जन्मघर


कस्तो होला चुहिने छानो नयाँ खरले छाएपछि
भत्किएको भित्तालिपी रातो माटो लाएपछि
कस्तो होला आँगनीको झार गोडी फालेपछि
घर करेसा वरिपरि फुल फुल्न थालेपछि

कति खुशी होलिन् आमा गाउँ फर्की गएपछि
जन्मिएको घरभित्र सन्तान जम्मा भएपछि
कति राम्रो देखिएला बन्द ढोका खोलेपछि
जहान सबै एकै ठाँउमा एउटै चुलो बलेपछि

कस्तो होला खेतबारीमा अन्नबिज छरेपछि
बाँझिएको माटोलाई खनिखोस्री गरेपछि
आँफै मालिक त्यो घरको, आँफै कामदार बनेपछि
अन्नभण्डार भरिएलान्  आँफै श्रम गरेपछि

कति मीठो होला भान्सा आमाकाे हातले पकाएपछि
सबको पेट भरिएला गुन्द्रुक  ढिँडो खाएपछि
ढुक्कसँग निदाउँला गुन्द्रीमाथि सुतेपनि
सुन्दर हिमाल देख्न पाउँला विहानै आँखा खुलेपछि

कस्तो होला वालापनका सँगीसाथी भेट्दाखेरि
संग्लिएका मनका कुरा पोख्दै तिर्खा मेट्दाखेरि
सबलाई साथ दिन सकौंला सुखदुःख पर्दाखेरि
घाँसदाउरा,मेलापातमा अर्मपर्म गर्दाखेरि

झुपडी नि महल बन्छ सबले मेहेनत गरेपछि
रित्तो डाली चुलिनेछ सबको हातले भरेपछि
अरूको आशामा होइन अब आँफ्नै भरोसामा चल्न सिकौँ
राम्रो कामको शुरुआत पनि आँफैबाट शुरू गरौँ

गाउँघर सुनसान पारी परदेश अब नधाऊँ
मरुभूमिमा बग्ने पसिना आफ्नै भुमिमा बगाऊँ
जन्मघर, जन्मेको ठाउँ शीरमाथि सजाऊँ
बाँचुञ्जेल कर्म थलो मातृभुमिलाई नै बनाऊँ ।