सम्झनाः लक्ष्मी गुरुङको

नारायण शर्मा

सानो थियो शरीर तर ठूलो थियो मन
जनतालाई जगाई हिंड्यौं सारा आजीवन
अमूल्य जीवन देशलाई दिएर
अस्तायौं तिमी अमर बनेर….
हो, उनको भौतिक शरीर हामी बीचबाट अस्ताएको छ । महान् विचार बोकेको विशाल हृदय भएकी, शारीरिक कद सानो तर मन निकै ठूलो रहेकी कोकिल स्वरकी धनी वरिष्ठ जनगायिका लक्ष्मी गुरुङको भौतिक शरीर अब हामी बीचमा छैन । निष्ठूर समयले उनको भौतिक शरीरलाई हामीबाट छिनेर लगेको छ । तर गरिब, दिन दुःखी श्रमजीवी जनतालाई सचेत, संगठित र आन्दोलित पार्न उनले गाएका मर्मस्पर्षी चेतनामूलक गीतहरु अहिले पनि गुन्जिरहेका छन् र युगयुगसम्म गुन्जिइनै रहने छन् । ती चेतनाका स्वरहरुमा उनी निरन्तर बाँचिरहने छिन् । उनको भौतिक शरीर अस्ताएको छ, तर उनले बोकेको आस्था र विचार झनै प्रज्वलित भएको । जसले आफ्नो सम्पूर्ण जीवन देश र जनताको मुक्तिका निम्ति खर्चिएको हुन्छ उनीहरु वास्तवमा मरेर पनि बाँचिरहेका हुन्छन् । प्रगतिशील सांस्कृतिक आन्दोलनका प्रत्येक अभियात्रीहरुको मन मनमा अहिले पनि वरिष्ठ जनगायिका लक्ष्मी गुरुङ जीवित रहेकी छिन र युगौंयुगसम्म जीवित नै रहने छिन् । जनकलाकार दानबहादुर थापाको शब्द र चर्चित गायक एवं संगीतकार सौगात शायरको संगीत अनि स्वरमा आएको गीतका उक्त पंक्तिहरुले त्यही यथार्थ बोलेका छन् ।
सहयात्राका ती दिनहरु
आदरणीय जनगायिका लक्ष्मी गुरुङको भौतिक शरीर अहिले हाम्रा बीचमा छैन ।तर उहाँसँगका सहयात्राका ती दिनहरु झलझली सम्झना आइरहेको छ । उहाँ प्रगतिशील सांस्कृतिक यात्रामा यात्रारत हामी प्रायकी दिदी हुनुहुन्थ्यो । स्नेह र सम्मानपूर्वक हामीले उहाँलाई दिदी सम्बोधन गर्दथ्यांै । रक्तिम सांस्कृतिक अभियानमा रहेर विगत २६ वर्षदेखि हामी सँगसँगै यात्रारत थियौं । यो अवधिमा हामीले दर्जनौं अभियानहरुमा सयौं स्टेज कार्यक्रमहरु सँगसँगै सम्पन्न गरेका छौं । अहिले उहाँको असामयिक निधनले हामीलाई स्तब्ध र मर्माहत बनाएको छ । हामीलाई एक कुशल अभिभावक गुमाएको अनुभूति भैरहेको छ । शोकाकुल जस्तै बनिरहेको छ–प्रगतिशील सांस्कृतिक आन्दोलन ।
वरिष्ठ जनगायिका लक्ष्मी गुरुङ दिदीलाई मैले पहिलो पटक २०४८ सालमा पाल्पा तानसेनको एक कार्यक्रममा देखेको थिए । त्यो बेला म पाल्पा क्याम्पसमा भर्खर भर्ना भएको थिए । तानसेन नगरपालिकाको सभाहलमा सांस्कृतिक कार्यक्रम थियो –क्षितिज सांस्कृतिक परिवारको । धनकाजी गुरुङ, खेम पुन, नविना के.सी., लक्ष्मी पुन र मधु क्षेत्री लगायत सँगै लक्ष्मी गुरुङ दिदी पनि कलाकार टोलीमा हुनुहुन्थ्यो । सानो कदको शरीर मञ्चमा उभिएर माइक समाएको देख्दा हामी अचम्मित परिएको थियो । ‘त्यति सानो बच्चालाई पनि किन टोलीमा हिंडालेका होलान् ?’ यस्तै प्रश्नहरु मनमा उब्जिएका थिए । तर जव दिदीको कोकिल स्वर स्टेजबाट गुन्जियो हामी सबै दर्शक मन्त्रमुग्ध भयौं । त्यहाँ दिदीले एकल स्वरमा ‘उत्तरबाट बादल आउँदा’ बोलको गीत गाउनु भएको थियो । ‘खबरदार, होशियार दुश्मनहरु हो’ र ‘पूर्व झन रातो भो’ लगायतका गीतहरुमा पनि दिदीकै लिड स्वर रहेको थियो । त्यो कार्यक्रममा मुख्य आकर्षणको केन्द्र लक्ष्मी दिदी नै बन्नु भएको थियो । हामीले त दिदीलाई देख्यौं र चिन्यौं पनि, तर त्यहाँ हाम्रो दोहोरो चिनजान हुने अवसर मिलेन । पछि २०५० सालमा अखिल नेपाल महिला संघको बुटवलमा राष्ट्रिय सम्मेलन भएका बेला मलाई पनि रक्तिमको केन्द्रीय टोलीसँगै कार्यक्रममा सहभागी बन्ने अवसर मिलेको थियो । दिदी लक्ष्मी गुरुङसँग दोहोरो चिनजान मेरो पहिलो पटक त्यही भएको थियो ।
जनसंगीत यात्रामा दिदी लक्ष्मी गुरुङसँगै पाइला अघि बढाउने अवसर मलाई २०५३ जेठदेखि मिलेको थियो । त्यति बेला म रक्तिमको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा थिए । कलामा मेरो विद्या अभिनय र उद्घोषण थियो, दिदीको गायन । त्यसयता हामीले दर्जनौं अभियानहरुमा सयौं सांस्कृतिक कार्यक्रमहरु सँगै सम्पन्न गरेका छौं । दिदीमा शारीरिक दुर्बलता थियो । लामो बाटो हिंड्न उहाँलाई कठिनाई हुन्थ्यो । तर हामीले कतिपय स्थानमा उहाँलाई बोकेरै पनि अभियानमा हिंडाथ्यौं । उहाँ हामी सबैका लागि उर्जाको स्रोत हुनुहुन्थ्यो । मलाई सम्झना आइरहेछ–२०५३ सालको भदौदेखि मंसिरसम्म बागलुङ जिल्लामा संचालित रक्तिमको त्यो सांस्कृतिक अभियान, जसमा दिदीसँगै हामी यात्रारत थियौं । त्यो बेला बागलुङका कुनै पनि गाउँहरुमा मोटर बाटो पुगेको थिएन । सबै ठाउँमा हिंडेरै पुग्नु पर्दथ्यो । २० जनाको हाम्रो कलाकार टोली थियो । बाध्य सामाग्री, डे«सका कपडाहरु, माइक सबै बोकेर हिंड्नु पर्दथ्यो । प्रत्येक दिन जसो कार्यक्रम हुन्थ्यो । विहान ६ बजे हिंड्यो गन्तव्यमा पुगेर साँझ ७÷८ बजेबाट राति ११÷१२ बजेसम्म कार्यक्रम ग¥यो । अनि फेरि अर्को दिन बिहानै ६ बजे हिंडयो । यस्तो बेला दिदीले हामीलाई प्रायः बोकेरै हिंडाल्ने गथ्यौं । बागलुङका ती पहाडहरुमा पिठ्यूँमा दिदीलाई बोकेर हिंडेको अहिले पनि झनझली सम्झना आइरहेको छ । बाटोमा हामी हिंड्दा गीतको अन्ताक्षरी खेल्दै हिंड्थ्यौं । मलाई व्यवसायिक गीतहरु खासै आउँदैनथ्यो । तर दिदीले खुसुक्क कानमा भनिदिनुहुन्थ्यो र म साथीहरुलाई जवाफ फर्काउथे । दिदीसँग हिंड्दा बाटो कटेको पनि पत्तै हुँदैनथ्यो । आफ्ना पीर व्याथा र कष्टहरु हामी भुल्न पुग्थ्यौं ।
