दोष लगाउन प्रमाण चाहिंदैन

 

                            सुनिलकुमार पाैडेल

हलाहल दानव आँफूले बनाएको विषको रागले आँफै मरेको थियो भनेर सानैमा पढेको थिएँ । माकुराले आफ्नैं आमाको सिकार गर्छ भन्ने पनि सुनिएकै हो । यस्तै प्रकारको क्रियाकलाप मैले मानिसमा पनि देखेको छु । आन्दोलनमा सडकका बार भत्काउने, सार्वजनिक सम्पत्तिको नास गर्ने आदि काम हामीले धेरै अगाडिदेखि भोग्दै आएका छौं । सार्वजनिक सम्पत्ति त कुनै शासकको हैन नीं । त्यो राष्ट्रको, जनताको सम्पत्ति हैन र ! बिग्रिएको त्यो संरचना बनाउन त राष्ट्रकै सम्पत्ति लगाउन पर्ने हुन्छ जुन जनहीतको अन्य काममा लगाउन सकिन्थ्यो । त्यो नोक्सान जनताकै भएन र !
त्यसैगरी स्कुल, कलेजमा खासगरी संगठनका विद्यार्थीहरूले हड्ताल गर्दा उनीहरूको पहिलो निशाना त्यहाँको सार्वजनिक सम्पत्ति पर्छ । टेबल, मेच भाँच्ने, वा जलाउने बत्तीहरू फुटाउने, पर्खाल भत्काउने, अनि भवनमा क्षति पुर्याउने । प्रजातान्त्रिक मुलुकमा सरकारी काम कारवाही मनपरेन भने, एउटा       समुदायलाई सरकारी निर्णयले मर्का पर्ने भयोभने वा हुनुपर्ने जनहीतका काम भएन भने शान्तिपूर्ण सभा जुलुस गर्न, विरोधका शान्तिपूर्ण अन्य काम कारवाही गर्न छुट हुन्छ, छुट हुनुपर्छ । त्यो नागरिकको नैसर्गिक अधिकार हो । तर विरोधको स्वरूप

जीउधनको नोक्सान हुनु हुँदैन । त्यो त प्रजातान्त्रिक अधिकारको उपयोग हुँदैहोइन, अराजकता हो । प्रजातन्त्रभित्र अराजकता अट्दैन, अट्नु हुँदैन । सार्वजनिक सम्पत्ति तहसनहस गर्नेहरूले बुझ्नु पर्ने कुरा के हो भने तिनले आँफू कस्तो परिवारबाट आएका हुन् वा कस्तो संगत पाएर हुर्किएका हुन् । तिनका क्रियाकलापले तिनका परिवार वा संगतको ईतिहास उजागर गरिरहेका हुन्छन् । जस्तो भन्छन् नीं मान्छेको बोली र व्यवहारले तिनका पारिवारिक पृष्टभूमि उदाङ्ग्याएको हुन्छ ।
हिम्मत छ भने त्यस्ताले भैरहेको स्थितिमा असन्तुष्टि जनाउन स्थिति फेर्ने आँट गर्नुपर्यो । निर्माणको योजना बनाएर ध्वंश गर्नुपर्यो । किनभने नयाँ निर्माण हुन पुरानो नष्ट हुनैं पर्छ, यो प्राकृतिक हो त्यसैले स्वाभाविक पनि हो । निर्माणको कुनै सोच छैन, योजना छैन विध्वंश मचाउने ! विना कुनै चिन्तन यस्तो ध्वंशको पछाडि कुनै रहस्य छ भन्ने मलाई लागिरहेथ्यो, एकदिन एउटा मित्रले भन्यो ’यो ध्वंशको एउटै कारण हो आर्थिक श्रोत जुटाउने ।’ म छक्क परेर उसलाई हेरिरहेको देखेर उसले भन्यो ’यसमा छक्क पर्नुपर्ने कुरै छैन । प्रशासन र विद्यार्थी संगठन मिल्छन्, हडतालको अवसर पारेर वा आर्थिक अभाव हुँदा कुनै न कुनै वहानामा आगजनी गर्ने गराउने गर्छन् । आगजनी भएको सामानको पूर्ति गर्नै पर्यो । अनि प्रशासनले नयाँ समान किन्ने पर्यो । सामान किन्दा कमिसन आउने नैं भयो । अनि जुटेन त आर्थिक श्रोत !’
मलाई त्यो मित्रको कुरामा एकरत्ति पनि विश्वास छैन । म यस्तो कुरा सुन्न पनि चाहन्न । सत्यताभन्दा कोसौं परका कुरा मेरो चासोको विषय हुनै सक्दैन ।

प्राध्यापनको बीस वर्षको अनुभवमा मैले कहिल्यै कुनै त्यस्तो विध्वंशकारी विद्यार्थी भेटिन । हो, कसैलाई अध्ययनको भोक बढी हुन्थ्यो त कसैलाई कम । तर उच्छ्रिङ्खल वा विनाशकारी विद्यार्थीको मलाई अनुभव छैन । यसको मतलव मसँग मात्र सज्जन विद्यार्थी पर्न गएका अरुसंग चैं खराब विद्यार्थी हुन्थे भन्नु एउटा कपोलकल्पित कुरा मात्र हुनजान्छ । किनभने रोजेर, छानेर विद्यार्थी आफ्नो कक्षामा लिने हैन क्या र ! मेरो कक्षामा ठीक वा असल विद्यार्थी हुन्थेभने अरू कक्षामा पनि त विद्यार्थी असल नैं हुन्थे नीं । आलोकाँचो उमेरको हिसावले अलि चंचल स्वभावको हुनु बेग्लै कुरा हो।
त्यो उमेरमा को चंचल र जिज्ञाशु हुँदैन र ! विद्यार्थीको विषयमा त्यस्तो वाहियात कुरा गर्ने त्यो मित्रलाई सकेसम्म उसको गलत सोचबाट मुक्ति दिलाउने प्रयत्न गर्ने र केही सीप नलागे गाली गर्ने बाहेक अरू के नैं गर्न सक्थें र म । पिट्न भएन क्यारे।

IME Remittance