जनगायक जीवन शर्माले विदेशी भूूमिमा रगत र पसिना बगाइरहेका प्रवासी नेपाली र तिनै प्रवासी नेपालीका नेपालमा रहेका जहान परिवारको व्याथा र कथालाई मुख्य विषयवस्तु बनाइएको रक्तिमको पुरानो तिजी गीतलाई नयाँ स्वरांकन गरी बजारमा ल्याएका छन् । “सुनबुट्टे रेशमी” बोलको उक्त तीज गीतको नयाँ स्वरांकनमा जनगायक जीवन शर्मालाई स्वरमा साथ निलिमा पुन, लक्ष्मी रिजाल “उदय”, विमा पुन र शंकर पुनले दिएका छन् । जीवन शर्मा युटुब च्यानलबाट १६ अगस्ट २०२१ अर्थात् २०७८ साउन ३२ गते सार्वजनिक गरिएको यस गीतमा शब्द तथा संगीत स्वयं जनगायक जीवन शर्माकै रहेको छ । कुनै स्टुडियोभित्र होइन सामान्य कोठाको अगाडि आफैले बाध्य वादनहरु बजाएर प्रत्यक्ष रुपमा यो गीत गाइएको छ । गीतको दृश्यांकन उदयीमान गायिका अनु शर्माले गरेकी छिन् । गीतले जहान लालाबालाहरुको पेट भर्न र सुन्दर भविष्य निर्माणको सपना बोकेर धन कमाउनु परदेशिएका नेपालीहरु जो धन कमाउन नसकि रित्तो हात घर फर्किन बाध्य छन् उनीहरुको हृदयको व्याथा बोलेको छ ः
सुनबुट्टे रेशमी साडी ल्याउन सकिन
नेपाली एकता हेर बरिलै
मखमली चोलिया ल्याउन मैले पाइन
पुरानो विचार फेर बरिलै ……..
परदेशबाट एक परदेशी घर फर्किदा उसका जहान परिवार, आमा–बाबा र लाला बालाहरुले आ–आफ्नै खालका अपेक्षा राखेका हुन्छन् । चाडवाडका बेला रेशमी साडी र मखमली चोलियामा सजिएर संगी साथेहरुसँग छमछमी नाँच्ने रहर जहानले राखेकी होलिन । मिठी, राम्रा नाना र खेलौनाहरुको रहर ती चिचिला लालाबालाहरुले पालेका थिए होलान् । छोराले कमाएर ल्याउला र वर्षौंदेखिको साहुको ऋणबाट मुक्त हुन पाइएला भन्ने सपना बोकेर बाबा बसेका थिए होलान् । छोरो आउला र फाटेको पुरानो चोली फेरिदेला भन्ने आमाको छुट्टै चाहना थियो होला । तर छोरो घर फर्किंदा विना भरिया बाकस रित्तै फकिएको छ । ‘लाहुरे’ भनेपछि छर छिमेक र आफन्तहरुले उसलाई हेर्ने बुझ्ने र उसले पनि देखाउनु पर्ने व्यवहार अलग्गै किसिमको हुन्थ्यो गाउँमा । परदेशमा उसले जस्तो जे काम गरेको भए पनि घरमा आउँदा चिटिक्क परेर, चमेलीको तेलको बासना छर्दै, अघि पछि भरिया लाएर आउने पात्रको रुपमा बुझिन्थ्यो लाहुुरेलाई । तर यस पटक वर्षौंं पछि घरमा आएको त्यो परदेशी ‘लाहुरे’ सँग ती चीज केही पनि थिएनन् । रित्तो हात घरमा आएको देख्दा जहान परिवार सबै दंगदास थिए ः
भरिया अघिलाई आउनुपर्ने के भयो
एकलै आउनु भो स्वामी बरिलै
लाहुरको सम्झना रित्तो झोला देखेर
दङदासै परियो हामी बरिलै……
