केटाकेटीदेखि नैं मलाई नगद वा सम्पत्तिमा त्यति लगाव भएन । कहिलेकाँही घरमा अग्रजहरूले दुई चार पैसा हातमा राखिदिंदा म आमालाई बुझाइदिन्थें र आँफुलाई केही किन्नुपर्दा आमासँग केही पैसा लिन्थें । लुकाएर राख्ने वा संग्रह गर्ने वा राख्न दिएको पैसाको हिसाबकिताब राख्ने बानी नैं भएन । साथीभाईका आमाहरूले आफ्ना छोराछोरीको पैसा उडाउने बानीको गुनासो मेरी आमासँग गर्दा वहाँ भन्नुहुन्थ्यो “यसको त त्यस्तो बानी छैन । कसैले पैसा दिएको छ भने पनि एक पैसा नमासी मलाई राख्न दिन्छ । तर त्यसको हिसाब खोज्दैन ।”
पैसा वा नगद मा मेरो चासो किन भएन लाग्यो मलाई थाहा छैन । यो साधन मात्र हो वा आवश्यकता पर्दा चाहिने वस्तु मात्र हो भन्ने जानेर मैले त्यसमा रुचि नदेखाएको हैन । त्यतिखेर त्यस्तो ज्ञान कहाँबाट आउनु । कलेजमा अर्थशास्त्र पढ्नथाले पछि पो त्यो ज्ञान भयो । त्यसैले होला त्यसपछि झन् मलाई यसकोलागि सबैकुरा त्यागेर मरिमेट्नु पर्ने आवश्यकता जागेन । मैले सम्पत्ति वा द्रव्यलाई कहिल्यै आधारभूत आवश्यकताको घेराभित्र बन्दी बनाउन चाहिन । त्यसको
प्रतिफल के भयोभने मैले कहिल्यै सम्पत्ति आर्जन गर्न वा जोड्न सकिन । यसमा मलाई खेद पटक्कै पनि छैन ।
एकजना नातेदार घुस खाएको प्रमाणित भएर झ्यालखानको सजाँय पाएको कुरा कलेज जीवन सकिएपछि मैले थापाएँ । सोचें खान लाउन पुख्र्यौली सम्पत्ति मनग्गे छँदैथ्यो । खर्चभन्दा आम्दानी बढी नैं थ्यो । त्यसैले बचत हुनु स्वाभाविक नैं थ्यो । बेकारमा किन लोभ गरेका होलान् । ब्यर्थै झ्यालखानभित्र कोच्चिएर बस्नुपर्यो । त्यसमाथि बदनामीको पीडाले मर्माहत हुनुपर्यो र जीवनभर एउटा कलंकको टीका व्यहोर्नुपर्यो ।
त्यसैगरी एकजना एकल शक्तिकेन्द्रको आशिर्वादले आँफू पनि शक्तिमा पुगेर त्यतिखेरका निम्न स्तरका एक उद्योगपतिको कायापलट गरिदिएका ती शक्तिशाली बन्न पुगेका व्यक्तिको नजिकका मानिसले सुनाएको कुरा पनि हरघडी याद आइरहन्छ । शक्तिमा हुँदा बाउलाई भन्दा बढी मान्ने त्यो उद्योगपतिले पछि तिनका शक्ति हराएपछि ती उद्योगपतिकहाँ जाँदा भेट नदिएको मात्र हैन,ु रकम चाहिएर आएको होला अब त्यो जमाना गयो भन्दे भन्दै आफ्नो भान्छेलाई जवाफ दिन पठाएका थिए रे । तर उनी त्यहाँ पैसा माग्न गएका थिएनन् , ती उद्योगपतिको निवास नजिक पुगेकाले भेट्न भनेर गएका थिए रे ।
यस्तो हुँदो रहेछ नगद वा द्रव्य अथवा सम्पत्तिको शक्ति । मित्रताको कुरा हराउँछ, सद्भाव लड़खडाउँछ, शालीनता तिर्मिराउँछ र घमण्ड जुर्मुराउँछ अनि मान्छेलाई भुसुना ठान्ने दिग्भ्रमित मन सल्बलाउँछ । अनि आफ़न्तपन बिलाउँछ । त्यसमाथि मेहनत नगरी उब्जिएको सम्पत्तिले त मानिस आँफू लिलिपुटको महामानव र अरू
भंगेराको उचाईको ठान्ने अविकशित मगजको द्योतक बन्न पुग्छ चाहे त्यो पैतृक सम्पत्ति होस् वा घुसकृत । त्यति मात्र कहाँ हो र । कसले लेखेको हो बिर्सिएँ , लेखेका थिए “टप्पर्टुइयाँ पनि हुन्छ मुर्खमध्ये प्रतिष्ठित ।” हाम्रो समाजमा त्यस्ता व्यक्ति द्रव्यका कारण खोक्रो मगज भएपनि विद्वान वा जान्नेसुन्नेमा दरिन पुग्दारहेछन् । जीवनमा आर्थिक अभाव बेलाबेलामा व्यहोर्नु परेतापनि द्रव्य वा सम्पत्ति जोड्ने तिर ध्यान जानै मानेन । केही व्यक्तिले यसलाई प्राप्त गर्ने ढोका खोलिदिएका हुन् , केहीले बाटो देखाइदिएका हुन् । मलाई न त्यो ढोकाभित्र छिर्न जाँगर लाग्यो न त्यो बाटो समात्न । ती कुनैले पनि मलाई आकर्षित गर्न सकेनन् । न त त्यसको महत्व नबुझ्दा त्यसप्रति मोह जाग्यो न बुझ्न थालेपछि । बुझ्न थालेपछि त झन् के जागोस् जसका कारण मान्छे मान्छे नभएर द्रब्य पिशाच बन्न पुग्दो रहेछ ।
मान्छेबाट च्यूत भएर द्रब्य पिशाच बन्न मलाई कहिल्यै मन लागेन । म मान्छे हुँ , बाँचुन्जेल मान्छे नैं बनिरहन पाउँ बस मलाई त्यति भए पुग्यो । यस्तो द्रब्य पिशाच बन्ने मेरो कहिल्यै लालसा भएन । त्यसैले द्रब्य वा धन वा सम्पत्ति जोड्न नसकेकोमा मलाई रत्तिभर खेद छैन ।