केही प्रश्नहरू

         निलिमा पुन

स्वार्थको निम्ति मरिमेट्नेलाई होइन
सर्वस्व त्यागेर हिड्नेहरुलाई सोध
कति त्याग र वलिदानले
कोरिएका हुन्छन् इतिहासहरू

हुनेखानेहरूको चप्पल बनेर होइन
खाली खुट्टा हिड्नेहरूलाई सोध
कति दुखाइ खपेर
भरपर्दा बन्छन पैतलाहरू

परिश्रम लुटे्नेहरूलाई होइन
दश नंग्रा खियाउनेहरूलाई सोध
कति कष्ट भोगेर
चलेका हुन्छन् जीवनहरू

महलमा बस्नेहरूलाई होइन
झुपडीमा बस्नेहरूलाई सोध
कति सास खर्चेर
बलेका हुन्छन् चुलाहरू

सिन्दुर पोतेमा सजिनेहरूलाई होइन
धुलोले सिउदो भरिएका आमाहरूलाई सोध
कति अभावहरू सहेर
अडिएका हुन्छन् सम्बन्धहरू

अरूका सहारामा चल्नेहरूलाई होइन
आफ्नै पाइलाका भरमा हिड्नेहरूलाई सोध
कति हिम्मत गरेर
पार हुन्छन् खुड्किलाहरू

स्वाभिमान लिलाममा राख्नेहरूलाई होइन
श्रम गर्ने श्रमिकहरूलाई सोध
कति पसिनाले भिजेर
बनेका हुन्छन् संरचनाहरू

देशप्रेमका कुरा मात्रै गर्नेहरूलाई हाेइन
सिमानामा बस्नेहरूलाई सोध
कति जोखिम मोलेर
बचेकाछन् देशका सीमाहरू।

 

IME Remittance