विना भरिया बाकस रित्तो झोला बोकेर परदेशबाट घर फर्किएको आफ्नो खसमलाई देख्दा एक नारीको मनमा जुन भाव उत्पन्न हुन्छ त्यही तथ्य बोलेका छन् यो गीतका ती हरफहरुले । हामी सहजै अनुमान लगाउन सक्छौं आज भन्दा ३३ वर्ष अगाडिको नेपाली समाज कस्तो थियो होला ? त्यही बेलाको नेपाली गाउँले समाजको अवस्था र त्यो बेला परदेशमा काम गर्न जाने श्रमजीवी प्रवासी नेपालीहरुको अवस्थालाई देखेर, बुझेर बनायएको गीत हो –“सुनबुट्टे रेशमी ।” देशभित्रै रोजगारीको अवसर पाएको भए, शायद कोही पनि नेपाली बिरानो विदेशी भूमिमा पसिना बगाउनु जानु पर्ने थिएन । तर आफ्नो देशभित्र रोजगारीको त्यस्तो अवसर प्राप्त थिएन । त्यसैले उनीहरु विदेशी भूमिमा पुग्न बाध्य हुन्थे । गीतले विदेशी भूमिमा श्रमजीवी प्रवासी नेपालीहरुले व्यहोर्नु पर्ने सास्तीको यथार्थ चित्रण गरेको छ ः
दश हण्डर खाइयो तिता भुजा पचाइयो
के हुन्थ्यो हामीलाई विदेशीको भर
जुठा भाँडा माझेर चौकीदारी गरेर
के बन्थ्यो गतिलो दुखीयाको घर
भरिया बाकस ल्याउन मैले पाइन
धेरै छन् मनमा कुरा बरिलै…….
परदेशमा नेपालीहरुले काम गर्ने सिलसिलामा पाउने सास्ती निकै दर्दनाक खालका हुन्छन् । बिरानो मुलुक, अनचिनारु मान्छे, कामकै खोजीमा कति दिन भोकभोकै भौतारिनु पर्छ । त्यो बेला लाहुर जाने भनेको भारतका विभिन्न ठाउँमा जानुलाई नै बुझिन्थ्यो । त्यहाँ प्रायः नेपालीहरुले पाउने काम भनेको चौकीदारी र होटल, फ्याक्ट्रीहरुमा मजदुरीको काम नै हुन्थ्यो । पहिला त काम खोज्दैको हैरानी बल्लतल्ल काम पाएपछि पनि मालिकको त्यो हप्कीदप्की, समयमा तलब नदिने, दिंदा पनि पूरा नदिने, अर्को देशबाट आएको भनेर हेप्ने होच्चाउने अनेक किसिमका प्रताडनाहरु सहनु पथ्र्यो । त्यसरी चौकीदारी गरेर, जुठाभाँडा माझेर दुःख गरेर अलिअलि गर्दै जम्मा गरेको धनले कति दिन घर चलाउन सकिन्थ्यो र आखिर ? विदेशी भूमिमा जति पसिना बगाए पनि आखिर सिंचित हुने विदेशी माटो नै हो । दुःख गरेर त्यसरी पसिना बगाउनेहरु झन भन्दा झनपछि गरिब बन्दै जाने, तर अरुलाई कज्जाएर दुःख नगरी ठाँटसित महलमा बस्ने मालिकहरु झनझन धनी बन्दै जाने –यस्तै विभेदकारी चलन छ त्यो विदेशी भूमिमा पनि । आफूले विदेशी भूमिमा काम गर्दा पाएको सास्तीको अनुभव, त्यहाँ नेपालीहरु माथि हुने गरेको थिचोमिचो, उनीहरु माथि हुने गरेको अन्याय यी सारा घटनाक्रमदेखि सकेपछि कुनै पनि प्रवासी नेपालीको मनमा स्वाभाविक रुपमा निष्कर्ष निस्कन्छ –वास्तवमा हाम्रो जीवन विदेशको भर परेर बन्न सक्दैन । विदेशमा जतिसुकै पसिना बगाए पनि त्यसबाट मोटाउने भनेको तिनै विदेशी साहु महाजनहरु नै हुन, पसिना बगाउने ती दुःखी गरिबको घर बन्न सक्दैन । अपवादका रुपमा केही दुइचार जनाको जीवन बन्यो होला तर आम श्रमजीवी ती प्रवासी नेपालीहरुको अवस्था दयनीय नै छ । गीतका शब्दहरुमा सचेत र संगठित बनेका तिनै प्रवासी श्रमजीवी नेपालीहरुको कथा र व्यथा समेटिएको छ ।
