मैदानमा छैन
दन्कीरहेको आगोको बीचमा पनि हैन
सधैं जस्तै जस्ताकाे तस्तै म यहीँ छु,
बन्धक छु ।
जस्ले बोल्न र लेख्न सिकायो
तर ,झुठाे बाेल्न र लेख्न मात्र सिकायाे ।
बैरीको बिरुद्ध लड्ने गफ सिकायो
अाफु बैरीसँग हात फैलायाे ,
फिलिङ्गोसंग खेल्नु पर्छ भन्याे
तर अाफु सधै सितलतामा रमायाे ।
म आज उसैको जेलमा छु,
अब म
आँखाभरी टिलपिल आँसु लिएर हैन
अदम्य साहस बटुलेर
गरिबको मुक्तिको सपना साँचेर
कालोलाई कालो र सेतोलाई सेतो भन्न
छातिमा साहसकाे सगरमाथा बोकेर हिड्नेछु
म हार्ने छैन
जितेर आउनेछु
सामन्तका जेलनेल फोडेर
दलालहरुको सत्यनाश गर्दै
एकाविहानै क्रान्तिको गीत गाउदै
काँधमा बन्दुक बोकेर अाउनेछु ,
आउनेछु नाच्दै, गाउँदै र बजाउँदै ।