सांगीतिक संकट

संकटको भुमरी

निसले जीवनमा दुई जिनिस उत्पादन गर्छ । एक, आफूजस्तै मानिस । दुई, जीवनलाई आवश्यक भौतिक र बौद्धिक सामग्री । बौद्धिक सामग्रीमध्ये एक हो— संगीत । संगीतले मानव मनको भाव व्यक्त गर्छ, त्यो भाव निश्चित भाषामा सबैभन्दा बढी व्यक्त हुन सम्भव हुन्छ ।

त्यसैले निश्चित सभ्यताको भाषा र त्यस सभ्यताको संगीतको सम्बन्ध मुटु र मस्तिष्कको जस्तै बनेको हुन्छ । नेपाल अहिले पनि सवा सय भाषा जीवित रहेको देश हो । ती भाषासँग सम्बन्धित जाति वा सभ्यतामा हजारौं वर्षबाट निर्मित रैथाने संगीतहरू थिए र छन् । काठमाडौंमा शासकसमेत बन्न भ्याएको पश्चिमको खसआर्यको देउडा काठमाडौं पुग्न विसं २००७ बाट गन्दा पनि पचास वर्ष लाग्यो, तिनका खाँडो जगाउने संगीतलगायत त राष्ट्रिय रंगमञ्चमा कहिले पुग्लान् पत्तो छैन ।

धरान सहर समृद्ध पार्ने नियतिबाट गुज्रेका किरातको पालम र हाक्पारेजस्ता एकाध संगीतहरू काठमाडौं पुग्न पनि त्यत्तिकै समय लाग्नु अस्वाभाविक मान्नुपर्ने अवस्था रहेन । यस्तो ऐतिहासिक सन्दर्भमा जीवन–मरणको दुर्दशाबाट आफूलाई जोगाउँदै आएका मुसहरदेखि चेपाङसम्मका सयौं जातिको रैथाने संगीतको हालत के भयो होला, के भइरहेको होला र के हनुपर्ने होला ? यी प्रश्नहरू साँच्चि नै छाती पोल्ने स्तरका छन् । नियालेर छाम्यो भने रैथाने संगीत जुन नेपाली समाजको प्राणको एक भव्यतम् अंश हो, त्यो ऐतिहासिक संकटको भुमरीबाट गुज्रिँदै आएको देखिन्छ । तर, रैथाने संगीतको संकट फुट्टा एकल परिघटना होइन, बरु यो त नेपालभित्रको समग्र क्षेत्रको रैथाने सम्पदामाथिको संकटको अंश भएकाले समग्र रैथानीयतामाथिको संकटको ऐतिहासिकतालाई अगाडि राखेर विमर्श हुनु आवश्यक छ । साथै रैथानीयतासँग सम्बन्धित विभिन्न वैचारिक प्रश्नहरूलाई पनि निफन्दै लैजानु जरुरी छ ।

दुई वर्षअगाडिको कुरा हो, जतिबेला रैथाने संगीतबारे काम गर्न सानो टोली परामर्श र विमर्शमा जुटेको थियो । एउटा विमर्श भेटघाटमा अभियन्ता झुमा लिम्बूले सोधेकी थिइन्, ‘रैथाने केलाई र कहिलेदेखिकोलाई मान्ने ?’ जवाफमा मैले भनेको थिएँ, ‘राजनीतिमा त आप्रवासीका सन्तान राष्ट्रपति पदको उम्मेदवार बन्न पाउने अवधिलाई मानिन्छ ।’ तर, संस्कृतिमा रैथानीयता राजनीतिमा तोकिएजस्तो सपाट अवधिले न त उत्पादन नै गर्छ, न त निर्धारण नै । रैथानीयतालाई कतै मौलिकता, कतै स्थानीयता र केही समययता पहिचानका रूपमा विश्वव्यापी बुझ्ने गरिएको छ । जुन नामले बुझिए पनि रैथानीयता फरक–फरक मानव समूहले सयौंदेखि हजारौं वर्षको बीचमा निर्माण गर्ने सभ्यताको बौद्धिक सम्पदा हो ।

