मृत्यु
-पारिजात
धेरै अघि एक साँझ
चराहरु निन्याउरा भएर हाँगातिर
बसी रहेको बेला
घरका समस्याहरुले पिल्सिएर
आफै पनि झोक्रिएर बसी रहेको बेला
मलाई एउटा कविता लेख्न मन लागेको थियो
मृत्यु अभिशाप हो
मृत्यु विसङ्गति हो
मृत्यु जीवनको अन्त हो भनेर ।
मृत्युको कुरालाई धर्मग्रन्थहरुबाट
जस्ताको तस्तै ग्रहण गरेकी
छु मैले
तथापि मसँग मृत्युको केही आलो व्यथा छ
जीवनको विकराल दुःखहरुबाट तर्सेर
एकपल्ट मैले मृत्युको पछ्यौरामा
मुटु लुकाउने दुष्प्रयास गरेकी छु
तथापि मसँग मृत्युको केही साक्षात कथा छ ।
भट्मास दिएर नुन साट्न आएकी
साँघुरो भिरालो बाटोमा
पेटभरि आहार नभएर बाङ्गो टिङ्गो हिँडी रहेकी
एउटी गरिब आमाको थुन्सेबाट
आँत सुकेको बालक छोरो अरल्लिएर रुँदा
फुत्केर कालीको बौलाहा छालमा खस्यो
उसको मृतयु भयो
ज्वरोको धङधङीमै ठालुले जोता’को
एउटा निर्धो तन्नेरी
रुखको हाँगा काट्दा काट्दै
असन्तुलित भएर भुइ“मा खस्यो
उसको मृत्यु भयो
रक्सी खाएर रङ्ग साइडतिर हाँकी रहेको
महानगरको एउटा सफेदपोशले
एउटा झुम्रे रिक्सावाललाई
हाकाहाकी चेप्ट्याएर मा¥यो
उसको मृत्यु भयो
अझ थुप्रै सामूहिक मृत्युहरु भए
खान नपाउनेहरुको
अधिकार खोज्नेहरुको
दुई पाइलो जग्गा माग्नेहरुको
अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन
आज मलाई फेरि
एउटा कविता लेख्न मन लागेको छ
मृत्यु विसङ्गति होइन
मृत्यु जीवनको अन्त होइन भनेर
मृत्यु त सहिद भए
रातो झण्डाभित्र सुरक्षित
भीडहरुबीच हिँड्दो रहेछ
मृत्युको अर्को नाउँ बलिदान रहेछ
मृत्यु बाँच्दा रहेछन्
जिउँदाहरुको मानसमा सम्झना भएर
अन्यायमा परेर मरेका मृत्युहरु
डरलाग्दा आक्रोश भएर जुर्मुराउँदा रहेछन्
प्रतिशोध भएर जताततै फु“कार गरी हिँड्दा रहेछन्
मृत्यु त सङ्गठन भएर
अ“गालोतिर बाँधिइदा रहेछन्
नारा भएर भित्ताहरुतिर लिपिदा रहेछन्
पर्चा भएर हातभरि छरिइदा रहेछन्
कहाँ मर्दा रहेछन् र ?
भोका किसान जिउँदै डढ्ने
सुकुम्बासीका मृत्युहरु
उनीहरुका मृत्यु त
सङ्घर्ष गर्न तम्तयार आएको
विशाल विशाल जुलुसमा हिँड्ने सङ्घर्षकारीहरुको
पाखुरी पाखुरीमा
मु्ट्ठी भएर
कसम भएर
अठोट भएर
प्रतिज्ञा भएर
ज्युँदै ज्युँदै जाग्दा रहेछन्
बल्झिदा रहेछन्
मृत्यु त सङ्गिन भएर
वर्गशत्रुको छातीतिर तेर्सिइदा रहेछन्
बन्दूक भएर पड्किदा रहेछन् ।