-सुनील कुमार पौड्याल ।
फोन गरेपछि नउठाउने र प्रत्युत्तर फोन पनि नगर्ने मानिसहरूका सम्बन्धमा मेरा साथीहरू मसँग मात्र हैन त्यस्ता मानिसहरूसँग समेत पनि गुनासो गर्न छाड्दैनन् । रिसाउन मिल्नेसँग त रिसाउँछन पनि । जोसँग रिसाउन मिल्छ तिनीहरूले आफ्नो भूलको लागि क्षमा मागेको मैले देखेको छु। तर विभिन्न कारणले जोसँग रिसाउन मिल्दैन तिनीहरूले मुस्कुराएर टारिदिएको पनि मैले देखेको छु।
पहिले पहिले फोन नउठाउने र प्रत्युत्तर फोन पनि नगर्नेसँग मलाई पनि औधि रिस उठ्थ्यो । कतिपल्ट त्यस्ता मानिसहरूसँग म तिनकै अगाडि पनि रिसाएको छु । निकैपछि ममा एउटा ज्ञान फूर्यो । त्यसपछि आजसम्म म त्यस्ता मानिसहरूसँग रिसाउन छाडिदिएको छु । बरू त्यस्तालाई भेट्दा विनम्रतासाथ भन्ने गरेकोछु ’फोनगरेको थिएँ, थाहा पाउनु भएन क्या र !’ अथवा ’फोन गरेको थिएँ । व्यस्त हुनुहुँदो रहेछ होला ।’ कोही त ’अँ, हेर्नूस् न, त्यतिखेर व्यस्त थिएँ । पछि विर्सिएछ’ भन्छन् । कति त ’ए, हो ?’ मात्र भनेर मन नपरी नपरी मुस्कुराए जस्तो मात्र गर्छन् । ममा फुरेको ज्ञानले तिनीहरूप्रति रिस नउठ्ने त भयो तर रिस आँफैमाथि पो उठ्न थाल्यो । मेरो फुरेको ज्ञानले भन्यो ’लेनदेनमा तँ कहाँ छस् ? दिने तेरो सामर्थ्य छ ? तँसँग दिने सामर्थ्य भए ’दे न !’ भन्नेले तेरो फोन उठाउँछ अथवा प्रत्युत्तर फोन गर्छ । कुनै प्रकारले पनि तेरो त्यस्तो सामर्थ्य नभएपछि कसैले तेरो फोनको किन मतलव गर्ने ? अर्को शब्दमा भन्ने हो भने कसैले तेरो फोनको घण्टीलाई वास्ता गर्न लायक तेरो हैसियत छ ? पहिले आफ्नो त्यस्तो हैसियत बना अनि हेर त तैंले नगरे पनि अरूले तँलाई फोन गर्छन् ।‘
यो ज्ञानले आफ्नो बेवास्ता हुँदा अरूसँग गुनासो गर्ने वा रिसाउनें मेरो बानी ठ्याप्पै हरायो र रिस आँफैमाथि खनिन थाल्यो ( मैले किन त्यस्तो हैसियत बनाउन सकिन भनेर ! फोनको मात्र कुरा किन ? हाम्रो समाजमा आफन्त, इष्टमित्र तथा परिचितहरूले गर्ने वास्ता, सम्मान तथा दिने महत्वमा पनि हैसियतले नैं सर्वा्धिक भूमिका खेल्छ भन्नेमा म पूर्ण विश्वस्त छु । तँ नहुँदा उसलाई ठूलै आपद आउँछ भन्ने कसैलाई लागेकोछ वा तेरो हैसियतले गर्दा त्यस्तो अवश्य भैहाल्छ भन्ने उसले ठानेको छ भनें जो कोही होस् वा जेसुकै नाता परोस उसले तँलाई महत्व दिने हो सानोतिनो वा सजिलै टर्ने अप्ठेरोको लागि तँलाई किन महत्व दिने ?
यथार्थमा यो ज्ञानमा म सर्वकालीक र सर्वव्यापी सत्यता पाउँछु । भनौंन ( पृथ्वीलाई उर्वरताको लागि आवश्यक जल उपलब्ध हुन यसले बादल बनाउने
आफ्नो हैसियत बनाउन सक्नुपर्छ । अनि मात्र यसले जल पाउँछ नत्र यसलाई आकासले किन जल दिने ? जुन भूमिले जति बादल सिर्जना गर्ने हो वा जुनबेला जति जल चाहिने हो त्यति नैं हैसियत राखेर बादल सिर्जना गर्न सक्छ भने त्यो भूमिले त्यति नैं जल पाउनें हो । नत्रभने उर्वर भूमि र मरभूमिमा के फरक रहन्छ त ! त्यो बेग्लै कुरा हो ( कहिलेकाहीं आवश्यकभन्दा बढी हैसियत भूमिले देखायो भने आँफैले थाम्न नसक्ने जल प्रवाहको मार उसले व्यहोर्नु वा सहनु पर्छ । कम हैसियत राख्ने भूमिले कम जल प्रवाहमै चित्त बुझाउनु पर्छ । आ(आफ्नो हैसियतको कुरा न हो !
अहिले मलाई अन्तर्वार्ताको एउटा क्षण याद भयो । धेरै अगाडि ’टंक प्रसाद आचार्य तपाईंको के नाता पर्छ ?’ भनेर सोद्धा चर्चित हास्य कलाकार हरिवंशजी ले जवाफ दिनुभएको थियो ’उहिले वहाँ प्रधानमन्त्री हुँदा त ठ्याक्कै काका पर्नुहुन्थ्यो अहिले त केही नाता पर्नुहुन्न ।’ यो त वहाँको प्रहसनयुक्त वा ठट्यौली जवाफ थियो । तर त्यसमा अन्तर्नि्हित कुरोले चैं हाम्रो समाजको चरित्र उजागर गरेको थियो ।
ठूला ठूला डाँडा जसले आफ्नो उचाइले हैसियत बढाएकाछन तिनलाई आह्लाद्पूर्ण, रोमाञ्चक र सौन्दर्यपूर्ण हिउँले सधैं नैं अङ्गालोमा बेरेर राखेकाछन् , वास्ता र सम्मान गरेकाछन् , महत्व दिएकाछन् । अब त्यो हैसियतमा आँफूलाई पुर्याउन नसकेका डाँडा र समतलले हिमालको रिस गरेर वा हिउँसँग रिसाएर हुन्छ र ! त्यसैगरी उर्वरतामा हिमाल र पहाडलाई उछिन्ने समतलले आफ्नो अति उर्वर हैसियत बनायो भनेर हिमाल वा पहाडले समतलको रिस गर्ने वा उर्बरतासँग रिसाएर हुन्छ र ! आफूले खोजेको कुरा प्राप्त गर्ने हैसियत बनाउनु पर्यो नीं ।
यो कुराको ज्ञान त भयो । तर सापेक्षमा आधारित हैसियत कसरी बनाउने भन्ने
ज्ञान चाहीं अझै आएन । त्यो चैं फुर्दै फुरेन । कोसिस नगरेको हैन । तरिका नजानेर हो वा मेहनत नपुगेर हो आफ्नालागि आवश्यक हैसियत मैले अझै आर्जन गर्न सकेको छैन । त्यसैले अरूले गरिदिनु पर्ने वास्ता, सम्मान वा महत्व जब जब म पाउँदिन मलाई तिनीहरूसँग हैन आफैंसँग औधि रिस उठ्छ हैसियत आर्जन गर्न नसकेकोमा ।