त्यो सम्पदा सोच्ने दार्शनिकी, संगीत, खाद्यशास्त्र, बालीविज्ञान, औषधिशास्त्र एवं संस्कारहरू, भौतिक विज्ञान र कलाका विविध आयाममा मौलिकतासहित निरन्तर जीवन्त हुँदै आएको हुन्छ । बौद्धिक सम्पदाका यी तमाम विषयमा रैथाने र अन्यबीच के चीजले लक्ष्मण रेखा कोर्छ त ? यसको उत्तरमा भन्न सकिन्छ, जुन विषय संस्कारका रूपमा जीवन्त हुन्छन् ती रैथाने हुन्, संस्कार बनिनसकेका विषय रैथाने होइनन् बरु त्यस समाजका निम्ति प्रयोगात्मक हुन् । चलनचल्तीमा संस्कारलाई जसरी बुझ्ने–बुझाउने गरिए पनि संस्कारका दुई मुख्य पक्ष हुन्छन् । एक, जन्मेदेखि मृत्युसम्मका घटनाक्रमलाई नियमित गर्न बनेका अनुष्ठानहरू । दुई, खास सभ्यता वा समाजका मानिसले सोच्ने तरिका । संस्कारका दुई पक्षमध्ये अनुष्ठानहरू प्रत्यक्ष र मुखर रूपमा प्रकट भए पनि समाजको सोच्ने तरिकामा रहेको संस्कार निर्णायक हुने गर्छ । सामान्यतया मानिसको सोच्ने तरिकालाई संस्कारका रूपमा बुझ्ने गरिन्न तर बुझ्न जरुरी छ कि मानिसको सोच्ने तरिकामा नै सबैभन्दा बढी संस्कार अभिव्यक्त हुने गर्छ ।

निश्चित मानव समाजको सभ्यता वा रैथानीयता कसरी निर्माण हुन्छ ? वास्तवमा त्यसका निम्ति मूलतः पाँचवटा कारणले भूमिका खेलेका हुन्छन् । एक, खास प्रकृतिको भूगोल । दुई, सुरक्षाको व्यवस्थापन । तीन, आफ्नै समाजभित्रको अन्तरविरोध । चार, प्रगतिको आवश्यकता । र, पाँच ज्ञानको सीमा । खास भूगोलको वातावरणका कारण नै खास प्रकारका पहिरन बने । प्रगतिको आवश्यकताका कारण नै मौलिक प्रविधिहरू जन्मिए । ज्ञानको सीमाका कारण नै अलौकिक विश्वासहरू जन्मिए । समाजभित्रको अन्तरविरोधको जगमा नै शासकीय र शासित मौलिक अवधारणाहरू जन्मिए, प्रथा परम्पराहरू जन्मिए । जीवनको सुरक्षाको आवश्यकताले जन्मिए औषधि वा हतियारहरू इत्यादि ।

मूलतः यी पाँच कारणका सीमाबीचबाट रैथानीयता जन्मिए र नयाँ चरणका तिनै कारणका बीचमा अगाडि बढ्ने हुनाले एकातिर रैथानीयता निरन्तर परिमार्जित हुँदै जान्छ भने अर्कोतिर त्यसभित्र रुढीवाद पनि जन्मिँदै जान्छ । परम्परागत रैथानीयताको अकर्मण्यता वा त्यसभित्रको रुढीवादका विरुद्ध नवीन प्रगतिशीलता पनि अनिवार्य रूपमा जन्मिनैपर्ने हुन्छ ताकि त्यस समाज वा सभ्यतालाई नयाँ समयको अवस्था र ज्ञानको चरणमा गतिशील बनाउन सम्भव होस् । त्यसैले रैथानीयता एक निरन्तर परिमार्जनमा, यथास्थिति र परिवर्तनको द्वन्द्व संघर्षको बीचबाट गुज्रिरहेको हुन्छ । तर, यो झटपटको राजनीतिक परिवर्तनजस्तो गतिमा होइन बरु सिंगो समाजलाई लिएर सापेक्षतामा धीमा गतिमा परिवर्तनशील रहन्छ । रैथानीयता जड नभई चलायमान पर्यावरण हो किनभने प्रत्येक मानव सभ्यता अर्को मानव सभ्यतासँग ढिलो वा चाँडो तीव्र वा धीमा गतिको संसर्गमा रहँदै जान्छ ।

