-सुनील कुमार पौड्याल
तेजसँग आकाश वा आकाशसँग तेजको सद्भाव हरेक चेतनशील प्राणीका मगजले साक्षात्कार गरेको हुन्छ । यिनीवीच का प्रेम, सहयोग र श्रद्धाले हरपल आफन्तको भाव दर्शाइरहेको हुन्छ । न तेज आकाश को खिसी वा दूरावस्था को कल्पना गर्छ न आकाश नै तेजको । चेतनशील प्राणीका परिमित मस्तिष्क कुहिरो, धुवां, बादल वा तुवांलोको कुटिलताबाट तिनलाई कुनैबेला विलिन भएको ठान्न सक्छ तर न ती दुई विलिन हुन्छन न केहीवेर मात्र पनि अदृष्य हुन्छन ।
प्राणी र जमीन वीचको सद्भाव , प्रेम, सहयोग तथा श्रद्धाले पनि हरपल आफन्तको साइनो प्रदर्शन गरिरहेको हुन्छ । त्यहाँ न कसैले अर्कोलाई नोक्सान पु(याउने, कसैलाई होच्याउने, कुनैबेला अर्काको दूरावस्थाको आश गर्दै खुच्चिङ्ग भन्ने वा आनन्द मान्ने मौका पर्खिरहेकोहुन्छ । त्यहाँ कतै कुटिलताको आभाष पाईदैन । यस्तैलाई भन्छन आफन्तको साइनो ।
कोही भन्छन सबभन्दा नजिकको आफन्त रगतको साइनोले निर्धारण गर्छ । कोही छिमेकी, सहपाठी, सहकर्मी वा सहयोगी पनि आफन्त हुन् भन्छन । मलाई लाग्छ आफन्त यी कुराहरुले निर्धारण गर्दैन । एउटा कुरा पस्कौं ( जिभ्रो र पेटको । यी दुवै एउटै शरीरका भिन्न भिन्न अंग हुन् । यसोहेर्दा एउटै परिवारका दुई बेग्लै जीव । तर यी दुई बीचमा मैले न प्रेम, न सहयोग, न त श्रद्धा नैं भेटेको छु । यी एकअर्काका विपरित स्वभावका छन् । जिभ्रो स्वाद खोज्छ, पेट स्वस्थकर खोज्छ । जिभ्रो खुसी हुँदा पेट रिसाउँछ, पेटले खुसी
मान्न थाले जिभ्रो सन्किएको हुन्छ । एकको खुसीमा अर्को खुसीहुनै सक्दैन । बरु अत्यन्त दुखी हुन्छ । अझ भनौं एकको खुसीमा अर्को अत्तालिन्छ । मनले क(याप्प नपार्ने हो भने न जिभ्रोको रुचि पेटले स्वीकार्छ न पेटको रुचि जिभ्रोले । एउटाको खुसी अर्कोलाई असैह्य हुन्छ । एउटै शरीरका दुई अंग भएर के गर्नु ! ती एकअर्कालाई कसरी आफन्त भन्नु !
यै कुरा मानिसमा लागू हुँदैन र ! रगतको नाताभित्रै एकले अर्कोको हुर्मत लिएको हामीले देखेका छौं । एकको खुसी देखेर अर्कोलाई जलन भएको भेटेकाछौं । एकले अर्कोलाई होच्याउन, दबाउन वा आश्रित बनाउन पाए चरम आनन्द मानेको पाएकाछौं । अनेक जाल रचेर, भए नभएका कुराको जालोमा बेरिदिएर अरूसंग दुश्मनी गराइदिने प्रपन्च रचेको पनि अनुभव गरेकाछौं । एउटाको दुर्दशामा अर्को चहकिएको उदाहरण पनि पाएकाछौं । त्यति मात्र किन ? रगतकै नाताभित्र एकले अर्कोको वध गरेको पनि सुनेकाछौं । त रगतको नाता नैं चैं आफन्त कसरी हुन्छ ?
जब रगतको नाता नैं आफन्त नहुन सक्ने रहेछन भने छिमेकी, नसनाता, साथीसंगाती आदि भनाउंदा कोही पनि आफन्त हुन सक्दैनन् त ? आफन्त शब्दको महत्व नैं छैन त ? यो शब्द नैं मिथ्या हो त ? अवश्य हैन । आफन्त शब्दको ठूलो महत्व छ । यसको मतलव गहिरो छ ।
सबभन्दा नजिकको आफन्त त्यो हो जो सकेसम्म अर्को आफन्तलाई पीडा नहोस भनेर कामना गर्छ । कथमकदाचित पीडा आईप(यो भने त्यो पीडामा मलहम दलेर पीडा कम गर्ने प्रयत्न गर्छ । आफन्तको प्रगतिको निम्ति प्रोत्साहन दिन्छ, उसको सुखको अभिलाषा गर्छ । एउटाको प्रगतिमा अर्कोको अनुहार उज्यालिन्छ । अर्को छट्पटाउंदा उसको मुटु चसक्क दुख्छ ( हिमाली पहाड र हिउँजस्तो । हिमाली पहाड कठ्याँग्रिदा हिउँ आफूले चिसो सहेर पनि पहाडलाई तताउन पछ्यौरी ओढाइदिञ्छ र त्यस्तैगरी हिउँ कठ्याँग्रिदा पहाड गर्मिएर हिउँलाई तताउँछ ।
दोस्रो तहको आफन्त त्यो हो जसको आफन्तलाई सहयोग गर्न सक्ने अन्य सामर्थ्य हुँदैन तर सहानुभूतिको शितल जलले पीडित आफन्तको जलन कमगर्न भरमग्दूर प्रयत्न गर्छ ।
तेस्रो तहको आफन्त बरू त्यो हो जो तटस्थ बस्छ, न ऊ पीडा बढाउन प्रयत्न गर्छ न मलहम लगाउने वा सहानुभूति प्रकट गर्ने जमर्को गर्छ । त्यस्ताले न सपार्छन न बिगार्छन । बिगार्नेको दाँजोमा त यस्ता बरू आफन्त हैनन् त ? त्यसैले पनि त्यस्ता परिचित वा नातेदारलाई आफन्तको तेस्रो श्रेणीमा राख्न सकिन्छ ।
पीडामा पीडा थप्न खोज्ने, आँशु बग्दा आनन्द मान्ने, खुसी हुने र खुच्चिङ्ग भन्ने, कुनबेला यसको नाश होला र आनन्द मान्न पाइएला भनेर मौकाको ताकमा रहने अथवा कसरी यसको हुर्मत लिन पाउँला सोचेर बहाना खोज्दै प्रतिक्षारत हुने, दुखको पहाड खस्दा ताली पड्काउने र आफूभन्दा तल पार्न पाए खुसी हुने वा पलपल बिभिन्न निहुँमा बेइज्जत गरिरहनेहरू रगतको नाताका हुन वा नातेदार, सहकर्मी र सहपाठी हुन वा छिमेकी हुन, तिनीहरू दुश्मन नैं हुन । “नातामा जेसुकै होस्, उमेरमा पनि जेसुकै होस् मलाई उसले मान्नुपर्छ नत्र मैले उसको ताईं देखाउन जानेको छु । अप्ठेरो परेको बेला आओस्न, अनि देख्ला ” यस्तो सोच भएकाहरू कहिल्यै आफन्त हुँदैनन् । त्यस्तालाई आफन्त ठान्नु मानवको ठूलो भूल हो । त्यस्तो ठान्ने मानवहरू सधैं भ्रममा बाँचिरहन्छन र जिन्दगीभर पीडा भोगिरहन्छन ।