त्यही अभियानको बेलाको घटना हो–बागलुङको आँखेत भन्ने स्थानमा हाम्रो कार्यक्रम माथि कांग्रेसी जमातले आक्रमण गरेको थियो । खुडा, तरवार, लाठी बोकेका ५०÷६० जनाको त्यो जमातले आक्रमण गर्दैछ भन्ने सुइको हामीले पहिल्यै पाएका थियौं । कार्यक्रम स्थलको नजिकै हामी बसेको घर तल त्यो जमात जम्मा हुँदै थियो–हामी कार्यक्रम दिने कि नदिने भनेर सल्लाह गर्दै थियौं । हाम्रो त्यो आन्तरिक मिटिङमा दिदीले ‘कार्यक्रम दिनुपर्छ, धेरै दर्शक आइसकेका छन्’ भन्दै हामीलाई उर्जा थप्नु भएको थियो । बाजागाजा, डे«स, महिला बहिनीहरुको सुरक्षा, त्यो जमातसँग भिड्न हाम्रा आयोजक स्थानीय साथीहरुलाई सहयोग गर्ने आदि आन्तरिक जिम्मा विभाजन गरेर हामीले कार्यक्रम शुरु ग¥यौं । हामीले स्टेजबाट तेस्रो प्रस्तुति दिंदै गर्दा त्यो कांग्रेसी जमातले स्टेजमा आक्रमण गर्न थाल्यो । माइक फोर्ने, पर्दा च्यात्ने गर्दै त्यो जमात अघि बढ्यो । सबै कलाकार साथीहरुले आ–आफ्नो जिम्माको सुरक्षा गर्न तर्फ लाग्नु भयो । दल बहादुर भण्डारी, डमर भण्डारी र मलाई साथीहरुलाई भिड्नमा सहयोग गर्ने जिम्मा थियो । नारायण योगीजीलाई लक्ष्मी दिदी लगायत कलाकार बहिनीहरुलाई सुरक्षित गर्ने जिम्मा थियो । हामी स्टेजमै थियौं स्थानीय हाम्रा साथीहरु सुइकुच्चा ठोकिसकेका थिए, लक्ष्मी दिदीहरु केही माथि पुगेर हामीलाई सुरक्षित हुन चिच्चाइरहनु भएको थियो । खासमा त्यो जमातको दुश्मनी पार्टीका स्थानीय नेताहरुसँग रहेछ । उनीहरुलाई नभेटाएपछि तिनले हामीमाथि नै आक्रमण गर्न खोज्दै थिए । कार्यक्रम हेर्न आएका स्थानीय जनताको सहयोगमा बडो मुश्किलले सुरक्षित हुन सकेका थियौं हामी त्यो घटनामा । हामीले एक महिना पछि फेरि त्यही ठाउँमा पुगेर सफल कार्यक्रम गरेका थियौं । त्यो घटनामा लक्ष्मी दिदीले देखाउनु भएको त्यो साहास, हामी प्रतिको चिन्ता चासो र त्यो स्नेह यो मनमा अमिट अक्षरले कोरिन पुगेको छ ।
जनआन्दोलन २०६२-६३ को पूर्व सन्ध्यामा रक्तिम सांस्कृतिक अभियानले केन्द्रीयस्तरमा दुई टोली बनाएर मेची महाकाली सांस्कृतिक अभियान संचालन गरेको थियो । त्यो अभियानमा लक्ष्मी दिदी र हामी पश्चिमतर्फको टोलीमा सँगै थियौं । त्यो अभियानमा मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानमा पुगेर आफ्ना सांस्कृतिक प्रस्तुतिहरु मार्फत् निरंकुश राजतन्त्रका विरुद्धमा सडकमा उत्रिन जनतालाई आह्वान गरेका थियौं हामीले । २०६२ फागुन १९ देखि चैत्र २४ सम्म चलेको उक्त अभियानमा लक्ष्मी दिदीको प्रस्तुति प्रत्येक कार्यक्रममा विशेष आकर्षणको केन्द्र रहेको थियो । २०५३ सालदेखि २०७६ सम्मका प्रायः देउसी भैलो हामी एउटै टोलीमा रहेर खेलेका थियौं–रुपन्देहीकै आसपासमा । दिदीले टोलीमा कलाकार भाई बहिनीहरुको अति ख्याल राख्नु हुन्थ्यो । कलाकारहरुको खानपिन, डे«स आदिको विषयलाई लिएर कतिपय बेलामा त