उटा मानव सभ्यता र अर्को मानव सभ्यताबीच जति मैत्रीपूर्ण र स्वाभाविक अन्तरक्रियात्मक सम्बन्ध चल्छ, त्यति नै रैथानीयताले परिस्कृत हुने मौका पाउँछ, साथै मानव समाजलाई थप समृद्ध बनाउँदै लैजान्छ । मैत्रीपूर्ण सम्बन्धले नै हो हिजोदेखि हिमाली सभ्यताको जिम्बुले भित्री मधेससम्म सेवा गर्न पुगेको । आज काठमाडाौका गल्ली–गल्लीमा पानीपुरी पहाड र मधेसबीच सुमधुरता बढेकाले नै सम्भव भएको हो । तर, जब फरक–फरक मानव समाज वा सभ्यताबीच एकले अर्कोलाई नष्ट गर्ने अभियान चल्छ, त्यतिबेला भने एउटा रैथानीयता विजयी हुन्छ अर्को सभ्यताले हजारौं वर्ष लगाएर आर्जन गरेको रैथाने बौद्धिक सम्पदा नष्ट भएर जान्छ । वास्तवमा ती विजित भएर नस्टिएको रैथानीयता जोगिएको भए विजयी सभ्यताको समाजलाई पनि यथेष्ठ फाइदा पुग्ने थियो ।

मोटो रूपमा भन्दा वर्गीय समाज जन्मिएपछि आजसम्म मानव समाजमा जे–जति प्रगति भएको छ, त्योभन्दा कैयौं गुणा बढी रैथानीयता अर्थात् विभिन्न सभ्यताले आर्जन गरेका बौद्धिक सम्पदा नष्ट भएको देखिन्छ । संसारको पर्यावरण ७० प्रतिशत नष्ट हुनुले पनि वर्गीय समाजको प्रगतिको नकारात्मक गुदीलाई उदांगो पार्छ । एउटा कविलाले अर्को कविला समाजलाई ध्वस्त पार्ने युगबाट अगाडि बढेर एउटा सामन्ती राज्यलाई अर्काले नष्ट गर्ने हुँदै धार्मिक युद्धसम्ममा व्यापक मात्रामा रैथाने बौद्धिक सम्पदा नष्ट हुँदै गए । यस दृष्टिबाट गम्ने हो भने मानव जातिको इतिहास आफ्नै बौद्धिक सम्पदालाई नष्ट गर्दै तर नयाँ बौद्धिक सम्पदा खोज्दै भौँतारिएको इतिहास हो । संसारमा पुँजीवादी युगको सुरुआतसँगै रैथानीयतामाथिको सबैभन्दा घातक समयको सुरुआत भएको देखिन्छ ।
उपनिवेशवादका रूपमा पुँजीवादी साम्राज्यवाद जब विश्वव्यापी फरक मानव सभ्यतामाथि अतिक्रमणमा निस्क्यो, त्यसले अकल्पनीय स्तरमा रैथानीय बौद्धिक सम्पदालाई नष्ट गर्न सुरु गर्‍यो ।

त्यसले रैथाने भाषा, प्रविधि, संगीत औषधिशास्त्र, मानवीयताको फरक आयाम आदि सबैलाई नष्ट गर्दै गयो । युरोपले नेतृत्व गरेको पुँजीवादी साम्राज्यवादले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको सम्पत्ति लुट्नुभन्दा बढी त्यहाँको बौद्धिक सम्पदा अर्थात् रैथानीयता नष्ट गर्‍यो । आज ब्राजिलका नागरिक पुर्तगाली भाषा बोल्नुपर्ने र भारतीयहरू अंग्रेजी बोल्दा गर्व गर्ने स्थिति त्यसको सानो उदाहरण हो । भाषा खास सभ्यताको चिन्तनको औजार हो । भाषाबिना न चिन्तन सम्भव हुन्छ न त ज्ञानको पुस्तान्तरण । भाषामार्फत नै खास सभ्यताको बौद्धिक सम्पदा संगृहीत र परिमार्जित हुँदै आएको हुन्छ । त्यही औजार नष्ट वा बेकाम हुन पुग्नु सम्पदाको कति ठूलो संहार होला, आकलन गर्न कठिनाइ पर्दैन । यही कालमा आज देशका रूपमा रहेका समाजभित्र पनि आन्तरिक औपनिवेशीकरणको प्रक्रिया चले । नेपालमा राजा पृथ्वीनारायण शाहबाट सुरु भएको गोरखा राज्य बिस्तार अभियान आजबाट हेर्दा आन्तरिक औपनिवेशीकरण नै थियो । त्यो सिलसिला जंगबहादुर राणा हुँदै राजा महेन्द्रकृत पञ्चायत व्यवस्थासम्म पुग्दा एक भाषा, एक संस्कृति, एक धर्म, एक जात, एक भेषजस्ता नीतिका कारण नेपालभित्र विभिन्न सभ्यताका रैथानीयता तीव्र रूपमा नष्ट हुने प्रक्रिया चल्यो र आजसम्म त्यो जारी नै छ ।

