आस्थाको पहाड


निलिमा पुन




















बर्षौदेखि हेर्दै आएको मेरो आस्थाको पहाड
हिजोआज तुषारोले ढाकेकोछ
काला बादलका झोक्काहरुले घेरेकोछ
चिसो सिरेटोले सेकेकोछ
सुन्दर देखिने त्यो रुप कुरुप हुदैगएकोछ
त्याग र वलिदानका भावनाहरु जगाउने त्यो पहाड भावनाशुन्य लाग्न थालेकोछ
सपनाहरू मौन छन्
लक्ष्यहरु मझधारमै अलमलिएका छन्
क्षितिज हेरेर अघि बढेका पाईलाहरु
विश्राम गरिरहेकाछन्
हजारौं ठक्करबाट स्पात बनेका विचारहरुले
त्यही गन्तव्य खोजिरहेछन्
जहाँ समानताको गाउँ छ

मेरो आस्थाको पहाड
धमिराले खोक्रो पारेको काठ जस्तै भएकोछ
देख्दा रुप उहीछ न काठ, न माटो
उठाउन नमिल्ने, पन्छाउन नमिल्ने
पहिले भन्दा फरक देखिएकोछ
गन्तव्य हराएको यात्री जस्तो,
खुशी हराए जस्तो, स्वार्थ पलाए जस्तो
कठोर, निर्दयी अनि अपराधी जस्तो
निर्लज्ज भएर नाग्गै उभिएकोछ
विहानी उषाको लालीले जस्तै उर्जा दिने त्यो पहाड
मध्यान्हको चर्को घामले जस्तै पोल्न थालेकोछ अनि म विगत हेर्छु
निश्छल त्यो पहाडको सुन्दरता,
किन घट्दैछ ?
मात्र सोच्न बाध्यछु

लाग्छ , मानवजातीका वस्ती बसाल्ने त्यो पहाड
माटो खोस्रेर अब चट्टान मात्रै बाँकी छ
त्यो पहाड छिचोलेर आस्थाहरु अगाडि
बढ्दैछन्
फलामे पर्खालहरु भत्काउदै,
विचारहरु आन्दोलितन छन्
परिवर्तनशील प्रकृतिका नियमसँगै
दृढ आत्मविश्वाससाथ फेरि लम्किदैछ
विजयको अभियानतर्फ,
सीमित खेलमैदानबाट
अजंग पहाडतर्फ लाग्दैछन्
जहाँ सुनौलो सँसार छ
जहाँ विभेदका कुनै गन्धछैन
जहाँ हजारौं फुलहरु एकनास फुलिरहन पाउछन्

पहाड अनुत्तरित छ
जुझारु कदमहरु एकनाश चाल्नका लागि
फेरि कठिनाइहरुका सामना गर्दैछन्
मृत्यु साथमा लिएर, जीवन हातमा लिएर
सँग्रामी धुनसँगै निस्केका लाखौं योद्धाहरु
खबरदारी गर्दैछन्
असत्य, झुट र भ्रमहरु पर्दाफास गर्दैछन्
आवेग,प्रतिशोध,स्वार्थ अनि कुण्ठाहरु त्यागेर
सत्य न्याय र समानताका लागि,
मेरो आस्थाको पहाड चढेर सँसार नियाल्ने
उत्सुकता अझै बाँकी छ
होसियार, पहाडको माटो खोस्रेर खोक्रो पार्नेहरु
खबरदार, आस्थामाथी कुठाराघात गर्नेहरु
वेगवान आधीहुरीले सबै भ्रमजालहरु उडाएर
मेरो आस्थाको पहाडलाई फेरि सुन्दर बनाउनेछ।

IME Remittance