आयोजक साथहिरुसँग झगडा नै गर्नु पर्दथ्यो । यस्तो बेला दिदी सधै कलाकारहरुकै पक्षमा दरिलो रुपमा उभिनु हुन्थ्यो । कलाकारको मर्म र व्यथा बुझ्ने नेता प्रायः कमनै हुने गर्थे, त्यस्ता नेताहरुले कलाकार भाइबहिनीहरुप्रतिको दिदीको पक्षधरतालाई गलत अर्थमा पनि अथ्र्याउने गर्दथे । कलाकारलाई भड्काएको, उक्साएर विभिन्न माग गर्न लगाएको, गुटजन्य कार्य गरेको अनेकथरी आरोप दिदीलाई लगाउने गर्थे । तर त्यस्ता आरोपले दिदी रत्तिभर पनि विचलित हुनुहुन्थेन । दिदी दृढतापूर्वक कलाकारकै पक्षमा उभिनु हुन्थ्यो । त्यस्तो विवादका बेलामा दिदीको भूमिका निर्णायक हुने गथ्र्यो । टोलीका सबै कलकार भाइ बहिनीहरुले दिदीलाई आफ्नो अभिभावक ठान्ने गथ्र्यौं । देउसी भैलोमा मेरो जिम्मा संचालन र भैलो भट्याउने हुन्थ्यो । दिदीको हातमा माइक परेको देखेपछि मात्र कार्यक्रममा म बोल्न शुरु गर्थें । दिदीलाई देखेपछि मनमा छुट्टै विश्वास र भरोसा पैदा हुन्थ्यो । देउसी–भैलो कार्यक्रम मात्र होइन, कैयौं तिजी कार्यक्रम र मेला पर्वका बेला दिइने कार्यक्रमहरु पनि हामीले सँगै सम्पन्न गरेका छौं । कुनै नयाँ ठाउँमा कार्यक्रम छ भने त्यहाँ दिनका लागि नयाँ प्यारोडी गीत लेख्न दिदीले नै मलाई प्ररेणा दिनु हुन्थ्यो । उहाँकै विशेष आग्रह र सुझावका आधारमा मैले अधिकांश प्यारोडी गीतहरु लेख्ने गरेको थिए । रक्तिम यात्राका क्रममा दिदीसँग बितेका प्रत्येक पलहरु मेरा लागि अविस्मरणीय छन् ।
सर्वहारा वर्गीय जीवन शैली
वरिष्ठ जनगायिका लक्ष्मी गुरुङको जीवनशैली निकै सरल खालको थियो । पिता कृष्ण गुरुङ र माता गर्वी गुरुङको कोखबाट २०२३ साल असोजमा कास्कीको भदौरेमा जन्मनु भएकी लक्ष्मी गुरुङको बाल्यावस्था गरिवी र अभावको दुश्चक्र झेल्दै बितेको थियो । जन्मिंदा नै शारीरिक दुर्बलता सहित आएकी जनगायिका लक्ष्मी गुरुङले औपचारिक शिक्षाको डिग्री हासिल गर्ने अवसर पाउनु भएन । उहाँ बाल्यावस्थामा रहेकै बेला उहाँको परिवार रुपन्देहीको बेलहियामा बसाई स¥यो । त्यहीबाट नै उहाँको सांगीतिक यात्रा शुरु भएको थियो । २०४० सालदेखि नै बेलहियाको स्थानीय खुकुरी क्लवमा आबद्ध भएर उहाँले गीत गाउन शुरु गर्नु भएको थियो । स्थानीयस्तरमा आयोजित हुने विभिन्न प्रतियोगीताहरुमा सहभागी हुँदै उहाँले आफ्नो सांगीतिक यात्रा अघि बढाउनु भएको थियो । ती प्रतियोगिताहरुमा उहाँले लोक तथा आधुनिक गीतहरु गाउनु हुन्थ्यो । उहाँको सुरिलो कोकिल आवाजले दर्शक स्रोतालाई मन्त्रमुग्ध पार्दथ्यो । स्टेजबाट लक्ष्मी गुरुङले सुरिलो स्वरमा गीत गाइरहेको सुनेपछि अखिल (छैठौं) का तात्कालिन नेता प्रकाश शर्मा पनि प्रभावित हुनुभएछ । उहाँले लक्ष्मी गुरुङको सम्पर्क रक्तिमका पुराना कलाकार