– कौशिला रिसाल
मेरो छात्तीमा कुल्चन्छ ऊ
मेरो पाखुरामा कोर्रा हान्छ ऊ
कुल्चेर स्वाभिमानमा
वचनका वाण रोप्छ ऊ
उताकाले कुल्चदा, हान्दा, दुःखाउँदासम्म त
मलाई केही भएकै हुँदैन
किनभने म सिमानावासी हुँ ।
तर अहँ
जब यताबाट सोधिदैन
तँलाई चोट लाग्यो ?
तेरो स्वाभिमान दुख्यो ?
तब म आहत हुन्छु
मेरो राष्ट्रियता छात्तीमा टाँसेर ।
मेरो स्वाभिमानको उचाइ
सगरमाथाभन्दा कम छैन
मेरो गौरवको ग्रेटवाल
नागरिकताभन्दा अरु छैन ।
मेरो बुढीऔँलाको छाप बोकेर
तिमी माथि पुगेका हौ
तिम्रा आलयका तला गन्न
मैले मेरै निधारमा दायाँ हातको पाली हालेर
आँखालाई आकाश फर्काउनु पर्छ ।
बिजुलीका पोलपोलमा फलेका
सामाजिक सुरक्षा नामको
आकासेफल हेरेर कसरी खुसी हुँ म ?
तिमी नै भन न
यस्तो अवस्थामा अठार करोडको
टायरमा चिप्लिएर समृद्धिको बिउ
रोपिन्छ र ?
गास, बास र कपासको अभाव ओढेर
कसरी देखुँ म समृद्धिको सपना ?
बरु मैले
हजुरबाको ऋण तिर्न
नातिको नागरिकतामा
उमेर बढाएको छु
रोगी जहानलाई
मृत्युको मञ्जुरी दिएको छु
तिमी धन्य छौ, मेरा लागि
मलाई नागरिकता मात्र दिएनौ
श्रम बेच्ने इजाजत दियौ
म श्रमको इजाजत बोकेर
आफैँलाई बेच्नको लागि
दिनहुँ धाउँछु मानववेचबिखन केन्द्र ।
र पनि फेरि, किन किन मभित्र सुस्ता दुख्छ
कालापानी दुख्छ,
मेची, महाकाली दुख्छ,
दोधारा दुख्छ, लिपुलेक दुख्छ
मेरो माटो दुख्छ,
म सिमानावासी हुनुको व्यथा दुख्छ
सरकार ! मलाई मेरो आफ्नो सिमाना दुख्छ ।
(गोरखा सिरानचोक, हाल काठमाडौँ)
म हुँ सरकार
– युवराज नास्तिक