व्यक्ति आफू मात्र सचेत भएर समाज र देशमा परिवर्तन ल्याउन सक्दैन । सचेतजनहरुको संगठित शक्ति जबसम्म निर्माण हुँदैन तबसम्म समाजमा परिवर्तन सम्भव हुँदैन । आफूले प्राप्त गरेको सचेतना उसले अरुमा पनि बाँड्न सक्नुपर्छ । घर परिवार छरछिमेक, इष्टमित्रका बीचमा त्यो सचेतना पु¥याउनु पर्दछ । आफूले विदेशी भूमिमा चौकीदारी गर्ने, होटलहरुमा जुठा भाँडा माझ्ने तर घर आउँदा समाजलाई देखाउनकै लागि भए पनि जुल्फी लर्काएर, अत्तरको सुगन्ध छर्केर, काँधमा रेडियो भिरेर भरिया बाकस अघि पछि लगाई आउने कृतिमता अब हामीले प्रदर्शन गर्नु हुँदैन । जे हो यथार्थ घरका जहान परिवारलाई पनि त्यही भन्नुपर्छ । उनीहरुलाई पनि सचेत पार्नु पर्छ । संगठित पार्नुपर्छ । हितैको संगी छुट्टाएर हामीलाई प्रदेशिन बाध्य पार्ने को हो ? त्यो अब जहान परिवारलाई पनि चिनाउनुपर्छ । विभिन्न कोशेलीले भरिएका बाकस होइन सचेतनाको भारी बोकेर स्वदेश फर्किएका तिनै प्रवासी नेपालीहरुको साझा कथा हो तिज गीत–“सुनबुट्टे रेशमी ।” स्वदेश फर्किएका ती सचेत प्रवासी नेपालीहरुको झोलामा जीवनसंगीका लागि कुनै सुनबुट्टे रेशमी साडी र मखमली चोलिया छैन । तर उनीहरुसँग विदेशी भूमिमा नेपालीहरुले पाउने गरेका दुःख र सास्तीहरुको यथार्थ चित्रण र त्यो दुःखबाट पार पाउनका लागि जुक्ति सिकाइएका लेख रचना र समाचारले भरिएको पत्रिका छ–नेपाली एकता । आफुना जहान परिवारलाई पनि उनीहरुले त्यही हेर्न र पढ्न आग्रह गर्छन् ।
खसम धन कमाउन भन्दै परदेश गएपछि गाउँका नारीहरु पाउने दुःखकष्टका पनि आफ्नै व्यथा र कथा छन् हाम्रो समाजमा । एक्लै मेलापात गर्दा र लालावाला हुर्काउनु पर्दाका उनीहरुका दुःख कम्ता कारुणिक छैनन् । आफ्नै जीवन भोगाइबाट उनीहरुले पनि अब कुरा बुझ्दै गएका छन्ः
नौ गाउँ डुलेर रनवन घुमरे
यी वाला हुर्काउन सक्नु प¥यो पीर
दश नंग्रा खियाउँदा पसिनाको नौ धारा
त्यै पनि हाम्रो उँचो हुन्न शिर
कि गरी खाउला कि त मरि जाउला
ठिकै छ आउनु भो स्वामी बरिलै……
सचेत प्रवासी नेपालीहरुको आह्वानलार्ई सुनिसकेपछि गाउँका ती दुःखी चेलीहरुले पनि कुरा बुझ्न थालेका छन् । आफूहरुले रात दिन बगाइरहेको पसिनाको नौ धाराको मूल्य कहाँ गैरहेको छ ? को पौडी खेलिरहेको छ हाम्रो त्यो पसिनाको कमाई माथि ? त्यसरी पसिना बगाउनेहरु नै समाजमा हिनहेलत्वको जीवन किन बाँच्न परिरहेको छ ? यो तथ्यलाई अब ती चेलीहरुले पनि बुझेका छन् । सुनबुट्टे रेशमी साडी र मखमली चोलियाको सट्टा सचेचता जगाउने नेपाली एकताको जुन कोशेली ती सचेत प्रवासी नेपालीहरुले ल्याएका छन, अन्ततः त्यो पाउँदा खुशी भएका छन् ती दुःखी चेलीहरु