धनकाजी गुरुङसँग गराइदिनु भयो । यसरी २०४७ सालको अन्त्यतिरबाट जनगायिका लक्ष्मी गुरुङ प्रगतिशील सांस्कृतिक आन्दोलनमा गाँसिन पुग्नु भएको थियो । त्यस यता उहाँ रक्तिम परिवारमा आबद्ध रहेर प्रगतिशील सांस्कृतिक आन्दोलनमै आजीवन क्रियाशील रहनुभयो । रक्तिमका कैयौं गीतहरुमा उहाँले आफ्नो स्वर दिनु भएको छ । मेरो सम्झनामा २०४८ सालको अन्त्यतिर प्रकाशित रक्तिमको जनगीति यात्रा भाग –४ मा समाविष्ट “यो मेरो जीवन” बोलको गीत उहाँको पहिलो एकल स्वरमा रेकर्डिङ गीत थियो । जनगायक जीवन शर्माको शब्द र संगीतमा रहेको उक्त गीतलाई उहाँले निकै मर्मस्पर्शी रुपमा गाउनु भएको छ । रक्तिम गीतियात्राको भाग ५ मा रहेको रेम रानाको शब्द र संगीतको “नेपाली माटो फुलेको फुल” दल बहादुर वि.क.(सौगात शायर) को शब्द र संगीतमा वर्गयुद्ध एल्बममा रहेको “किन फुल्छ मखमली फुल”, रेम रानाको शब्द र संगीतमा रहेको भाग–७ (ख) मा समाविष्ट “परदेशी सारा डाकेर भन्छ” र मणि थापाको शब्द अनि जीवन शर्माको संगीतमा रहेको भाग–१० मा समाविष्ट “उत्तरबाट बादल आउँदा” बोलको गीत उहाँको एकल स्वरमा रहेका रक्तिम गीतहरु हुन । ती सबै गीतहरु प्रगतिशील सांस्कृतिक आन्दोलनमा निकै चर्चित छन् । ‘एक नयाँ दिशामा’, ‘फेरि पनि हुकुमी शासन चल्दैछ,’, ‘पूर्व झन रातो भो’, ‘सुक्दैन सालैको बोट,’ ‘उर्लियो भेला’, ‘सामन्तले नौजाल बुन्छ’ ‘ओ याङकी गो होम’, ‘वर्गयुद्धको आँधी हो यो’ ‘सानो झोला’, ‘आउलान हजार बाधाहरु’, ‘माक्र्सवाद जिन्दावाद,’, ‘भोकै छौं हामी’, ‘के हेर्छौैं युवा’, ‘सम्पूर्ण मुक्तियोद्दा’, ‘उस्तै छ हामीलाई पिरलो, ‘मेचीकालीको आह्वान’ , ‘त्यहाँ फुट्छ ज्वालामुखी’, ‘छियाछिया पारेर’, ‘झरझर झर्ने झरनाले’, ‘कालो निसा चिरेर’, ‘सखियै हो’, ‘छेकेर छेकिन्न’ र ‘चाहे चुडियोेस् शिर हाम्रो’ लगायत अन्य दर्जनौं रक्तिम गीतहरुमा उहाँले अन्य जनकलाकारहरु सँगै स्वर दिनु भएको छ । जीवन शर्मा, रेम राना, निलिमा पुन, खेम पुन, दिपक परियार, तुलबहादुर सलामी, लक्ष्मी पुन, सौगात शायर, विष्णु पुन, कृष्ण भण्डारी, थुमराज ढुंगाना, झलक संगीतम, दिलमाया पुन, देवी सुनामी र हेमराज आश्रम लगायतका गायक÷गायिकाहरुसँग लक्ष्मी गुरुङले क्रान्तिकारी भावका दर्जनौं रक्तिमका गीतहरु गाउनु भएको छ । प्रगतिशील सांस्कृतिक आन्दोलनमा लामो समयसम्म टिकिराख्नु त्यो निकै कठिन काम हो । तर जनगायिका लक्ष्मी गुरुङले त्यही कठिन काम सफलतापूर्वक सम्पन्न गर्नु भएको छ । बुटवल चाँदमारीको एउटा सानो कोठा उहाँको वाससस्थान थियो ।