नेपालको सन्दर्भमा रैथानीयतामाथि दुईतिरबाट प्रहार हुँदै आयो । एक, पहाडिया हिन्दु उच्च जातीय सोच, संरचना र संस्कृतिबाट । दुई, बेलायती साम्राज्यवाद हुँदै भारतीय प्रभुत्ववादी सोच र नीतिबाट । राणा शासकहरूले बेलायती साम्राज्यवादको नांगो गुलामी सुरु गरेपछि नेपालका समग्र क्षेत्रका मौलिकता वा रैथानीयतामाथि हस्तक्षेपको प्रक्रिया तीव्र भयो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको कालदेखि त क्रमशः फलाम खानी, तामा खानी, कपास खेती, गाँजा खेती बन्द गरिँदै लगिए, त्यो अंग्रेजको फलाम, तामा, सुती र चुरोट बेच्ने रणनीतिको सेवा थियो । त्यसबाट प्रविधिको क्षेत्रका रैथानीयता नष्ट हुन सुरु भए, गाँजालगायत जडीबुटीसँग सम्बन्धित औषधिजन्य रैथाने ज्ञान कुण्ठित हुन पुगे । यही क्रमको निरन्तरताले तमाम नेपालभित्रका औषधिशास्त्रजन्य रैथाने ज्ञान मृतप्रायः बन्दै जाने सिलसिला चल्यो । घर निर्माणको रैथानीय ज्ञानलाई उपेक्षा गरेर बेलायती सौन्दर्यमा आधारित दरबार बनाउने लहर चलाए ।

नेपालभित्रका विभिन्न सभ्यताहरूमा रहेका चित्रकला, मूर्तिकलाका रैथाने ज्ञानलाई तिरस्कार गरेर पश्चिमा ललितकला विधिलाई मात्र ललितकला मान्न थालियो । राजा महाराजाका सालिक पनि बेलायतबाट बनाएर ल्याउन थालियो । रैथाने बाजाहरूको सट्टा सेनामा विदेशी पित्तल बाजा र ब्यागपाइपरलाई न्याउली बाजा भनी स्थापित गर्ने परम्परा सुरु गरियो इत्यादि । बेलायत भारतबाट फर्कियो, त्यसपछिको भारतीय प्रभुत्ववादी नीतिले बेलायतकै भाँती नेपालको रैथानीयतामाथि तीव्र हस्तक्षेप जारी राखेकै छ । यसबीचमा नेपालभित्रका शासकहरूको दोहोरो रवैया रहँदै आयो । वैदेशिक सांस्कृतिक हस्तक्षेपप्रति आँखा चिम्लेर बस्ने तर आफ्नो देशभित्रका उत्पीडितहरूको समग्र रैथानीयतामाथि लगातार दमन गर्ने । यस प्रवृत्तिको तिखो नमुना भाषाका सन्दर्भमा स्पष्ट देख्न सकिन्छ ।

नेपालका शासकहरूले यसो भनेर लाद्दै आए कि अंग्रेजी भाषा शिक्षितले जान्नुपर्छ । यसको मतलब हो— खस नेपाली भाषाभन्दा अंग्रेजी भाषाको महत्त्व बढी छ । त्यसैगरी उनीहरूले व्यवहार गर्दै आए कि खस नेपाली भाषाबाहेकका अन्य रैथाने भाषाहरू मरे हुन्छ । यसको निष्कर्ष हुन्छ— नेपालमा खस नेपाली भाषाको मात्र महत्त्व छ । दीर्घकालमा निस्कने परिणाम त यही हुनेछ कि खस नेपाली भाषाले अरू रैथाने भाषालाई मार्नेछ र अंग्रेजीले चाहिँ खस नेपाली भाषालाई । यसप्रकार नेपालका शासकहरूका सोच्ने तरिकामा रहेको बिब्ल्याँटो प्रवृत्तिका कारण नेपाली समाजको आधुनिक युग नेपालभित्रका हजारौं वर्षबाट बन्न पुगेका अमूल्य रैथाने बौद्धिक सत्त्वहरूको मृत्युको पनि युग बन्न पुगेको छ ।

