पर…..को कृति
उनी प्रकृति
दैविक शक्तिकी खानी
भयानक श्रोतकी महारानी
प…….र को कृति, उनी प्रकृति
कुनै बेला मुसुक्क मुस्कुराउने प्रकृति
आज उसैले सारालाई चसक्क चस्काई रहेछिन्
झरिला हँसिला हुने उनका मुहार ती
आज खै कुन रुपको तान्डव नाच्दैछिन्
सायद गल्ती हाम्रै पो हो की !
सायद गल्ती हामी सबैको हो की
अनि कैयौं लोभी र स्वार्थीहरुका
उनी त्यसै यो रुपमा आउँदिनन्
अत्ति भएपछि उनी उम्लिने गर्छिन्
सायद नतिजा हाम्रै गल्तीको पो हो की !
आधुनिकताको रसपान गरिरहँदा बाढी आएर रस बगाउँछ
ऐसको जीवन मौलाईरहँदा भुकम्पले ऐसलाई भुईंमा सुताउँछ
बाह्य दैनिकीमा व्यस्त रहँदा कोरोनाले घर भित्रै बसाउँछ
सपना फलाउने आशमा निदाउँदा सास सबै पहिरोले बगाउँछ
सायद गल्ती राज्यको पो हो की !
सफा नदीमा ढल मिसाउँदा सोचेनौं, मात्र मिसाइरह्यौं
सुरिला रुखका छहारी कटक्क काट्दा सोचेनौं, मात्र रेटिरह्यौं
वनजंगल मासेर भद्रगोल विकास रोप्दा सोचेनौं, मात्र रोपिरह्यौं
विकासकै नाममा प्राकृतिक सम्पत्ति लुट्दा सोचेनौंं, मात्र लुटिरह्यौं
सायद गल्ती नीति निर्माणको पो हो की !
सायद गल्ती हामी सबैको हुनुपर्छ
अनि त उनी बेला बेला बौलाउँछिन्
हामीलाई हाम्रै औकात देखाई दिन्छिन्
तर पनि ऊ निकै सहनशील छिन् है !
नत्र मानवबाट दिनदिनै बलात्कृत भएर पनि
किन उनी बेला बेला मात्रै तर्साउँछिन् ।।