जीवनमा अभावै अभावको चाङ थियो, तर उहाँले कहिल्यै पनि प्रलोभनमा फसेर जनसंगीतको बाटो बदल्ने गल्ती गर्नु भएन । गीतका भावहरुलाई आफ्नो स्वरद्वारा सुनाउने मात्र होइन त्यसलाई आफ्नो जीवनमा व्यवहारिक रुपमा उतार्ने प्रयास गर्दै आउनु भयो । तडकभडकको जीवन उहाँलाई कहिल्यै प्रिय लागेन । उहाँको त्यो कोकिल आवाज, त्यो दृढ आस्था त्यो सरल र मिजासिलो स्वभाव, त्यो शारीरिक दुर्बलता यी सबै पक्ष माथि विचार गर्दा उहाँलाई प्रगतिशील जनसंगीत फाँटको ‘सुन्दर फुल’को उपमा दिनु शायद त्यो अन्यथा हुनेछैन ।
लक्ष्मी दिदीको यथार्थ जीवनी बोलेको मर्मस्पर्षी गीत
जनगायिका लक्ष्मी गुरुङ प्रति समर्पित “सानो थियो शरीर” बोलको गीतमा सर्जक दानबहादुर थापाले जनगायिका लक्ष्मी गुरुङको यथार्थ जीवनी उतारेका छन् । सर्जक थापाले कोरेकाती शब्दहरुमा चर्चित गायक तथा संगीतकार सौगात सायरले मर्मस्पर्शी संगीत र स्वर दिएका छन् । आफै पनि विगतमा लामो समय जनगायिका लक्ष्मी गुरुङसँग सहयात्रामा हिंडेका गायक शायरले भित्री हृदयको आवाजबाट यो गीत गाएको प्रष्ट बुझ्न सकिन्छ । सौगात सायरकै युटुव च्यानलबाट आएको यस गीतले जनगायिका लक्ष्मी गुरुङ प्रगतिशील सांस्कृतिक आन्दोलनको आकासमा चम्किलो तारा बनेर चम्किरहने विश्वास व्यक्त गरिएको छ ः
सधैभरी चम्किरहने संगीतको तारा तिमी
कहिल्यै नमेटिने इतिहासको धारा तिमी
रक्तिमको फुलवारीको नझर्ने फुल तिमी
संघर्षको मैदानमा नमर्ने योद्दा तिमी……

गुन्जिरहने छौं सधै तिमी परिवर्तनको भाकामा
नहराउने तस्विर तिम्रो नेपालीको आँखामा
राष्ट्रको माया बोल्ने तिम्रा सुनौला कुरा
हुनेछ एकदिन पूरा सपना ती अधुरा…..

हो, जनसंगीत यात्राका प्रत्येक सिपाहीहरुले जनगायिका लक्ष्मी गुरुङलाई प्रत्येक पाइलाहरुमा सम्झिरहने छन् । परिवर्तनका भाकाहरुमा आदरणीय लक्ष्मी गुरुङ सधै गुन्जिरहने छिन । लक्ष्मी गुरुङ जनसंगीत यात्राकी एक चम्किलो तारा हुन् । उहाँको भौतिक शरीर २०७८ कार्तिक २५ गते हामीबाट विदा भएको छ तर जुन उद्देश्यका लागि आफ्नो सम्पूर्ण जीवन उहाँले लगाउनु भएको थियो त्यो अझै पूरा भएको छैन । सबै दिन दुःखी, श्रमजीवीजनहरु रमाउन सक्ने व्यवस्था देशमा अझै आइसकेको छैन । त्यो व्यवस्था ल्याउनका निम्ति महासमरको लामो यात्रा अझै बाँकी नै छ । समता र न्यायपूर्ण त्यस्तो समाज निर्माण नहुन्जेल जनगायिका लक्ष्मी गुरुङ हिंडेकै जनसंगीतको बाटोमा प्रगतिशील सांस्कृतिककर्मीहरु हिंडिरहने छन् । उनका अधुरा सपनाहरु पूरा गर्न हामी लागिरहने छौं । त्यसरी प्रगतिशील सांस्कृतिक आन्दोलनको दिशामा निरन्तर अगाडि बढ्नु नै आदरणीय जनगायिका लक्ष्मी गुरुङ दिदी प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । हामी सबै त्यही दिशामा अगाडि बढौं । अन्त्यमा, भावपूर्ण श्रद्धासुमन जनसंगीत यात्राकी ‘पारिजात’ आदरणीय जनगायिका दिदी लक्ष्मी गुरुङप्रति ।

IME Remittance