नेपालका विभिन्न जाति र सभ्यतामा रहेको विज्ञान–प्रविधि, दार्शनिकी, खाद्यशास्त्र, वास्तुशास्त्र, सौन्दर्यदृष्टि, औषधिविज्ञान, ललितकला, बालीविज्ञान इत्यादिका क्षेत्रमा रहेको रैथाने बौद्धिक सम्पदा कसरी नष्ट हुने प्रक्रिया चल्दै आए भन्ने बृहत्तर विमर्श यहाँ सम्भव छैन । तर, त्यस्तो विमर्श जरुरी भने अवश्य छ ।

तीमध्ये रैथाने संगीतबारे राज्यले गरेका हर्कतहरूको अध्ययनबाट समग्रतातिर चियाउन भने गतिलो सुराक मिल्न सक्छ । विसं २००७ पछिलाई नेपालको आधुनिक युग मान्दा त्यही वर्ष स्थापना भएको थियो रेडियो नेपाल । रेडियो नेपालको स्थापनाभन्दा पहिले संगीत जनसमुदायको आफ्नो निम्ति आफ्नै मौलिक कर्म थियो । सबै जातिका आफ्ना भाषाका गीत–संगीत थिए । शाह र राणाहरूका दरबारमा उनीहरूलाई मन पर्ने संगीत, नृत्य, नाटक र पछिल्लो समयमा हिन्दी सिनेमा पनि चल्ने गर्थ्यो । तर, ती कार्य नेपालका अन्य सामुदायिक रैथाने संगीतमाथि हस्तक्षेप गर्ने योजना र स्तरका थिएनन् । रेडियो नेपालको स्थापनापछि भने आधिकारिक रूपमा शासक संगीतको जन्म भयो । खास संगीतले खास सभ्यताको अनुभूति बोल्ने हो र त्यो अनुभूति खास भाषामा बोल्ने हो ।

रेडियो नेपालबाट प्रसारण हुने गीत–संगीतले पहाडिया हिन्दु उच्च जातीय सभ्यताको अनुभूति बोल्न थाल्यो र स्वभावतः खस नेपाली भाषामार्फत बोल्न थाल्यो । काठमाडौंका रैथाने र पूर्वीय शास्त्रीय संगीतको व्याकरणलाई संस्कारका रूपमा अभ्यासरत नेवार जातिबाट थुप्रै गायक एवं संगीतकार जन्मिए तर अधिकांशले नेवार सभ्यताको रैथाने संगीतलाई रेडियो नेपालबाट अगाडि ल्याउन सकेनन्, पाएनन् । अरू जाति सभ्यताको त के कुरा गर्नु ! रेडियो नेपालको आयु बढ्दै जाँदा त्यसले संगीतको क्षेत्रमा सात प्रकारका गीति कार्यक्रमलाई अघि बढायो । एक, आधुनिक गीत । दुई ,लोक गीत । तीन, शास्त्रीय संगीत । चार, हिन्दी गीत ।