पनि । उनीहरुले पनि अब अठोट गरेका छन्–आफ्नो पसिनाको मूल्यमाथि रजाई गरिरहेका शोषक सामन्तीहरुका विरुद्धमा लड्ने । सचेत ती प्रवासी नेपालीहरु, जो आफूलाई परदेशिन बाध्य पार्ने थितिका विरुद्ध जुध्न स्वदेश फर्किसकेका छन्, उनीहरुलाई साथ दिने प्रण गरेका छन् ती गाउँका चेलीहरुले पनि । सचेत बन्दै गरेका गाउँका ती दुःखी चेलीहरुको संघर्षको कथा बोकेको गीत हो–“सुनबुट्टे रेशमी ।”
गीत रचनाको पृष्ठभूमि ः
यो गीतको रचना सन् १९८८ अर्थात् २०४५ सालतिर गरिएको रहेछ । कामको खोजीमा भारतका विभिन्न शहरहरुमा पुगेका नेपालीहरुलाई सचेत पार्दै संगठित गर्ने अभियान स्वरुप सन् १९७९ मा अखिल भारत नेपाली एकता समाजको गठन गरिएको थियो । गोविन्द सिंह थापा त्यो संगठनको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । एकता समाजले भारतमा रहेका प्रवासी नेपाली मजदुरहरुका समस्याहरुलाई नजिकबाट बुझ्ने र उनीहरुको हकहित र अधिकारको पक्षमा आवाज उठाउने काम गर्दै आइरहेको थियो ।
भारतमा, जुन ठाउँमा प्रवासी नेपालीहरुमाथि दुःख, सास्ती र अन्याय आइलाग्थ्यो त्यहाँ एकता समाजका नेताहरु पुग्ने गर्थे । एकता समाजलाई प्रवासी नेपालीहरुले आफ्नो अभिभावक जस्तै ठान्थे । भारतमा रहेका नेपालीहरुलाई सचेत र संगठित गर्ने सिलसिलामा एकता समाजले नेपालबाट प्रगतिशील सांस्कृतिककर्मीहरुलाई समेत झिकाउने गथ्र्यो । त्यसै सिलसिलामा रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष जनगायक जीवन शर्मा दक्षिण भारतको तमिलनाडु राज्य अन्तर्गत रहेको कोम्बातुर शहरमा पुगेका थिए । त्यहाँ उनी केही दिन, एकता समाजका नेता समेत रहेका नेपालमा बागलुङ घर रहेको प्रेम सुवेदीसँगै बसे । त्यस सिलसिलामा जनगायक जीवन शर्माले त्यहाँ रोजगाररत प्रवासी नेपालीहरुको दुःखलाई नजिकबाट नियाल्ने मौका पाए । “विदेशको त्यो विरानो भूमिमा मालिकको हप्कीदप्की र अत्याचार सहँदै पसिना बगाउने तर घर आउँदा केही ल्याउन नपाएका तिनै प्रवासी नेपालीको पीडा हो गीत –“सुनबुट्टे रेशमी ।” जनगायक जीवन शर्मा भन्छनु–“यो त्यस्तै २०४४÷४५ सालतिरको कुरा हुनुपर्छ –सांगीतिक यात्राकै सिलसिलामा म दक्षिण भारतको कोम्बातुर भन्ने ठाउँमा पुगेको थिए । त्यो भारतको एक औद्योगिक शहर रहेछ । त्यहाँका फ्याक्ट्रीहरुमा सयौं नेपालीहरुले मजदुरी गर्दा रहेछन् । उनीहरुको दुःखलाइृ त्यहाँ प्रत्यक्ष रुपमा देखेपछि मनमा जुन भाव उत्पन्न भयो, त्यसैलाई उतारेर त्यही ठाउँमा बसि यो गीत लेखिएको थियो ।” जनगायक शर्माले “सुनबुट्टे रेमशी” गीत प्रवासी नेपालीहरुको साझा कथा र व्यथा बोकेको गीत रहेको बताए । “नेपालबाट कामको खोजीमा भारत पुगेका कैयौं नेपालीहरु कोही