तिमी परेड खेल्दा म सहन्छु
डोजर लगाएर भत्काउदा म सहन्छु
बम हानेर सुरुङ खन्दा पनि चुप बस्छु
सीमामा लडेको पनि म हेर्छु
किन कि म धर्ती हूँ
कसैले धकेलेर मेरो स्थान सार्न सक्दैन
माटो खनेर मेरो जरा भेटिदैन
मलाई ओगटेर अर्कै देश बन्न सक्दैन
नाम फेरेर भुमि साटिदैन
म यही ब्रह्माण्डकाे एक हिस्सा हूँ
डढेलो लगाएर उजाड बनाए पनि
ऋतु परिवर्तन हुँदा फेरि हराभरा हुन्छु
किनकि म प्रकृति हूँ
बाँध खोलेर डुबानमा परेपनि
पहिरो गएर माटोको डिस्को झरे पनि
पहरा टुक्रिएर चट्टान खसे पनि
अलि तल सरेको मात्रै हुन्छु
म त्यहीँ वरिपरि हुन्छु
बाटो खनेर भ्रमण गरेपनि
फुल रोपेर बगैँचा बनाए पनि
रुख रोपेर घना जंगल बनाए पनि
पुल हालेर वारपार गरेपनि
म निर्धक्क छु
धर्ती विना तिमीहरु उभिन सक्दैनौ
धर्ती विना ओतमा लाग्न सक्दैनौ
मेरो साहारा विना बाँच्न सक्दैनौ
पुस्तौंपुस्ताले यही माटो खोस्रेर बाँचे
जिवितरहुञ्जेल रजाइँ गरे
मरे पछि यही माटोमा विलिन भए
कति जन्मे कति मरे,
कतिले मेरो भने
कतिले धन खन्याए,
कतिले सम्पत्ति सम्झे
तर जस्ले जस्को नाम पारेपनि
म उँहीछु मलाई ओगट्नेहरु
कतिले आफुलाई मालिक सम्झे
कति मालिकहरू फेरिए
कति कामदारहरू फेरिए
कति खाएर मरे
कति खान नपाएर मरे
आखिर सबै यही धर्तीमा विलाए
कहिले हिउले ढाक्छ,
कहिले पहिरोले भत्काउछ
कहिले बाढीले बगाउछ
शीरबाट पाउतिर दायाँबायाँ सरेको मात्रै हुन्छु
मेरो आकार बदलिँदैमा तौल घटेको हुन्न
म जस्ताको तस्तै हुन्छु
तहसनहस त तिमीहरु हुन्छौं
जो जिन्दगीलाई अजम्बरी सम्झन्छौ
अरुलाई ध्वस्त पार्छौ
स्वार्थका लागि आफुले टेक्ने धर्ती बन्दकी राख्छौं
हातपाखुरा भएर पनि भिख मागेर खान्छौ
आँखा भएर पनि पराईका हात समाउदै हिड्छौ
मुख भएर पनि ईशारामा चल्छौ
खुराक भएर पनि कुपोषणको सिकार बन्छौ
साधनश्रोत भएर पनि छिमेकीलाई गुहार्छौ
धर्तीका शत्रु त तिमीहरु हौ,
जस्ले आफु बसेको जमिन देख्दैन,
धर्तीको महत्त्व बुझ्दैन
माटोको माया गर्दैन
कहिले सिमावारि कहिले सिमापारि
भागबण्डामा मस्त हुन्छौ
यही नै विडम्बना हो
जन्मिन्छन् यही धर्तीमा
सकिन्छन् यही धर्तीमा
धर्ती विना कहाँ रहन्छ र
मानवजातिकै अस्तित्व
हो म धर्ती हूँ ।