पाँच, हिन्दु भजन । छ, पश्चात्य गीतका नाममा अंग्रेजी गीत । र, सात, देशभक्तिका गीत । यीमध्ये लोक गीत, अंग्रेजी गीत र हिन्दी गीतको कार्यक्रमबारे घोत्लिनु महत्त्वपूर्ण हुन्छ । लोक गीत भनेर पहाडिया हिन्दु समुदायको संगीतलाई मात्र प्रचार गरियो अनि विभिन्न जाति–सभ्यताको लोक–संगीत भरेर खस नेपाली भाषामा पहाडिया हिन्दु समुदायको दृष्टिकोण गाइयो । संगीतको व्याकरण र खास गीतको संगीत फरक कुरा हुन् । निश्चित सभ्यताको निश्चित संगीत खास अनुभूति व्यक्त गर्न जन्मिएको हुन्छ । त्यस लयलाई भाषा फरक पारेर जस्तो अनुभूति पनि गाउन मिल्ने कुरा नै होइन । यस विषयमा आज त गम्भीर छलफल छैन भने त्यतिबेलाको क्रूर शासक मानसिकताको रेडियो नेपाललाई के मतलब होस् ! नेपालका विभिन्न जाति र सभ्यताका रैथाने संगीतलाई तिनकै भाषामा रेडियो नेपालमार्फत प्रस्तुत हुन प्रतिबन्धकै अवस्था रहृयो । त्यसको सट्टा हिन्दी गीत र अंग्रेजी गीतले भने अतिरिक्त प्राथमिकता पाउँदै आए ।

यस दृष्टान्तबाट पनि नेपाली शासकहरूको प्रवृत्ति छर्लंग हुन्छ अर्थात् खस नेपाली संगीतमार्फत देशभित्र अरूलाई दमन गर्ने र विदेशी संगीतको चाहिँ चाकरी गर्ने । यही सिलसिलामा नै प्रज्ञा प्रतिष्ठान, रत्न रेकर्डिङ संस्थान, चलचित्र संस्थान र नेपाल टेलिभिजनहरू स्थापना भए र तिनले पनि प्रवृत्तिगत रूपमा त्यही कामलाई नयाँ उचाइमा अघि बढाए, जुन रेडियो नेपालबाट सुरु भएको थियो । यसरी दशकौं राज्यको आधिकारिक र एकलौटी आधुनिक श्रव्यदृश्य संस्थाबाट एक भाषा र एक संस्कृतिको संगीतलाई अरूमाथि लाद्ने काम भयो, साथै अरू सभ्यता र भाषाका रैथाने संगीतलाई खस नेपाली भाषामा जबरजस्ती प्रयोग गरेर तिनको विद्रूपीकरण गर्ने काम भयो । राज्यको यसप्रकारको कारबाहीका कारण नेपालका विभिन्न जाति र सभ्यताका रैथाने संगीत हराउँदै जाने सिलसिला चल्यो । ‘हाउगुजी आउँछ है सुत’ भनेर बच्चा सुताउनेहरूले हाँकेका संगीत प्रतिष्ठानहरूले मधेसको ‘लोरी’ लाई ढिम्किनै दिएनन् । कम खेतीपाती हुने भूगोलबाट आएका शासकहरूले बाह्रैमास खेती हुने मधेस र वागमती उपत्यकाको महिनैपिच्छेको फरक–फरक बाह्रमास संगीत बुझ्नै सकेनन्, स्विकार्नै चाहेनन् । अहिले पनि राज्यको नीति र प्रवृत्ति मूल रूपमा यसैको निरन्तरतामा देखिन्छ, जुन निकै नै पीडादायक छ ।

आज जति पनि उत्पीडनमा परेका जाति र क्षेत्रका रैथाने संगीत मरणासन्न अवस्थामा जीवित छन्, ती धेरैजसो तत्तत् समुदायका परम्परा र अनुष्ठानहरूमा गाउँदै आइएको कारणले बचेका छन् । तिनको रक्षा गर्नु र प्राज्ञिककरणसहित परिमार्जन गर्दै लैजानुपर्ने विशाल तर जरुरी अभिभारा नयाँ पुस्ताको अगाडि उपस्थित छ । पहिचान वा रैथानीयताको रक्षा खास जाति समुदायको उत्थानको विषयभन्दा बढी त्यसद्वारा समग्र मानव समाजको सेवाको निम्ति हो भन्ने वैचारिकीलाई आत्मसात् नगरेसम्म रैथानीयता संगीतमा मात्र होइन, सबै क्षेत्रमा संकटग्रस्त भइरहनेछ । नेपालको व्यवस्था र राज्य त रैथानीयतामाथि तेजाब खन्याउँदै छ । इतिहासलाई चिर्दै वर्तमानसँग लडेर भविष्य निर्माण गर्न चाहने नयाँ पुस्ताले के गर्ला, हेर्नै बाँकी छ ।
माघ ११, २०७६ आहुति । ( कान्तिपुर दैनिक )