काम नपाएर तडपिरहेका थिए । काम पाएकाहरुको पनि फेरि उस्तै खालका आफ्नै दुःख थिए ।” गीतका सर्जक शर्माले भने–“ देश र जनताका निम्ति समर्पित हुने प्रवासी नेपालीहरु पनि त्यही थिए–“सुनबुट्टे रेशमी” गीतमा ती सबैको पीडा र भावना समेट्ने प्रयास गरिएको छ ।” त्यति बेला देखि नै रक्तिमका कलाकारहरुले आफ्ना अभियानहरुमा यो गीत प्रस्तुत गर्दै हिंड्थे । आज भन्दा ३३ वर्ष अगाडि लेखिएको यो गीत म्युजिक नेपालबाट २०४८ सालको अन्त्यतिर रिकर्ड गरिएको थियो । रक्तिमको जनगीति यात्रा भाग–४ मा रहेको यस गीतमा त्यतिबेला जीवन शर्मा, रेम राना, खेम पुन, लक्ष्मी गुरुङ, निलिमा पुन र लक्ष्मी पुनको स्वर रहेको छ । पुरानो त्यही गीतलाई अहिले फेरि नयाँ स्वरांकन सहित प्रत्यक्ष गाएर जनगायक जीवन शर्माको युटुब च्यानलबाट जनसमक्ष ल्याइएको छ । पुरानो गीत अहिले फेरि किन त ? हाम्रो प्रश्नमा जनगायक जीवन शर्मा भन्छन्–“अहिले पनि अवस्था उस्तै छ । ती प्रवासी नेपाली मजदुरहरुको जीवनमा अझै पनि खासै परिवर्तन आउन सकेको छैन । कोरोना कहरका कारण स्थिति झनै विकराल बनेको छ । त्यसैले यो गीतको सान्दर्भिकता अहिले पनि उस्तै छ भन्ने लागेर नै पुनः ल्याइएको हो ।”
निष्कर्षमा भन्नुपर्दा तीज गीत “सुनबुट्टे रेशमी” लाई प्रवासी नेपाली र गाउँका दुःखी चेलीहरुको साझा कथा र व्यथा बोकेर आएको एक चेतनामूलक गीतका रुपमा लिन सकिन्छ । विदेशी भूूमिमा रगत र पसिना बगाउँदा प्रवासी नेपालीले खेप्नु परेका दुःख, सास्ती र परदेश गएका खसमहरुका नेपालको गाउँमा रहेका जहान परिवारले भोग्नु परेका पीडालाई यो गीतमा कलात्मक प्रकारले सरल शब्दमा उनीएको छ । यसमा प्रत्येक प्रवासी नेपाली र गाउँका दुःखी चेलीहरुले आफ्नै कथा र व्यथा भेट्टाउन सक्छन् । धनपैसा भन्दा सचेतना र संगठित भएर अन्याय, अत्याचार, शोषण र असमानताका विरुद्धमा जुध्ने कुरा मुख्य र ठूलो हो भन्ने प्रष्ट सन्देश यस गीतले दिएको छ । सचेत भएर त्यसरी घर फर्कने ती प्रवासी नेपालीका प्रतिनिधि र गाउँका चेलीको भूमिकामा जनकलाकारहरुलाई नै अभिनय गराएर यस गीतको भिडियो छायाँकन गर्न सकेको भए त्यो अझै राम्रो हुने थियो । शायद कोरोना कहरले सिर्जना गरिदिएको विकराल परिस्थिति र आर्थिक अभावका कारण पनि त्यो सम्भव नभएको होला । तर पनि गीत जुन रुपमा आएको छ यो ठिकै छ र राम्रै छ । यसप्रकारका चेतनामूलक र सन्देशमूलक गीतहरु निरन्तर आइराख्नु पर्दछ । आगामी दिनमा पनि जनपक्षीय गीति यात्राको यो सिलसिला यसरी नै जारी रहोस् । जनगायक जीवन शर्मा र “सुनबुट्टे रेशमी” गीत निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबैलाई हार्दिक बधाईका साथ गीत सफलताको शुभकामना !